शुक्रबार, २८ असार २०८१
ताजा लोकप्रिय
मिटरब्याज समस्या

‘अत्याचार हेर्न मधेस आऊनू’

बुधबार, १५ चैत २०७९, १६ : ५६
बुधबार, १५ चैत २०७९

६ महिनाको छोरो च्यापेर धर्नामा बसेकी कल्पना धानुकलाई आफ्नो उमेर थाहा छैन । उनले भनिन्, ‘उमेर भन्न त नागरिकता हेर्नुपर्छ ।’ उनी अर्को पाँच वर्षको छोरालाई घर (धनुषाको सबैला–१२)मा छाडेर, ११ दिन हिँडेर मिटरब्याजी विरुद्धको आन्दोलनमा काठमाडौं आएकी हुन् । उनका श्रीमान् अहिले रोजगारीका लागि साउदीमा छन्, साउदी जान उनले सासुआमासँग ऋण लिएका छन् । 

उनीहरूका जेठा छोरा हिँडडुल गर्न र बोल्न सक्दैनन् । छोराको उपचारका लागि कल्पनाले गाउँका मुसरु गुवारसँग दुई वर्षअघि ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्, अगाडि नै दुई लाख रुपैयाँको तमसुक बनाएर । 

‘अहिलेसम्म हामीले ५० हजार रुपैयाँको एक लाख रुपैयाँ दिइसक्यौँ । अझै पनि साहुले दुई लाख रुपैयाँ मागिरहेको छ । साहुले पैसा मागेर अत्याइरहन्छ,’ कल्पना भन्छिन्, ‘हामी गाउँब्लकको पाँच धुर जमिनमा बस्दै आएका छाैँ । पानी परेका बेला हामीलाई घरबाट साहुले निकालिदियो । साहुले मलाई भन्दै थियो– महिनाको २० हजार रुपैयाँ दिन्छु, मसँग हिँड्, मसँग सुत् । पैसा दिइनस् भने बच्चा मारिदिन्छु भनेर धम्की पनि दिइरहेको छ । फोहोरी फोहोरी गाली पनि गरिरहेको छ ।’

unnamed (4)

रातोपाटीसँग कल्पनाले मैथिली भाषामा कुरा गरेकी थिइन्, हाम्रो दोभासेका रूपमा थिए– महोत्तरीको लोहारपट्टी– ३ का ३४ वर्षीय पुरुषोत्तम अधिकारी (यादव) । मधेसका हरवाचरवा, पूर्वकमलरी, बुकरहीहरूसँग यसअघि कुरा गर्दा उनीहरूले आफूहरूमाथि अत्याचार भएको बताएका थिए । हामीले पुरुषोत्तमसँग सोध्यौँ– साँच्चिकै यस्तो अत्याचार छ है ? 

उनले भने, ‘अत्याचार हेर्न मधेसमा आउनू न ।’ 

सोमबार बानेश्वरको एभरेस्ट होटलअघि धर्नामा बसिरहेका पुरुषोत्तमले भने, ‘नेताहरूले नै मिटरब्याजीलाई साथ दिएका छन् । उनीहरूलाई कारबाही हुँदैन । मिटरब्याजीबाट ठगिएकाहरू मधेसमा १०औँ लाख होलान् । अस्ति मैले जिल्ला प्रशासनमा मिटरब्याजीविरुद्ध मुद्दा हालेँ । म निवेदक हुँ, मलाई कर्मचारीले भने– तिमी बाहिर जाऊ । तर हामीमाथि जालसाजी गर्नेलाई कुर्सी दिएर राखे ।’

unnamed (3)

पुरुषोत्तमका बुवा रामएकवाल यादव पूर्वगाविससचिव हुन् । आफ्ना छोराहरूलाई पढाउन, बिरामी श्रीमतीको उपचारका लागि रामएकवालले गाउँकै निर्धन यादव नाम गरेका व्यक्तिसँग ऋण लिन थाले । ऋण बढ्दै गयो । उनले सात कट्ठा खेत बेचेर निर्धनलाई तिरे, त्यसपछि ९५ हजार रुपैयाँ तिर्न बाँकी थियो । ९५ हजार ऋणमा आफूहरूले निर्धन यादवलाई एकपटक सात लाख र एकपटक २२ लाख रुपैयाँ बुझाइसकेको पुरुषोत्तम बताउँछन् । 

‘अहिले निर्धनका छोरा सियारामले ४५ लाख रुपैयाँको दाबीसहित मुद्दा हालेका छन्,’ पुरुषोत्तम भन्छन्, ‘उनीहरूसँग कति पैसाको कतिवटा तमसुक छ, कति प्रतिशत ब्याज हो भन्ने हामीलाई थाहा छैन । निर्धनका छोरासँगै भतिज गोविन्दकुमार पनि मिटरब्याजी बनेका छन् ।’ 

पुरुषोत्तमका अनुसार, ऋणले चाप्दै गएपछि रामएकवालले गोविन्दकुमार यादवका बुवासँग ५० हजार ऋण लिएका थिए । अहिले रामएकवालले गोविन्दकुमारलाई तिर्न ११ लाख रुपैयाँ पुगेको छ ।

२०७६ साउन १७ मा गोविन्दकुमारले आफूसँग रामएकवालले २०७१ भदौ २७ मा तमसुक गरी आठ लाख रुपैयाँ लिएको भनी महोत्तरी जिल्ला अदालतमा मुद्दा हाले । यस्तै, २०७२ कात्तिक १० मा निर्धन यादवका छोरा सियाराम यादवले आफूसँग रामएकवालले २५ लाख रुपैयाँ लिएको भनी मुद्दा हाले । यस मुद्दामा अदालतले २८ असार २०७५ मा वादी सियारामको पक्षमा फैसला गर्‍यो । 

‘अहिले हामीले पनि सियारामविरुद्ध सर्वोच्चमा मुद्दा हालेका छौँ,’ पुरुषोत्तम भन्छन्, ‘ऋण तिर्दा–तिर्दा हाम्रो परिवारको बेहाल भएको छ । उनीहरूले सानो कागजको टुक्रामा ऋण बढ्दै गएको देखाउँछन् । मेरो बुवा गाविससचिव हुँदा निर्धन यादव कार्यालय सहयोगी थिए, पछि मुखिया भए । अहिले उनीहरूसँग १२–१५ करोडको सम्पत्ति छ, कसरी भयो ?’ 

पुरुषोत्तमका तीन दाजुभाइले पढ्दै थिए । त्यही बेला उनीहरूकी आमा मधुमेह र दमबाट पीडित थिइन् । उनलाई १४ वर्षसम्म घरमै अक्सिजन दिएर राख्नुपर्‍यो । ‘त्यतिबेला बुवाले पढाउन नसक्ने हुनुभयो । दाइका लागि मैले पढ्न छाडेँ,’ यति भन्दै गर्दा पुरुषोत्तमले बर्बर आँसु झारे, ‘पढाइ छाडेर म दुबई गएँ, त्यहाँबाट कमाएको पैसा पनि साहुलाई नै तिरिरहनुपर्‍यो । त्यसपछि गाउँमै हार्डवेयर पसल गरेँ । ऋण तिर्नकै लागि पसल पनि बेच्नुपर्‍यो । ममुनिको भाइलाई बुवाले काठमाडौंमा इन्जिनियरिङ पढाउनुभएको थियो, पैसाको अभावले उसको पढाइ अगाडि बढाउन सकिएन । दुई वर्षदेखि ऊ घरमै बसिरहेको छ ।’ 

उनका दाइ प्रभाष्करले स्नातक गरेर नगरपालिकामा जागिर गर्छन्, उनकै आम्दानीले अहिले घर चलिरहेको छ । पुरुषोत्तमका अनुसार, मिटरब्याजी धन्दा गर्नेले मेयर, वडाध्यक्षलाई चुनावमा पैसा दिने गर्छन् । 

unnamed (5)

धर्नामै रहेकी गोलबजार, सिरहाकी ३२ वर्षीया पुनितादेवी महतोको कथा पनि पीडादायी छ । ११ वर्षअघि, रोजगारीका सिलसिलामा साउदी गएका उनका श्रीमानको निधन भयो । सरकारबाट क्षतिपूर्ति पाएको पाँच लाख रुपैयाँले उनले सात कट्ठा खेत किनिन्, यसमाथि उनलाई सासु–ससुराले १० धुर घडेरी र १० धुर खेत दिएका थिए । अहिले उनको नाममा जग्गा छैन, उनी घरवासविहीन हुन पुगेकी छन् । 

साथी पुनमसिंह दनवारलाई ऋण काढ्न जमानी बस्दा उनी ठगिन पुगेकी हुन् । ‘पुनमसिंहका लागि जमानी बसेर मैले फरक–फरक साहुबाट पटकपटक गरी साढे चार लाख रुपैयाँ ऋण निकालिदिएकी थिएँ । साहुहरूले पुनमसिंहको पनि जग्गा खाए, पुनमबाट ६ लाख रुपैयाँ असुली सकेका छन् र यता जमानी बसेको भनी मेराविरुद्ध मुद्दा हालेका छन्,’ पुनिता भन्छिन्, ‘मेरो सबै जग्गा डाँक लिलाम प्रक्रिया छ । डेरा लिएर बस्ने अवस्था समेत नहुँदा अहिले म माइतीमा बस्दै आएकी छु ।’

यतिखेर पुनिता स्वयं राज्यको आँखामा फरार अवस्थामा छन् । उनले स्थानीय शारदादेवी साहसँग पाँच वर्षअघि ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यसमध्ये पाँच हजार तुरुन्तै र ११ हजार रुपैयाँ एक हप्ताभित्र दिइन् । ‘५० हजार रुपैयाँको एक लाख रुपैयाँ दिइसकेकी छु, उहाँले तमसुक फिर्ता नदिएर उल्टै अदालतमा मुद्दा हाल्नुभयो । अहिले मलाई अदालतले पुर्जी काटेको छ, म अहिले आफन्तको सहयोगमा लुक्दै हिँडेकी छु,’ उनले रुँदै भनिन्, ‘१६, १३ र १२ वर्षका तीन छोरा छन् । अहिले जेठो छोराले कक्षा १२ मा पढ्छ । माइलो र कान्छो छोरालाई उनले पढाउन सकेकी छैनन् ।’ 

तीन गुणा बढीको तमसुक र जग्गा पास

गोलबजार सिरहाका समाजसेवी कर्मलाल महतोले पछिल्लो दुई वर्षदेखि मिटरब्याजी पीडितका सम्बन्धमा काम गर्दै आएका छन् । उनी मिटरब्याजी पीडित संघर्ष समिति सिरहाका जिल्ला अध्यक्ष समेत हुन् । उनका अनुसार, मधेसमा ऋण लिएपछि जति लिएको हो, त्यसको तीन गुणा बढीको तमसुक बनाउने प्रचलन छ । 

‘कसैले एक लाख रुपैयाँ ऋण लिएको छ भने, उसले तीन लाखको तमसुकमा सही गर्नुपर्छ । ऋण लिने मान्छे निरक्षर छ भने कतिपय बेइमान साहुले तीन लाखको ठाउँमा १२–१५ लाखको पनि तमसुक बनाएका हुन्छन्,’ कर्मलाल भन्छन्, ‘योसँगै पैसा लिएपछि जग्गा पनि साहुको नाममा राजीनामा गरी दिइन्छ । सबै साहु बेइमान छन् भन्ने होइन, तोकिएको ब्याजसहित साँवा तिरेपछि तमसुक च्यात्ने र जग्गा फिर्ता दिने चलन पहिलेदेखिकै हो । कतिपय साहु साँच्चिकै बेइमान छन् । तमसुक नै बढीको बनाउने, अनि जग्गा खाइदिने गरिरहेका छन् ।’   

कर्मलालहरूले दुई वर्षअघि मिटरब्याजी पीडितलाई संगठित गरेर प्रदेश प्रमुख लालबाबु राउतलाई पनि ज्ञापनपत्र बुझाएका थिए । सिडियो, एसपीसँग यस सम्बन्धमा छलफल पनि गरेका थिए । मिटरब्याजीहरूलाई पक्रन्छौँ भने पनि पक्रने काम भएन । कर्मलाल भन्छन्, ‘मधेसमा अधिकांशको जग्गा लेनदेनकै नाममा साहुले लिएको अवस्था छ । साहुले आफ्नो नाममा बनाए पनि कतिले आफ्नो जग्गा भोगचलन गरिरहेकै छन् । सरकारले चाह्यो भने त्यो जग्गा फिर्ता गर्ने सकिन्छ । तर बेइमान साहुहरू नै राजनीतिक दल र नेताबाट संरक्षित छन् ।’ 

सप्तरीको रूपनी गाउँपालिका– २ का इन्जिनियर प्रमोद साह सोमबार (१३ चैतमा) साँझ टुँडिखेलको गेटमा भेटिएका थिए, जहाँ १२ दिनसम्म हिँडेर आएका मिटरब्याजी पीडितले नारा जुलुस गरिरहेका थिए । जहाँ धेरै मिडियालाई प्रमोदले आफ्नो परिवार मिटरब्याजीका कारण २०३७ सालदेखि ठगिएको बताउँदै थिए । unnamed (1)

प्रमोदका अनुसार, २०३७ माघ १० मा उनका हजुरबुवाले किशोर प्रधान (जो अहिले नेपाल वायु सेवा निगममा सञ्चालक छन्) का बुवासँग पाँच हजार रुपैयाँ सापटी लिएका थिए । ‘यसमा मेरो बाजेले २०५२ सालसम्म आइपुग्दा पटकपटक गरी ५५ हजार रुपैयाँ तिरिसक्नुभएको छ । पैसा लिएबापत मेरो हजुरबुवाले तीन बिघा जमिन राजीनामा पास गरी दिनुभएको थियो,’ प्रमोद भन्छन्, ‘त्यो जग्गामा अहिले २२ कट्ठा मात्रै बाँकी छ, अरु जग्गा उहाँहरूले नै बेच्नुभयो । बाँकी जग्गा फिर्ता गर्ने कुरा उहाँहरूले गर्दै आउनुभएको हो तर अहिलेसम्म फिर्ता दिनुभएको छैन । उहाँहरू पनि प्रतिष्ठित परिवार, यता मेरो बुवा रामकुमार साह पूर्वप्रधानपञ्च हुनुहुन्थ्यो । त्यसैले जग्गामा समस्या नआउला भन्ने हामीलाई लागेको थियो । मेरो हजुरबुवाको २०५७ सालमा मृत्यु भयो । अहिलेसम्म त्यो जग्गाको भोगचलन हामीले गर्दै आएका छौँ ।’  

समाजसेवी कर्मलालका अनुसार, अदालतले कागज (तमसुक) मात्रै हेर्छ र मिटरब्याजीको पक्षमा फैसला गर्छ अर्थात् ऋणीको नामको जग्गा रोक्का गर्छ । उनी भन्छन्, ‘हामीले अदालतलाई पनि ज्ञापनपत्र बुझाएका हौँ । साहुले त पाँच लाखलाई १५ लाख बनाएर तमसुक गरेको छ । उसले कहाँबाट, कुन स्रोतबाट पैसा ल्याएर ऋण दियो भनी अदालतले हेर्ने हो भने साहुको बेइमानी पत्ता लाग्छ र यो समस्या ९० प्रतिशत समाधान हुन्छ । सरकारले अदालतहरूलाई यस प्रकार सर्कुलर गर्न आवश्यक छ ।’ 

सरकारी बैंकले ऋण सधैँ सम्पत्ति भएको वर्गलाई दिन्छ, समाजका हर्ताकर्ता र टाठाबाठालाई दिन्छ । निजी बैंक अवस्था पनि उही छ । 

सप्तरीको खडक नगरपालिकाका ५५ वर्षीय छेदिलाल पासवानले साझेदारीमा इँटाभट्टा उद्योग चलाएका थिए । उनले गाउँकै साहु रामदेव तेलीसँग २०७४ सालमा १६ लाख रुपैयाँ ऋण लिएका थिए । लिएको दुई महिनापछि नै उनले चार खाल २२ हजार रुपैयाँ साहुलाई बुझाए । ऋण लिनुअघि नै उनले १५ कट्ठा नौ धुर जग्गा साहुलाई राजीनामा पास गरिदिएका थिए । 

१६ लाख ऋणमा आफूले अहिलेसम्म १९ लाख रुपैयाँ तिरिसकेको छदिलाल बताउँछन् । अहिले आफ्नो जग्गाको जोतभोग उनले नै गरिरहेका छन् । ‘साहु अदालत गएर मेरो जग्गा रोक्का गरिदिएका छन् । ती साहुकोा परिवारबाट मजस्ता १७ जना पीडित छन्,’ उनले भने, ‘साहुले छोराछोरी र श्रीमतीको नामबाट कागज गरी ऋण दिएका हुन्छन् ।’ 

कानुन बनाएर तमसुक व्यवस्था खारेज हुनुपर्ने, मिटरब्याजीलाई कारबाही हुनुपर्ने र पीडितलाई न्याय हुनुपर्ने उनको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप