शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक श्रीमान् दुई श्रीमती, हप्तामा तीन–तीन दिन सँगै बस्ने : मानिस हाँसे, दुई श्रीमान् एक श्रीमती भएको भए भुईँचालो आउँथ्यो

आइतबार, ०५ चैत २०७९, १२ : २३
आइतबार, ०५ चैत २०७९

यो ठट्टा वा चलचित्रको कथा जस्तो लाग्न सक्छ, तर यो कुरा घाम, हावा, प्रकाश र पानी जस्तै सत्य हो ।

एक विवाहित पुरुष । कुनै गाउँ, ग्रामीण इलाका, दुर्गम सहरका होइनन्, भारतको राजधानीसँगै रहेको गुरु ग्रामको । पेसाले सफ्टवेयर इन्जिनियर, उनकी श्रीमती र एक सानो बच्चा छ । ती सफल व्यावसायिक व्यक्तिले सुरुमा आफ्नो आमा–बुवाको मर्जीमा आफ्नै जात र धर्म मिल्नेसँग विवाह गरे ।  

उनले आफ्नी श्रीमतीलाई दुई वर्षसम्म सँगै राखे, बच्चा जन्माए, त्यसपछि उनलाई घर पठाइदिए । त्यसपछि उनी आफ्नै अफिसमा काम गर्ने अर्की आधुनिक, जागिर खाने युवतीसँग लिभ–इनमा बस्न थाले ।

श्रीमतीले थाहा पाएपछि पहिले हङ्गामा मच्चाइन् र त्यसपछि अदालत पुगिन् तर मुद्दा सुनुवाइ र फैसलामा पुग्नुअघि नै अदालतबाहिर सम्झौता भयो ।

काउन्सिलरले महिलालाई काउन्सिलिङ गरे र अदालत जानुको कुनै फाइदा नभएको भन्दै सम्झाए । भरण पोषणको नाममा सीमित रकम मात्रै पाइने भएकोले बीचको बाटो अपनाउन भने । 

बीचको बाटो पनि भेटियो, तर यो बीचको बाटो के हो ?

त्यो यो हो कि ती पुरुषले हप्तामा तीन दिन एक जनासँग र अर्कोसँग तीन दिन बिताउनुपर्नेछ । आइतबार उनको छुट्टी हो । त्यस दिन उनले आफूलाई जे मन लाग्छ, त्यो गर्न पाउनेछन् । दुवै महिला माने र खुसी भएर श्रीमानले दिएको फ्ल्याटमा आफ्नो घर–गृहस्थी सजाइरहेका छन् ।  

सोमबारदेखि बुधवार श्रीमतीको भाग्य जाग्नेछ र बिहीबारदेखि शनिवार लिभ इन पार्टनरको । आइतबारको दिन दुईमध्ये जसको पनि अतिरिक्त भाग्य जाग्छ, उनीहरुले तुलसी मातालाई अतिरिक्त जल चढाउनेछन् र सौभाग्यको अतिरिक्त सिन्दूर लगाउनेछन् । 

मानिसहरूले यो कहानीलाई हास्य कथा झैँ पढे वा कुनै गसिप कोलम झैँ । पुरुषलाई ती पुरुषको भाग्य देखेर जलन भइरहेको छ । महिलाले पक्कै पनि थोरै भए पनि सन्तुष्टिको सास फेरिरहेका छन् तर आत्मसम्मानलाई सिलौटामा पिसिसकेका महिला यत्ति कुरामा सन्तुष्ट छन् कि उनीहरूको टाउकोमा छत छ । 

बिहान बेलुकाको रोटीको ग्यारेन्टी छ र हप्तामा तीन दिन श्रीमानको साथ छ । पूरै छोडिदिएको भए, उनीहरू कहाँ जानु, कसको मुख ताक्नु ?

यो कहानीका दुवै महिलाले आफ्नो स्वाभिमानलाई घोलेर पिएका छन् । तर हामी यहाँ बहस स्वाभिमानमा गर्दै छैनौँ । अभिमानको, आत्मसम्मानको, आफ्नो आदरको कुरा त त्यति बेला आउँछ जब जीवनको ग्यारेन्टी हुन्छ । तब आर्थिक जमिन होस्, टाउकोमा छत होस्, हातमा पैसा होस् । 

जुन महिलाको जीवनबाट उनीहरूका यी आधारभूत अधिकार खोसिएका छन्, उनीहरू आत्मसम्मानका लागि ज्यान दिँदैनन् । उनीहरू जिउँदो रहनका लागि मात्रै लडाइँ लड्छन् । मानिसले मखमलीको तन्नाबारे त्यति बेला मात्रै सोच्छन् जब पेट भरिएको हुन्छ र सुत्नलाई पलङ हुन्छ । टाउकोमा छत छैन भने म्याट (खुट्टा पुछ्ने) पनि फूलको पलङ हुन्छ । 

त्यसैले विमर्शको मुद्दा यहाँ स्वाभिमानको होइन । यो पूरा घटनामा जुन कुरा सबैभन्दा रोचक छ, त्यो हो काउन्सिलिङ गर्ने भारतका वकिल हरिश दिवानको वक्तव्य हो । उनका अनुसार भारतमा एल्युमनी (गुजारा भत्ता) को नाममा श्रीमतीले सात–आठ हजार मात्रै पाउँछन् ।

श्रीमानको तलब दुई लाख नै किन नहोस्, अदालतलाई लाग्छ कि आर्थिक रूपमा श्रीमतीमाथि निर्भर श्रीमती सात हजार रुपैयाँमा महिनाको खर्च चलाउनेछिन् ।

हरिश देवानले अरू पनि बयान बाजी गरे होलान् तर एउटा कुरा सत्य बोल्दै थिए । जीवनको अधिकांश समय बिहेलाई, त्यो सम्बन्धलाई र ती श्रीमानलाई दिने नारीलाई एक दिन श्रीमानले सुको पैसा नदिइकन सडकमा छोडिदिन सक्छन् ।

हामी कल्पना पनि गर्न सक्दैनौँ कि सम्बन्ध विच्छेदको प्रक्रियाबाट गुज्रिरहेका र गुजारा भत्ताका लागि अदालत र श्रीमानको मुख ताकिरहेका हजारौँ महिला कुनै दुःख र त्रासदीबाट गुज्रिरहेका होलान् ।

उनीसँग कुनै व्यावसायिक शिक्षा छैन, जागिरको, कामको, उत्पादकताको, रचनात्मकताको सबैभन्दा उत्कृष्ट वर्ष ती महिलाले ती व्यक्तिका लागि खाना बनाउँदै, उनको भित्री र कट्टु धुँदै, उसलाई मनोरञ्जन दिँदै र उसको बच्चा पाल्दै बिताएकी छिन् । त्यो नै उनको श्रम र लगानी थियो । त्यही उसको सुखको, सुरक्षाको, भविष्यको ग्यारेन्टी थियो । 

तर त्यो यस्तो लगानी निस्कियो जसमा गरिएको सारा योगदान एक दिन डुब्यो र अब महिला सडकमा छिन् । उनका लागि अब कतै शरण छैन, कतै न्याय छैन ।

विवाहको यत्तिका वर्षमा यही सबै लगानी पुरुषले पनि गर्दथे तर उनको लगानी बढी सुरक्षित स्थानमा थियो । उनले आफूलाई जागिरमा लगानी गरिरहेका थिए । व्यावसायिक सफलतामा, प्रमोसनमा, घर–जग्गा खरिद गर्नमा, बैङ्क ब्यालेन्स बढाउनमा, स्टक मार्केट र म्युचुअल फन्डमा, नेटवर्किङमा, आफ्नो मार्केटिङमा । आफ्नो खुट्टा मुनी एक बलियो जमिन र टाउकोमाथि गज्जबको आकाशमा ।

लगानी दुवैले गरिरहेका थिए । पुरुषको लगानी सही स्थानमा थियो । उसको मेहनत डुबेन । उनी सडकमा आएनन् । सम्बन्ध टुटेपछि पनि उसको टाउकोमाथि छत छ, खुट्टा मुनी जमिन र बैङ्कमा पैसा । उनले आफ्ना लागि दोस्रो जीवन खडा गर्न सक्छ, पैसाले सबै सेवा सुविधा किन्न सक्छ तर महिला सडकमा छन् । 

श्रीमान्, बालबच्चा र विवाहलाई सबैभन्दा सुरक्षित सम्बन्ध मानेर आफ्नो सबै कुरा त्यसमा लगानी गर्ने महिलाको सबै पैसा एक दिन ती महिला झैँ डुब्न सक्छ ।

अदालतले स्पष्ट शब्दमा यसो भन्न सक्दैन – ‘ओह, पुअर वुमन, इट वाज अ ब्याड इन्भेस्टमेन्ट ।’ समाजले पनि भन्दैन, परिवारले पनि भन्दैन । सबैले भन्छन् कि महिलाको भाग्य नै खराब थियो । भाग्यमा यस्तै लेखिएको थियो, विधाताको यही मर्जी थियो । कसैले भन्दैन पैसा गलत ठाउँमा लगानी गर्नुभयो । यो विश्वको सबैभन्दा असुरक्षित छ । कहिले डुब्छ, थाहा हुँदैन ।

घर, परिवार, समाज र मानिसले यस्तो भन्दैनन् किनभने उनीहरुले शताब्दियौँदेखि महिलालाई यही असुरक्षित लगानीको तालिम दिइरहेका छन् ताकि स्टक मार्केट, जब मार्केट र सबै सुरक्षित स्थानमा आफ्नो एकाधिकार कायम रहोस् । उनीहरूको एक्लो कब्जा । उनीहरूको एकछत्र साम्राज्य । 

र कुनै दिन महिला रुँदै–बिलौना गर्दै न्यायका लागि अदालतसम्म पुगे भने अदालत बाहिर उसलाई रोटीको दुई टुक्रा दिएर सम्झाएर–बुझाएर सम्झौता गरिदिन्छन् ।

महिलाको टाउको छत पनि हुन्छ र पुरुषसँग स्वतन्त्रता पनि । महिलाको सम्मानको मूल्यमा पुरुषको राज कायम रहनेछ । सम्झौता गराउने वकिललाई महानता र मानवताको अतिरिक्त तक्मा दिइनेछ ।

यो कथा मजाक होइन । यो कथा सुन्दा अनौठो लाग्न सक्छ तर यसको पछाडि सन्यत्रको, एक पक्ष कमजोर र परजीवी हुनुको, उनको माटोमा मिलिसकेको वर्षौँको मेहनतको, कुल्चिएको सम्मानको, घिसारिएका स्वाभिमानको सयौँ वर्षको लामो कथा छ । मानिसहरू यो कथामा हाँसिरहेका छन् किनभने मानिसहरू महिलाको दुःखमा हाँस्छन् मात्रै । ती पनि जसको यो दुःखमा योगदान छ ।

दैनिक भास्करमा प्रकाशित लेखको अनुवादित अंश

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप