बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

तपाईंलाई निरन्तर घेराबन्दीमा पार्न खोजेका छन् भनेर मतदाताले मलाई भन्नुहुन्छ : रवि लामिछाने

शुक्रबार, ०१ वैशाख २०८०, १५ : ४३
शुक्रबार, ०१ वैशाख २०८०

नागरिकता विवादका कारण सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर–२ मै हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार छन् । उनी चुनाव प्रचारका क्रममा घरदैलो अभियान अन्तर्गत गाउँगाउँमा पुगिरहेका छन् । पार्टी स्थापनकालको छोटो समयमै नागरिकहरुको विश्वास बटुल्न सफल भएका उनी चुनाव जित्ने रणनीति निर्माण गर्दै मतदाताको विश्वास जित्ने प्रयासमा छन् । आफ्नो पार्टी सरकारमा रहँदा गरेका राम्रा कामका फेहरिस्त बोकेर लामिछाने चितवन–२ को भरतपुर महानगरपालिकाका विभिन्न वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका नागरिकको घरघरमा पुगिरहेका छन् ।

यसबीचमै उनको पार्टीका सांसदले दुई करोड रुपैयाँ माग गरेको अडियो टेप सार्वजनिक भएपछि विकसित घटनाक्रम, पार्टीले गरेको कारवाहीजस्ता उतारचढावको सामना पनि उनले गर्नु परिरहेको छ । उनले चुनाव प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेका डीपी अर्याल, विराजभक्त श्रेष्ठ, सोविता गौतम लगायतलाई चितवनमै केन्द्रित गराएका छन् ।

उनलाई सोक्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट राम प्रसाद न्यौपानेले चुनौती दिइरहेका छन् । विगतको निर्वाचनमा जस्तो सहजै जित निकाल्न सक्ने अवस्था नरहेको उनी स्वयम् बताउँदै आएका छन् । बलिया संगठनको बीचबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउको खोजीमा उनी छन् ।

चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शक्तिखोरमा घरदैलो गर्दैगर्दा भेटिएका लामिछानेसँग चुनावको तयारी, रणनीति र अवस्थाबारे रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

घरदैलो कार्यक्रमलाई कसरी अगाडि बढाउनु भएको छ ? कस्ता कार्यक्रमहरु छन् ?

यसअघि निर्वाचनमा पुग्न नसकेको ठाउँहरुमा जाने कोसिसमा छु । केही ठाउँमा फेरि गएर आफ्ना कुरा राख्ने गरेको छु । घरघरमा पुगेको छु । मलाई गुनासोहरु धेरै आउँछ, त्यसैले उहाँहरुको गुनासो सम्बोधन गर्दै, दीर्घकालीन समस्याहरुको टिपोट, उहाँहरुको आकांक्षा, अपेक्षाहरुको टिपोट, आफूले योभन्दा अगाडि छोटो समयमा गरेका कामहरुको विवरणसहित कार्यक्रम अगाडि बढाएको छु ।

विगतको निर्वाचनमा भन्दा यसपटक जनताको अपेक्षामा के–कति फरक देखिए, जनताले के सोचेका रहेछन् ? जनताको भनोभावना कसरी बुझ्नुभयो ?

मलै इमानदारपूर्वक भन्नुपर्दा सत्ताप्रति मानिहरुको एकदमै आक्रोश छ । सत्ता भनेको खराब हो भन्ने परेको छ । जनताले सत्तामा किन गएको भनेर प्रश्न गर्नुहुन्छ । मैले सरकारमा गएर गरेका राम्रो काम बताइसकेपछि उहाँहरुले ‘राम्रो गर्नुभएको छ’ भनेर झनै सहानुभूति व्यक्त गर्नुभएको छ । ‘तपाईलाई सबैले असाध्यै धेरै खेदे’ भनेर यसपटक झनै धेरै मतले जिताउनुपर्छ भन्नुभएको छ । कोही खुल्नुभएको छ कोही खुल्नुभएको छैन ।

सत्तामा गएर गृह मन्त्रालय चलाउँदै गर्दा तपाईबाट जनताले सन्तुष्टि नपाएको जस्तो देखियो, काम गर्न समस्या भएको हो कि अन्य कुनै चुनौती भएर हो ?

सत्तामा गएर होइन, जनतालाई कतिपय नेताप्रति वितृष्णा होला तर त्यतिबेला मैले गरेका काम सबैले राम्रो भन्नुभएको छ । चाहे नाकामा तस्करी नियन्त्रण होस् वा प्रमुख जिल्ला अधिकारीको सरुवामा अहिलेसम्मकै ऐतिहासिक निर्णयहरु भए । पिस पिसमा कुरा गर्नुभयो भने उहाँहरुले बुझ्नुहुन्छ तर एकमुष्ट भन्दा किन फलानो नेतासँग टाँसिएको भन्ने छ ।

जनताको गुनासोलाई न्याय गर्न नेतृत्व किन चुक्दोरहेछ ? तपाईको अनुभव कस्तो रह्यो ?

बिना पूर्वाग्रह यदि कसैले हेरिदिने हो भने गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा मन्त्रालयमा हुँदा हामीले ऐतिहासिक कामहरु गरेका छौं, गर्ने कोसिस गरेका पनि छौं । ३२ वर्षसम्म थाँती बसेको प्रश्नलाई ३२ दिनको कार्यकालले के नै सम्बोधन गर्ला र ? तर तुलनात्मक रुपमा हेर्ने हो भने ३२ वर्षमा नभएका काम ३२ दिनमा हुनुसक्छ भन्ने संकेत दिएको छ । चाह्यो भने नेताले गर्न सक्छ भन्ने देखिएको छ । तर आम जनताको विश्वास दिलाउने समय भएन ।

पछिल्लो समय नागरिकता, पार्सपोर्ट विवादसँगै मन्त्री बनाउन पैसाको बार्गेनिङको कुरा आयो, यसलाई कसरी चिर्नुहुन्छ ?

हामीले भ्रष्टाचार गरेको, लेनदेन भएको भन्ने नदेखिएता पनि लेनदेनको भन्ने कुरा भएको देखिएकाले तत्काल कारवाही गरेका छौं । कयौं भ्रष्टाचारका टेप काण्डहरुमा पार्टीले बचाए तर हामीले त कारवाही सुरु गरेका छौं । हामी यही समाजमा जोडिएकाले कोही खराब हुन पनि सक्छ, नहुन पनि सक्छ । हामीसँग आएर जोडिएका साथीहरु विश्वासका आधारमा जोडिएका हुन् । हामीले कसैलाई जोगाउनु छैन । यदि कसैले गलत गरेको छ भने तत्काल छानबिनको, कारवाहीको दायरामा ल्याउने र निर्ममभन्दा निर्मम हुन्छौं ।

यी विवादहरुले निर्वाचनमा कुनै समस्या पार्छ कि पार्दैन ? चुनौती कति देख्नुभएको छ ?

यी घटनाले निर्वाचनमा समस्या पार्न सक्ला या नसक्ला, विपक्षीहरुले मुद्दा बनाउनु स्वाभाविक हो । तर आम नागरिकले बुझ्नुभएको छ । तपाईलाई कति धेरै घेराबन्दीमा पार्न खोजेको, षड्यन्त्र गर्न खोजेको, तपाईलाई समस्या पार्न खोजेको, निरन्तर खेदिरहेका छन् भनेर उहाँहरु मसँग भन्नुहुन्छ ।

चितवनका पहाडी जिल्लाका मतदाताहरुले चुनाव जितेर गएपछि उम्मेदवार फर्केर आएनन् भन्ने गुनासो गरिरहेका छन् नि ?

अघिल्लो निर्वाचनमा म धेरै ठाउँमा पुग्न सकिनँ । पार्टी सभापति भएको हिसाबले देशभर सबै ठाउँमा पुग्नुपर्ने बाध्यता थियो । तर म निर्वाचन लगत्तै पुगेको हुनाले त्यहाँ जनताहरु धेरै खुसी हुनुभयो । कोही जितेर आउँदैनथे, तपाई आउनुभयो भन्नुभयो । अझ धेरै ठाउँ पुग्नुछ तर नेता सधैँ घरघरमा पुग्न नसक्ला । यद्यपि, कोसिस हुन्छ । नेता सधैँ घरघरमा नपुगे पनि त्यहाँ नीति पुग्ने हो । अहिले इच्छाकामनामा मेरै पहलमा बिजुलीका पोलहरु झरेका छन् । विद्यालयको मैले बाचा गरेको थिएँ, त्यसमा काम भइरहेको छ, खानेपानीको काम भइरहेको छ । टेलिफोन टावरहरु थिएनन्, ती आएका छन् ।

जनताको अपेक्षा धेरै छन् । वर्षौंदेखि थाँती बसेका समस्याहरु भएकाले अपेक्षा पूरा गर्न समय लाग्छ । म जानकार छु, सकेसम्म छोटो समयमा पूरा गर्न कोसिस गर्दछु ।

चितवनको भूगोललाई तपाईले कसरी चिन्नुभएको छ ? र विकासका एजेण्डाहरु के के लिएर जानुभएको छ ?

चितवन असाध्यै धेरै सम्भावना भएको ठाउँ हो । किनभने यो हर ढंगको विकासको नमुना ठाउँ बन्न सक्छ । यहाँ कृषि, पर्यटन, व्यापारिक केन्द्र, जल, जंगल, जमिन भएका कारणले वरपरका अरु निर्वाचन क्षेत्रहरुको कुरा गर्दा पनि असाध्यै सम्भावना भएको ठाउँ हो । हामीले यसको सम्रग विकासका लागि केही मोडलमा काम गरिरहेका थियौं । छिमेकी मुलुक चीनका दुर्गम गाउँ छन्, त्यहाँ कसरी काम गरिएको रहेछ भनेर अध्ययन भइरहेको छ । हामीले सांसद बोर्ड बनाएर त्यसको माध्यमबाट सहभागितामुलक, समानुपातिक विकासमा काम गरिरहेका थियौं । जसमा मेरो निर्वाचन क्षेत्रका हरेक पालिकाबाट, वडाबाट र टोलबाट प्रतिनिधिहरुसँग बसेर विकास कहाँ कहाँ आवश्यक छ, प्राथमिकता र आवश्यकताको आधारमा विकासका फरकफरक मोडललाई प्रस्तुत गरेर काम गर्ने अवधारणाका साथ हामी अगाडि बढेका थियौं । तर एकदमै छोटो अवधिमा म पदमुक्त हुनुप¥यो, पदमुक्त मात्रै हुनुपरेन, म आफैँ पार्टी सभापति भएकाले विभिन्न किसिमका झमेलामा अलमल भयो ।

ग्रामीण विकासमा मेरो धेरै जोड छ । शिक्षामा मैले जोड दिएको छु । बाटो भयो भने मानिसको जीवन चल्न सजिलो हुन्छ । बिजुली, इन्टरनेट आधारभूत आवश्यकता भएकाले अबको ५ वर्षभित्र सबै ठाउँमा पु¥याउने मेरो योजना छ । आईटी हवको रुपमा विकास गर्ने योजना छ । अलि प्राविधिक विषय भएकाले समयमै कति गर्न सकिन्छ । ठुला कम्पनीहरुको सम्भाव्यता अध्ययन गर्ने, शक्तिखोर औद्योगिक क्षेत्रको अवधारणा असाध्यै राम्रो हो, यसलाई पूर्ण रुपमा अगाडि बढाउन पार्टीभित्र छलफल गरेको छु । छिमेकी निर्वाचन क्षेत्रका सांसदहरुसँग पनि कुरा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप