शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय
जीवनशैली

ध्यान एकः आयाम अनेक

शनिबार, ०७ माघ २०७९, ११ : ०३
शनिबार, ०७ माघ २०७९

एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म ध्यान मानिन्छ । तर ध्यानको अर्थ एकाग्रता मात्र होइन ।

महर्षि पतञ्जलिले योगका आठ अङ्ग प्रतिपादन गर्नु भएको छ । त्यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि छन् । यिनमा ध्यान अति महत्त्वपूर्ण अङ्ग हो । 

जापानी शब्द झेन र चिनियाँ शब्द च्यान यी दुई शब्दबाट अपभ्रंश भएर बनेको शब्द ध्यान हो । यसर्थ ध्यानको मूल अर्थ जागरूकता, होश, साक्षीभाव वा दृष्टाभाव समेत हो । 

ध्यान, चेतन मनको एक प्रक्रिया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगत्को कुनै एक विशेष कुरामा केन्द्रित गर्छ । कुनै एक विचार वा छविमा मनलाई निरन्तर स्थिर गर्ने कार्यलाई ध्यान भनिन्छ ।

विभिन्न महापुरुषहरूले ध्यानको विषयमा विभिन्न प्रकारले परिभाषित गरेका छन् । 

अष्टावक्र गीतामा ‘निर्विषय चेतनाको अवस्था नै ध्यान हो’ भनिएको छ । विषयहरूमा जबसम्म रस रहन्छ, तबसम्म ध्यान त्यस व्यक्तिसँग निरस रहन्छ । यस्ता व्यक्तिहरूलाई ध्यानको अनुभवमा ल्याउन सकिँदैन । 

पतञ्जलि भन्छन्, ‘प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ । प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरू पूर्ण रूपले निरोध भई इन्द्रियहरू सांसारिक रसबाट मुक्त भएको अवस्था हो ।’

उता ओशो भन्छन्, ‘भित्रबाट जाग्नु नै ध्यान हो । सधैँ निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’

अतः ध्यान भनेको स्वयं र वस्तु स्थिति प्रतिको जागरूकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्य वृत्तिहरू छुट्छन् तर जागरणको सघनता रहिरहन्छ ।

भगवान् शिवले माता पार्वतीलाई १०८ प्रकारको ध्यानको विधि सिकाएको कुरा पुराणमा व्याख्या भेटिन्छ । 

हाम्रो मनस्थितिमा ध्यान भनेको आँखा चिम्लिएर बस्नु हो । आँखा चिम्लिएर बस्दैमा ध्यान लाग्दैन । ध्यान भनेको निर्विचार अवस्थामा पुग्नु हो । आँखा चिम्लिँदैमा निर्विचारमा पुगिँदैन । झन् आँखा चिम्लिएर बस्दा विचारहरू धेरै आउँछन् । 

यसैले ध्यानमा बस्नुभन्दा अगाडि हामीले रेचन गर्नुपर्छ । रेचन भइसकेपछि मात्र ध्यान लाग्न सजिलो हुन्छ । 

रेचन के हो ?

रेचनको बारेमा हामीमध्ये धेरैले बुझेका छौँ, जानेका छौँ अनि गरेका पनि छौँ । रेचन मनभित्रको मैलो फाल्नु हो । रेचनले हाम्रो शरीरलाई हल्का बनाउँछ । हामीभित्रको रिस, राग, द्वेष, घृणा, अहङ्कार सबै पखाल्छ । 

रेचन भन्नु नै हाम्रो शरीरको मस्तिष्क, हाम्रो मन पखाल्नु हो, सफा गर्नु हो । मनमा एकत्रित भएका तनावहरू रेचन हुन सकोस्, जसले सहज स्थिरता ल्याओस् र ध्यानको विचाररहित भावको अनुभव होस् । 

कुनै पनि व्यक्ति ध्यानको उचाइमा जानु छ भने सुरु सुरुमा रेचनले धेरै मद्दत गर्दछ । रेचनले कर्मयोगी अर्थात् जसले शरीरलाई महत्त्व दिन्छ वा शरीर प्रणव छ, भक्तियोगी अर्थात् भाव प्रणव वा भावुक प्रकृतिको छ, ज्ञान योगी अर्थात् बुद्धि प्रणव छ । यी तीनै प्रकारका व्यक्तिलाई एकसाथ काम गर्दछ ।

कसरी गरिन्छ रेचन ?

रेचन प्रक्रियामा शरीरलाई नियन्त्रणविहीन तरिकाले पूर्ण रूपमा स्वतन्त्र छोडी भित्रबाट जेसुकै आओस्, त्यसलाई नरोकी रुने, कराउने, चिच्याउने, हाँस्ने, कुद्ने, काँप्ने, नाच्ने, हातखुट्टा चलाउने र सबै दिशातिर गतिमान हुने गरिन्छ । 

जे भइरहेको छ, त्यसमा मनलाई नियन्त्रण र हस्तक्षेप गर्नु हुँदैन । यसमा जे मन लाग्छ, त्यही गर्नुपर्दछ र पूरा रूपमा पागल हुनुपर्छ । ताकि भित्रका सबै दमित भावना बाहिर फ्याँकिऊन् । ध्यानमा बस्नुभन्दा अगाडि १०–१५ मिनेट रेचन गर्दा राम्रो हुन्छ । 

रेचनका फाइदा 

रेचनले हाम्रो शरीरमा अक्सिजन लेबल बढाउँछ । शरीरभित्र रहेको कार्बनडाइअक्साइड बाहिर फ्याँकिन्छ र शरीरको कोषिकामा ऊर्जाको सञ्चार प्रवाह हुन्छ । हामीलाई दमित भावनाबाट मुक्ति मिल्छ । मनको ग्रन्थिहरू खुल्छन् । शरीरमा ऊर्जा फैलिन्छ । शरीरका हरेक रोगका लागि लाभदायक मानिन्छ र मनमा शान्ति प्राप्त हुन्छ । हरेक तनावबाट मुक्ति मिल्छ ।

रेचन गरिसकेपछि बल्ल ध्यानका लागि तयार भइन्छ । ध्यानमा बस्दा पनि कुन मुद्रामा बस्ने भन्ने प्रश्न आउँछ । ध्यानका मुद्रा धेरै छन् । प्रत्येक मुद्राको आफ्नै विशेषता छ । तर ध्यान गर्दा अपनाउनुपर्ने मुद्रा हो ज्ञान मुद्रा ।

ज्ञान मुद्राको विधि

औँलाको टुप्पो र तर्जनीको टुप्पो वा पहिलो औँलालाई सँगै छुने । अन्य ३ औँलाहरूलाई सीधा राख्नुपर्छ ।

फाइदाहरू

–यसले ध्यान र एकाग्रतामा मद्दत गर्छ र मनको नकारात्मकता कम गर्छ ।

–नियमित अभ्यासले स्मरण शक्ति सुधार गर्छ । 

–टाउको दुखाइ, अनिद्रा र उच्च रक्तचाप कम गर्न मद्दत गर्छ र रिस कम गर्छ ।

ज्ञान मुद्रा नगर्ने हो भने हामी अर्को विधिबाट पनि ध्यान गर्न सक्छौँ । ध्यानमा हामीलाई शक्ति प्राप्त हुन्छ । त्यो शक्ति आफूभित्रै बग्न दिन हामीले दुवै हातका ८ औँलाहरू आपसमा सिक्री जोडिएझैँ जोडी बाँकी दुवै हातका बूढी औँलाहरू जोड्दा पनि हुन्छ । 

यसले हामीभित्र ध्यानमा प्राप्त भएको शक्ति हामी भित्रै बग्न मद्दत गर्दछ । हामी यी दुईमध्ये एक विधिबाट ध्यानमा जान सक्छौँ । अब हामी दुवै आँखा चिम्लिएर बस्छौँ ।

ध्यानमा आँखा किन चिम्लिन्छ ?

मानव मात्र होइन, प्रत्येक पशुपन्छीका प्रायः दुई आँखा हुन्छन् । दुई आँखाले हामी संसार हेर्छौँ । बाहिरको चराचर जगत चिन्छौँ । आँखा नभएको मान्छे बाहिरी संसार देख्नबाट वञ्चित हुन्छ । कहाँनेर के छ, ठम्याउन सकिँदैन । घाम छ कि वर्षात् थाहा हुँदैन । यसैले आँखा नभएको मान्छेलाई अन्धो भनिन्छ । ऊ संसारबाट विमुख हुन्छ, आँखाको यति महत्त्व हुँदाहुँदै पनि हामी जब ध्यानमा बस्छौँ, तिनै आँखा चिम्लन्छौ । ध्यानमा किन आँखा चिम्लन्छौ त ? 

बाहिर देखिने यी दुई आँखाको अलावा हामीभित्र अर्को नेत्र पनि छ । दुई आँखाको बीचमा जसलाई हामी भृकुटी भन्दछौँ, त्यसको बीचमा हाम्रो अर्को आँखा छ, जसलाई त्रिनेत्र अर्थात् ज्ञान चक्षु पनि भनिन्छ । ध्यान गर्दा हामी आफूभित्र पसेर यही नेत्रबाट आफूलाई हेर्दै जान्छौँ ।

बाहिर हेर्ने आँखालाई कर्मचक्षु भनिन्छ । कर्मचक्षुले दृश्यलाई हेरेर मस्तिष्कसम्म लिएर जाने काम गर्छ । मस्तिष्कमा गएका दृश्यलाई कुन राम्रो, कुन नराम्रो सही गलत छुट्याउने काम ज्ञान चक्षुले गर्दछ । 

ज्ञान चक्षु हामीलाई अन्तर आकाशमा लैजाने आँखा हो । बाह्य आकाश हामी चर्म–चक्षुले देख्छौँ भने ज्ञान चक्षुले हामी भित्रको अन्तर आकाश देख्छौँ । यो चक्षुले हामीलाई निर्माणमा पुर्‍याउँछ ।

संसारमा भएका सबै जीवको त्रिनेत्र छन् तर देखिँदैन । जब हामी बाहिर घाममा घुमेर घरभित्र प्रवेश गर्छौँ, घरभित्र हामीलाई अन्धकार महसुस हुन्छ । बाहिरको सूर्यको उज्यालोले घरभित्रको उज्यालो फिक्का हुन्छ । तर केहीबेर बसी सकेपछि घरभित्र पनि उज्यालो नै महसुस हुन्छ । 

किनकि बिस्तारै बिस्तारै आँखाहरू शीतल प्रकाशमा अभ्यस्त हुन्छन् । कोठा त्यही हो, कोठाभित्रको उज्यालो पनि त्यही हो । तर बाहिरबाट आउँदा अँध्यारो देखिएको कोठा अब पूर्ण उज्यालो हुन्छ– शान्त, शीतल उज्यालो ।

हो, यसरी नै जब हामी आँखा चिम्लन्छौँ, ज्ञान चक्षुले हामी कालो अँध्यारो देख्छौ । त्यही अँध्यारोलाई हेर्दै हेर्दै हामी, विस्तारै विस्तारै न निस्पट अँध्यारो, न छर्लङ्ग उज्यालो, मिर्मिरे उज्यालो देख्न थाल्छौँ । 

बिहानको मिर्मिरे उज्यालो होस् कि बेलुका सन्ध्याको बेला होस्, दुवैको प्रकाश करिब करिब एउटै हुन्छ । हामीले सानैदेखि सन्ध्या कालमा कुनै पनि काम गर्नु हुँदैन, यो बेलामा भगवान् पृथ्वीमा डुल्न आउनुहुन्छ । यो बेलामा भगवान्को आरती गर्नुपर्छ भनेर बुबा र आमाबाट सुन्दै आएको र सन्ध्याको बेलामा आज पनि हाम्रो घरको पूजाकोठामा आरती गरिन्छ । 

यसैले, सन्ध्यामा पाइने उज्यालोको धेरै महत्त्व छ । त्यो मिर्मिरे उज्यालोलाई हेर्दै जाने हो भने हामी अचम्मित हुन्छौँ । जसले पहिलोचोटि ध्यान गरेको छ, उसलाई विश्वास हुँदैन । हो, पक्कै पनि हुँदैन तर जब हामी ध्यानमा डुब्दै डुब्दै जान्छौँ । हामीलाई महसुस हुन्छ, विस्तारै विस्तारै त्यो मिर्मिरे उज्यालो प्रकाशित हुँदै हुँदै गहन उज्यालोमा परिणत हुन्छ । त्यसलाई पनि हेर्दै हेर्दै जाने हो भने हामी कहाँ पुग्छौँ ? के के देख्छौँ ? 

साथै, हामी श्वासको आवागमन र अन्तरालमा पनि ध्यान दिँदै ध्यान गर्छौँ । अनि एक दिन यस्तो अवस्था आउँछ कि मन र मस्तिष्कमा विचार र भावको अनवरत चलिरहेको शृङ्खला हराउँछ । यस्तो अवस्थामा हामी सुषुप्ति आनन्द लिन्छौँ । यसबाट सूक्ष्म शरीरमा प्रभाव पर्दछ । त्यो प्रभाव सक्रिय भएर स्थूल शरीरबाट बाहिर निक्लन खोज्छ । यस्तो व्यक्तिलाई नै सम्बुद्ध वा सिद्ध पुरुष भनिन्छ ।

यो धर्मको मार्गमा राखिएको पहिलो पाइला हो । जब निर्विचार अवस्था परिपक्व हुन्छ, अनि सम्बोधी घटित हुन्छ । यो अवस्थामा हाम्रो चित्त स्थिर रहन्छ । शरीरबाट उसको सम्बन्ध टुट्छ । तर पनि इच्छाअनुसार हामी शरीरमै हुन्छौँ । यो कैवल्य, मोक्ष वा निर्माणभन्दा पूर्वको अवस्था हो । जन्म र मृत्युको त्यहाँ कुनै भेद हुँदैन । त्यहाँ समय पनि हँुदैन । न त्यहाँ जन्म हुन्छ, न त्यहाँ मृत्यु हुन्छ । ओशो यसलाई ‘सम्बोधी’ भन्छन् । 

अन्त्यमा, ध्यान हामी स्वयंको रूपान्तरण हो । ध्यानको उपयोगिता अद्भूत छ । ध्यान विधि पहिलो पटक समूहमा गर्नुपर्दछ अर्थात् गुरुको सामीप्यतामा गर्नुपर्दछ र पछि एक्लै पनि गर्न सकिन्छ । शरीर, विचार, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन ध्यानले सहयोग पुर्याउँदछ । 

अतः हरेक व्यक्ति ध्यानको उचाईमा छिटै पुग्नु छ भने रेचनबाट ध्यान सुरु गर्नु पर्दछ । उपरोक्त विधिअनुसार ध्यान लगातार एक महिना गरेर हेर्दा हामीलाई आकस्मिक रुपान्तरणको अनुभूत हुन थाल्दछ । 

आजको यो भागदौड जिन्दगीमा आनन्द र सुखी जीवनको लागि ध्यान अपरिहार्य छ । २४ घण्टामा एक घण्टा हामीले आफूलाई समय दिनुपर्छ । संसारतिर भाग्ने मनलाई आफूतिर पनि लगाउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप