बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय
साहित्यकारका नजरमा २०७९ साल

पुरस्कारमा ‘बार्टर सिस्टम’, साहित्यकारमा वर्गीय विभेद

मदन पुरस्कार विजेताहरू राम्रो कृतिकार हुन् तर साँच्चिकै प्राज्ञिक व्यक्तित्व बनेका हुन् त ?
शनिबार, ०२ वैशाख २०८०, १० : ४८
शनिबार, ०२ वैशाख २०८०

२०७९ साहित्यिक क्षेत्रका लागि मिश्रित रूपमा रह्यो । यो वर्ष केही राम्रा साहित्यिक सिर्जना भित्रिए भने सँगसँगै केही विकृति पनि । 

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरियो ।  जसमा सुदूरपश्चिम साहित्य महोत्सव, नेपाल लिटरेचर फेस्टिभल, कलिङ साहित्य महोत्सव, अन्तर्राष्ट्रिय साहित्य महोत्सव, जनकपुर साहित्य महोत्सव, टीकापुर साहित्य महोत्सव, इलाम साहित्य महोत्सव जस्ता साहित्यको संवद्र्धन गर्ने खालका कार्यक्रम सम्पन्न भए । 

कतिपय स्थानीय तहले भाषा, साहित्य र संस्कृति संरक्षणका लागि विशेष बजेट नै छुट्याएर विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरे । धेरै स्रष्टाहरूले कृतिहरू विमोचन गराए भने त्यतिकै सङ्ख्यामा पुरस्कारहरू वितरण भए । 

यो वर्ष नवराज लम्सालको अग्नि महाकाव्यले २०७८ को मदन पुरस्कार प्राप्त गरेर चर्चामा रह्यो । नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशले २०७८ सालको साझा पुरस्कार प्राप्त गर्यो । यसैगरी यो वर्ष केही विशिष्ट साहित्यकारहरूले यस धराबाट बिदा लिए । संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार मोहन हिमांशु थापा, ठाकुर पराजुली, मोतीलाल पराजुली जस्ता व्यक्तित्वलाई गुमाउनुपर्यो । 

यो वर्ष साहित्य क्षेत्रमा केही विकृति पनि भित्रिएको साहित्यकारहरू बताउँछन् । सिर्जनाका क्षेत्रमा लेखकीय क्षमता नभएका व्यक्तिहरूलाई घोषित र अघोषित रूपमा घोस्ट राइटिङ गरी लेखकका रूपमा स्थापित गराउने प्रवृत्तिसमेत बढ्यो भने पुरस्कार वितरणमा पनि बार्टर सिस्टम बढ्न थाल्यो । 

साहित्य क्षेत्रमा २०७९ साल कस्तो रह्यो भनेर केही प्रतिनिधि साहित्यकारहरूलाई प्रश्न गरेका छौँ । प्रस्तुत छ, उनीहरूको अनुभव जस्ताको तस्तैः 

श्रीओम श्रेष्ठ, 

अध्यक्ष, नेपाल स्रष्टा समाज

shree-om-shresthaसाहित्यिक गतिविधि, कार्यक्रम, कृति प्रकाशनका हिसाबले अत्यन्त सुखद् र उत्साहजनक रह्यो । खासगरी साहित्यिक गतिविधिबारे सामाजिक सञ्जालमा पच्छ्याउँदा र संसारभरी भएका नेपाली साहित्यिक गतिविधि नियाल्दा पनि एकदमै उत्साहप्रद, उपलब्धिमूलक रहे । 

साथसाथै त्यतिकै विकृति पनि साहित्य क्षेत्रमा देखा परेका छन् । जस्तो अलि पैसा हुनेहरूले आफूलाई अलि बढी साहित्यकार सावित गर्ने, त्यसको मापक भनेको पुरस्कार र सम्मानलाई बनाउने जस्ता प्रवृत्तिले पुरस्कार र सम्मानको पनि केही अवमूल्यन भएको देखियो । 

त्यसबाहेक सरकारले गरेको सम्मान, पुरस्कार र नियुक्तिले जीवन समर्पण गर्ने साहित्यकारहरूको पनि अवमूल्यन र अपमान भएको छ । 

एता लेखनको हिसाबले भने विभिन्न चोटिला, स्तरीय र गहकिला, उपलब्धिमूलक हो भन्ने खालका कृति आएका छन् ।

साहित्य सिर्जनाका क्षेत्रमा केही विकृति पनि आएको छ । जस्तो घोस्ट राइटिङमार्फत् व्यावसायिक रूपमा, अव्यावसायिक रूपमा देखिएर, नदेखिएर अलेखकहरूलाई लेखक बनाउने पेसाकै रूपमा पनि विकास भयो । यसले साहित्यिक योगदान पुर्याउँछ जस्तो लाग्दैन । किनकि त्यसमा रहर गर्ने मान्छे मात्र हुन्छन्, निरन्तर लेख्ने कहिल्यै पनि हुँदैनन् । 

नेपाल स्रष्टा समाजमा निर्वाचित भएर आएको करिब ६ महिनामा मेरो नेतृत्वले ११ वटा साहित्यिक गतिविधि गरिसकेको छ । पछिल्लो दुई महिनाभित्र पाँचवटा पुरस्कार अर्पण गरिसकिएको छ । पुरस्कारमा हामी सगौरव, विचार, व्यक्ति कुनै पक्ष नहेरी स्रष्टाको सिर्जना र योगदानलाई मात्र हेर्ने गरेका छौँ । 

नेपाल स्रष्टा समाजले कुनै कृति प्रकाशित गर्दैन । कहिलेकाहीँ समाजकै सदस्यहरूको कृति प्रकाशन गर्नुपर्यो भने मात्रै हो । तर पनि तीनवटा कृति प्रकाशित गरिसकेको छ । त्यस्तै दुईवटा पत्रिका प्रकाशित गरिसकेको छ । नेपालको वैचारिक साहित्यिक सङ्गठनहरूलाई छोडेर हेर्ने हो भने आजीवन सदस्य सङ्ख्याका हिसाबले नेपाल स्रष्टा समाज सबैभन्दा ठूलो साहित्यिक सङ्गठन हो । यस संस्थाले अन्तर्राष्ट्रिय सम्बन्ध पनि विस्तार गर्दैछ । 

घनश्याम न्यौपाने ‘परिश्रमी’ 

कुलपति, बर्दघाट प्रज्ञा प्रतिष्ठान 

२०७९ सालको वैशाख १ गते नै साहित्य संवद्र्धन केन्द्र नेपालबाट मैले द्रष्टा सम्मान प्राप्त गरेँ । त्यसैले पहिलो दिन नै मेरो सुखद् रह्यो । 

समालोचनाका करिब आधा दर्जन पुस्तक लेखिसकेको छु । २०४४ सालदेखि समालोचनामा कलम चलाएको हुँ । त्यसमा मैले द्रष्टाको रूपमा पहिलो पटक सम्मान प्राप्त गरेँ । 

साहित्यिक कार्यक्रमकै सिलसिलामा देशको राजधानीदेखि दूरदराज अनि भारतको सिक्किम र अलिगढसम्म पुगेँ । 

ghanashyamसाहित्यिक हिसाबले सुखद् रहे पनि यो वर्ष मैले आमालाई गुमाएँ, यही वर्षको भाद्र महिनामा । त्यसैले, पीडामय पनि रह्यो । तर त्यो समय मातृवियोगका रचना पनि तयार भए । मेरो आफ्नो अनुभूतिमा, मेरो आफ्नो अनुभवमा २०७९ साल साहित्यिक दृष्टिले उर्वर नै रह्यो । 

सिर्जनाका हिसाबले २०७९ सालमा मेरो ‘बहर र गजल’ कृति प्रकाशित भयो । गजल लेख्नका लागि सिकाउने एउटा सैद्धान्तिक कृति रहेको यसको सबै प्रति बिक्री भइसकेर पुनः प्रकाशनको माग भएको छ । 

यस वर्ष कृति प्रकाशनका दृष्टिले केही सिकारु कृति आएको छ । मैले नै विमोचन गरेका केही कृति सिकारु अवस्थाका छन् । केही कृति विशिष्ट खालका पनि छन् । 

यस्तै आख्यानका विशिष्ट कृतिहरू पनि आएका छन् । जसमा केही नवीन चेतनाका, नयाँ ढङ्गका खोज र अनुसन्धानका आख्यानका कृतिहरू पनि आएका छन् । त्यही स्तरका काव्य कृतिहरू पनि अएका छन् । तर सिकारु चरणका, आभ्यासिक किसिमका र मध्यमस्तरका कृति धेरै आएका छन् । 

म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कुलपति छु । मैले सञ्चालन गरेको भन्दा पनि नगरपालिकाले स्थापना गरेको प्रज्ञा प्रतिष्ठन हो यो । यो भर्खरै स्थापित संस्था भएकाले पुसमा मात्र पूर्णता पाएको छ । पूर्णता पाएपछि हामीले सम जयन्ती मनायौँ । 

यस्तै हामीले हरेक वडालाई समेट्ने गरी मासिक साहित्यिक घुम्ती कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसमा साहित्यिक, साङ्गीतिक र सांस्कृतिक विषयहरू समेटेर कार्यक्रम सञ्चालन गरेका छौँ । अस्ति चैत २५ गते त्यो कार्यक्रम सञ्चालन गर्यौँ । २०८० सालमा त्यो पनि सञ्चालन गर्नेछौँ । नयाँ वर्षको आरम्भमा नै हामीले साहित्यिक विधाका प्रशिक्षण, गोष्ठी गर्दैछौँ । अनि लुम्बिनी प्रदेशस्तरीय कवि गोष्ठी पनि गर्दैछौँ । 

२०७९ सालमा मात्रै नभनौँ त्यसभन्दा पहिले पनि साहित्यिक क्षेत्रमा केही विकृति देखिँदै आएका छन् । यहाँ पुरस्कार दुई तीन किसिमका छन् । एउटा निष्पक्ष पुरस्कार हुने गर्छ भने केही विशिष्ट संस्थाहरू छन्, जसले त्यस्ता पुरस्कार पनि दिने गरेका छन् । कुनै कुनै संस्थाले पुरस्कार आदानप्रदान पनि गर्ने गरेका छन् । यस्तो प्रवृत्ति पछिल्लो समय मौलाएको छ ।  

यस्तै प्रज्ञा प्रतिष्ठान गठनका सन्दर्भमा पनि केही कमीकमजोरी भए । यो केन्द्रीय सरकारले गरेको कुरा भए पनि केही असन्तुष्टि आए । यो पटकको प्रज्ञा प्रतिष्ठान गठनमा लेखक स्रष्टाहरू त परेका छन् तर समग्रमा प्राज्ञ बन्न लायक विशिष्ट विद्वानहरूको न्यूनता रह्यो । सिक्दै गरेका स्रष्टाहरू प्राज्ञ बनेर पुगे ।

समग्रमा भन्दा प्रज्ञामा स्रष्टा छन्, लेखिटोपल्ने स्रष्टाहरू छन् तर ती स्रष्टा प्राज्ञिक स्तरमा पुगेका छैनन् । राजन मुकारुङ र अमर न्यौपाने मदन पुरस्कार विजेता पनि हुन् । मदन पुरस्कार विजेताहरू राम्रो कृतिकार त हुनुभयो तर साँच्चिकै प्राज्ञिक व्यक्तित्व बनेको हो कि होइन ? त्यो मूल्याङ्कन सरकारले गर्न सक्नुपथ्र्यो । भाषा, साहित्य, कलाको संरक्षणका लागि स्थापित यो संस्थाबारे धेरैका असन्तुष्टि रहेका छन् । 

मदन पुरस्कार विजेतालाई प्रज्ञामा लैजानु स्वागतयोग्य भए पनि प्रज्ञा प्रतिष्ठानमा जाने भनेको प्राज्ञिक व्यक्तित्व नै हो । त्यस्ता मानिसमा बौद्धिकता पनि होस्, भाषा, साहित्य, कला, संस्कृतिका लागि अत्यन्त योगदान गर्न सकेको व्यक्तित्व होस् । त्यसमा केही कमजोरी रहे । 

राधेश्याम लेकाली

पूर्वअध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 

साहित्यिक क्षेत्रमा यो वर्ष केही विषम परिस्थिति बन्यो । आर्थिक मन्दी, कोभिड महामारीको अवशेष रहेकाले यी सबैको असर यस क्षेत्रमा पर्यो । त्यसैले पनि तुलनात्मक रूपमा विश्वभरि हुने साहित्यिक कार्यक्रमको स्तर र सङ्ख्या हेर्दा चाहिँ अलि कम भयो । 

केही निजी क्षेत्रका साहित्यिक संस्थाहरूबाट राम्रा कार्य भएको अवस्था छ । खास गरी केही स्थानीय निकायले पर्यटनलाई साहित्यसँग जोडेर पर्यटन साहित्य भनेर साहित्यिक कार्यक्रमहरू भएका छन् । 

जस्तै इलामतिर, विराटनगरतिर साहित्यिक भ्रमण तथा कार्यक्रमहरू भए ।  काठमाडौँमै पनि कतिपय नगरपालिकाहरूले गरे । कतिपय स्थानीय निकायले राम्रै बजेट छुट्याएर कार्यक्रम गर्नु साहित्यका लागि राम्रो उपलब्धि हो । 

radhe-shyam-lekaliअर्कोतर्फ साहित्यिक संस्थाहरू आर्थिक रूपमा धराशायी भए । साहित्यिक संस्थाहरूलाई राज्यले कुनै पनि किसिमको सुविधा दिन सकेन । यही बीचमा नेपाल प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारीहरू पनि आउनुभएको छ । उहाँहरूले अध्ययन गर्दै हुनुहोला । उहाँहरूका गतिविधि पनि आइसकेका छैनन् । 

अब प्रज्ञा प्रतिष्ठान नयाँ ढङ्गले चल्नुपर्छ । उहाँहरूले दोहोरो सरकारी सुविधालाई खारेज गर्नुभएको छ । अब प्रकाशनहरूलाई पनि प्राथमिकताका साथ अगाडि बढाउँछौँ भन्नु भएको छ । काम नहेर्दै मूल्याङ्कन नगरौं । 

गएको वर्ष अनुवाद क्षेत्रमा पनि सोचेजस्तो कार्य हुन सकेन । प्रकाशन खर्च महँगो हुने हुँदा अनुवाद धेरै कम भएको छ । निजी क्षेत्रकै प्रकाशनले पनि जुन अनुपातमा प्रकाशन गर्नुपथ्र्यो, लेखकहरूको चासोमा प्रकाशन भएका किताबहरूबाहेक कृति प्रकाशनको सङ्ख्या पनि हुन सकेन । तर पनि यो वर्षलाई उपलब्धिमूलक मान्नै पर्छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मैले केन्द्रीय अध्यक्ष छोडेपछि प्रकाश पौडेल माइलाका पालामा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुन सकेन । यस पटक गोवद्र्धन पूजाको पालामा एउटा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भयो । त्यो पनि विश्वभरिको उपस्थितिका हिसाबले चाहिँ त्यति प्रभावकारी भएन । तर अमेरिकाकै स्रष्टाहरूको उपस्थिति चाहिँ राम्रो भएको थियो । 

पहिलेको तुलनामा म संलग्न संस्थाको प्रकाशन पनि कम छ  । मैले अहिले हेरेका साहित्यिक पत्राशन र शङ्कर लामिछाने प्रतिष्ठान दुई संस्था छन् । शङ्कर लामिछाने प्रतिष्ठानबाट करिब दुई दर्जन पुस्तक विमोचन भए, दुई दर्जनभन्दा बढी कार्यक्रमहरू भए । 

त्यस्तै, पुस्तक सम्पादकलाई आजसम्म सम्मान कसैले गरेका थिएनन् । साहित्यिक पत्राशनबाट पहिलो पटक पुस्तक सम्पादकलाई पुरस्कृत गरिएको छ । दुई जनालाई सम्मान र दुई जनालाई पुरस्कृत गर्यौँ । 

साहित्यिक क्षेत्रमा अहिले व्यापक विकृति देखिन्छ । साहित्यकारहरूको आआफ्नो समूह छ । स्वार्थका हिसाबले पनि झुन्ड बनाइएको छ । यस्तै राजनीतिक हिसाबले पनि झुन्ड बनाइएको छ । क्षेत्रीयताका हिसाबले पनि त्यस्तै छ । अनि हरेक पुरस्कार र सम्मानहरू पारदर्शी छैनन् । पारदर्शी नहुने मात्र होइन, बार्टर सिस्टम (म तँलाई दिन्छु, तँ मलाई दे) पनि छ । 

विदेशबाट आएर प्रायःले एक ठाउँमा गर्दा हुने भए पनि देशैभरि विमोचन गर्दै हिँड्छन् । त्यस्ता कार्यक्रम हुँदासम्म मात्र त्यो किताबको चर्चा परिचर्चा हुने गर्छ, त्यसपछि हराएर जान्छ । 

पछिल्लो समय साहित्यिक क्षेत्रमा सम्पन्नताको खास्टो ओड्ने प्रवृत्ति मौलाएको छ । पुस्तक पनि तामझामका साथ सम्पादन गराउने, धेरैलाई भूमिका लेखाउने, ठूलो कार्यक्रम गरेर विमोचन गराउने, देशैभरि चर्चा परिचर्चा गराउने प्रवृत्ति मौलाएको छ । 

केही साथीहरूले बल्लबल्ल एउटा पुस्तक प्रकाशन गराउने तर विमोचन गराउने अवस्था पनि हुँदैन । चर्चा परिचर्चाको कुरा त परै जाओस् । यसरी एउटा वर्गीय विभेद पनि हामीसँग छ । वर्गीय विभेदले पनि नेपाली साहित्य स्वतःस्फूर्त रूपमा अगाडि बढ्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप