आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका अर्थमन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने

बुधबार, ११ माघ २०७९, १३ : ३९
बुधबार, ११ माघ २०७९

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशमा अर्थमन्त्रीको जिम्मेवारी पाएका सञ्जयकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्ने भएका छन् । गत पुष २९ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई नियुक्त गरेका थिए । पुष २९ गते विना विभागीय मन्त्री नियुक्त भई मुख्यमन्त्रीसँगै शपथ ग्रहण गरिसकेका उनले हिजो मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मंगलबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने जनाइएको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले उनीसँगै नियुक्त भई विभाग नपाएका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

जिम्मेवारी तोकिएका ३ मन्त्रीमध्ये अर्थमन्त्रीले शुक्रबार पदभार ग्रहण गर्ने जनाइए पनि २ जनाले भने कहिले गर्ने निश्चित भएको छैन । ‘मेरो पदभार ग्रहण गर्ने अहिले केही तय भइसकेको छैन’, सामाजिक विकास मन्त्री वसन्त कुशवाहाले भने । ‘काम गर्न तम्तयार छु । सबै सहमति भइसकेको छ । पदभार ग्रहण छिट्टै हुनेमा आशावादी छु’ उनले भने ।

यस प्रदेशमा १० मन्त्रालय छन् । ३ मन्त्रालय बाँडफाँड भएपनि मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । प्रदेशसभामा रहेका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा जसपाबाट यादव मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत भने सिंगो प्रदेशसभाको नै पाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप