शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी जाँचबुझ प्रतिवेदन

रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन

अध्ययनको नाममा समिति गठन, कार्यान्वयनबारे गृहको झुट
शुक्रबार, २१ वैशाख २०८१, १३ : २४
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । कार्यान्वयनमा गइसकेको सुन तस्करीबारे छानबिन गर्न गठित डिल्लीराज आचार्य आयोगको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ‘आदेश’मा लुकाइएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले ‘सुरक्षा संवेदनशीलता र अपराध अनुसन्धान’मा वाधा पर्ने भन्दै प्रतिवेदन उपलब्ध गराउन नसकिने जनाएका छन् । 

‘पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सुरक्षा संवेदनशीलता र अपराध अनुसन्धानसँग सम्बन्धित रहेको र अनुसन्धान कार्य पूर्ण रूपमा सम्पन्न भई नसकेकोले सूचनाको हक सम्बन्धी ऐन, २०६४, को दफा ३ को उपदफा ३ को (क) र (ख) आकर्षित हुने भएकाले उक्त प्रतिवेदन उपलब्ध गराउन नसकिने’, अधिकारीले रातोपाटीलाई दिएको लिखित जानकारीमा भनिएको छ । 

मन्त्रालयका एक उच्च अधिकारीले उपप्रधान तथा गृहमन्त्री लामिछानेले नै प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको बताउँछन् । 

पूर्व प्रशासकहरू गृहको यो शैलीलाई गलत ठान्छन् । कार्यान्वयनमा गइसकेको प्रतिवेदनलाई सुरक्षा संवेदनशीलता र अपराध अनुसन्धानसँग सम्बन्धित रहेको र अनुसन्धान कार्य पूर्ण नभएको भन्नु हास्यास्पद रहेको उनीहरूको भनाई छ ।

नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कार्यान्वयनमा गइसकेको प्रतिवेदन सार्वजनिक नगर्नुको औचित्य देख्दैनन् । 

‘कार्यान्वयनमा गइसकेको प्रतिवेदन अनुसन्धान कार्यसँग सम्बन्धित छ भन्न मिल्ने विषय होइन । अनुसन्धान सकिएर कार्यान्वयनमा गएको हो, अध्ययन समिति त कार्यान्वयनकै एउटा पाटो हो’ उनले रातोपाटीसँग भने ।

आयोगको खर्च 

मन्त्रिपरिषद् बैठकले २०८० असोज १४ मा आयोग गठन गरेको थियो । उसले तयार पारेको प्रतिवेदन निकै महँगो छ ।

असोज १५ गतेदेखि काम थालेको आयोगले ४४ लाख ५० हजार ५८२ रुपैयाँ खर्चेर प्रतिवेदन तयार पारेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८० फागुन ३० गतेसम्म आयोगले विभिन्न शीर्षकमा गरेको खर्च त्यति गरेको गृहका सूचना अधिकारी अधिकारीले जनाए । 

खर्च विवरण यस प्रकार छ-

  • पदाधिकारीको पारिश्रमिक (तलब) मा १५ लाख ६८ हजार ९ सय ८५ ।
  • पदाधिकारी र कर्मचारीहरूलाई ५० प्रतिशत अन्य भत्ता बापत ११ लाख ५४ हजार ९ सय ७० ।
  • सवारी चालक, इन्धन र सवारी साधन बापतको सुविधामा १५ लाख ३९ हजार ९ सय ८० ।
  • अनुगमन, मूल्याङ्कन खर्च १ लाख ६९ हजार ६ सय ९७ । 
  • विविध शीर्षकमा १६ लाख ९ सय ५० रुपैयाँ ।

 आचार्यको अध्यक्षतामा गठित आयोगमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्व सहसचिवद्धय किशोर जङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए । 

आयोगले साढे पाँच महिनाको अवधिमा तयार पारेको प्रतिवेदन चैत १ गते उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बुझाइएको थियो ।

आयोगले विदेशबाट इलेकट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन ३ गते ब्रेक सुमा सुन राखी अवैध तस्करी गरिएको विषयमा गहन अध्ययन अनुसन्धान गरी सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नु पर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको छ ।

तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायको संरचना र क्षमता तथा कार्य प्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तर्क्रियालगायतका माध्यमबाट सुझाव लिई सुधारका लागि सिफारिस गरिएको छ ।

प्रतिवेदन कार्यान्वयनबारे गृहको झुट 

प्रतिवेदन ग्रहण गरेपछि लामिछानेको दौडधुप बढेको थियो । उनले प्रतिवेदन हात पारेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘ब्रिफिङ’ गरेका थिए । मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय लियो । त्यसपछि लामिछानेले युद्धस्तरमा कार्यान्वयन गर्ने बाचा गरेका थिए ।

त्यसपछि सुन प्रतिवेदनले डामेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरियो । उनको संलग्नता चिनियाँ सुन तस्कर दाओ जित वाङसँग देखिएको आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएका महरा पछि अदालतको आदेशमा रिहा भएका थिए ।

आयोगले सुन तस्करीको अनुसन्धानमा अभियुक्तलाई उन्मुक्ति दिएको औँल्याएको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्य, प्रहरी अधिकृतहरू सञ्जय थापा, दुर्गा दाहाल र रुगम कुँवरलाई ‘कारबाही’ स्वरूप सरुवा गरियो । गृह मन्त्रालयका एक अधिकृतका अनुसार, उनीहरूले अहिले गृहमन्त्रीसँग बारम्बार भेट गरिरहन्छन् । यो बिचमा सुन तस्करीका फरार अभियुक्त अछामका जीवन चलाउने विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

कार्यान्वयनमा गइसकेको प्रतिवेदन लुकाउने मात्र होइन, गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण पनि दिन चाहेन ।

उपसचिव अधिकारीले ‘उक्त प्रतिवेदन नेपाल प्रहरीबाट कार्यान्वयन भइरहेको हुँदा कार्यान्वयनको विषयमा नेपाल प्रहरीबाटै जानकारी लिन उपयुक्त हुने’ लिखित जानकारी रातोपाटीलाई दिएका छन् ।

यद्यपि उनको यो सूचनामा सत्यता पाइएन । नेपाल प्रहरीले आचार्य आयोगको प्रतिवेदन प्राप्त नै नभएकाले कार्यान्वयनको प्रगति भन्न नसकिने जनायो । ‘हामीले प्रतिवेदन नै पाएका छैनौँ,’ केन्द्रीय प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले रातोपाटीसँग भने ।

अध्ययनको नाममा समिति गठन, कार्यान्वयन ठप्प 

प्रतिवेदन कार्यान्वयनमा भाँजो हाल्न रणनीतिक रूपमा अध्ययन समिति गठन गरियो । चैत ११ गते मन्त्रीस्तरीय निर्णयका आधारमा गृहका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा अध्ययन समिति गठन गरेपछि प्रतिवेदन कार्यान्वयन ठप्प भएको छ ।त्रितालले समिति गठन प्रतिवेदनको कार्यान्वयनकै अङ्ग भएकाले कारबाही ठप्प पारिरहनु जायज नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामप्रसाद दाहाल
रामप्रसाद दाहाल

दाहाल रातोपाटीका सम्पादक हुन् ।

लेखकबाट थप