मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन र तनहुँको सन्देश : कांग्रेस, एमाले र माओवादी नेतृत्व ‘सक्किन’ तयार हौ !

मङ्गलबार, १२ वैशाख २०८०, १६ : ४८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । ‘मतदाताले ठूला दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)लाई कि सच्चिनुपर्छ कि सक्किनुपर्छ भनेका हुन्,’ चितवन– २ बाट उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले मंगलबार चितवनको अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘हामीलाई सक्किन मन छैन, त्यसैले अब सच्चिने नै हो,’ उनले भने, ‘हामी हाम्रो पार्टीलाई सच्चाउँछौँ र पार्टीभित्रका कमी–कमजोरी पनि हटाउँछौँ ।’

उपनिर्वाचनले चितवन र तनहुँमा जस्तो मत परिणामपछि देखायो, युवा उम्मेदवार श्रेष्ठसँगै कांग्रेस–एमालेका अन्य नेता तथा कार्यकर्ताले अब ‘सच्चिने कि सक्किने ?’ भन्ने प्रश्न तेस्र्याइरहेका छन् । यो उपनिर्वाचनको सन्देशलाई बुझेर ७० वर्षे राजनीतिक इतिहास बोकेका पुराना राजनीतिक दल सच्चिन तयार होलान् त ? राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनाल तनहुँ– १ र चितवन– २ दिएको मत परिणामको विश्लेषण गर्दै भन्छन्, ‘जनता कहिल्यै पनि एउटै पार्टीका हुन सक्दैनन् र उनीहरु व्यवहारमै परिवर्तन चाहन्छन् ।’ कांग्रेस, एमाले र माओवादी नेतृत्व मंसिरको नतिजाबाट पनि नसच्चिएकाले यसपालि जनताले अझ ‘रिजेक्ट’ गर्न चाहेको उनको बुझाइ छ ।

चितवन र तनहुँमा आएको फेरबदल

गत मंसिरमा चितवन– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतसहित निर्वाचित भएका थिए । त्यतिबेला रविका निकटतम प्रतिस्पर्धी (सत्ता गठबन्धनका साझा उम्मेदवार) उमेश श्रेष्ठ १४ हजार ९८८ मतसहित दोस्रो स्थानमा र नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १४ हजार ६५२ मतसहित तेस्रो स्थानमा थिए । 

नागरिकता काण्डसँगै रविको सांंसद् लगायत पद गएपछि भएको उपनिर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारको मत मंसिरको तुलनामा घटेको छ । त्यतिबेला रविले ४९ हजार ३०० मत पाउँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । 

chitwan-1

यसपालिको उपनिर्वाचनमा रविले ५४ हजार १७६ मत पाउँदा कांग्रेस र एमालेका उम्मेदवारले जीतनारायण र रामचन्द्र न्यौपानेले क्रमशः ११ हजार दुई सय १४ र १० हजार ९३६ मत मात्र प्राप्त गरे ।  यस हिसाबले यसपालि रविले पाएको मत झन्डै पाँच हजार (४,८७६ मत)ले बढी छ । 

चितवनमा मात्रै होइन, तनहुँमा समेत मतदाताको रुझान पुराना दल र तिनका नेताप्रति भन्दा नयाँ दलका उम्मेदवारमै बढी देखियो । विगतका निर्वाचनमा कांग्रेसले इतिहास रचेको र त्यसमाथि राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र रहेको तनहुँ– १ मा निर्वाचनको केही समयअघि मात्रै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले भारी मतका साथ निर्वाचित भए । वाग्लेसँग कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई १४ हजार ७९७ मतान्तरले पराजित भए । वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दा भट्टराईले २० हजार १२२ र एमाले उम्मेदवार सवेन्द्र खनालले ८ हजार ४८८ मत पाए । 

जबकि मंसिर ४ को चुनावमा तनहुँ– १ बाट कांग्रेसका पौडेल २५ हजार ३६१ मतसहित निर्वाचित हुँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए । यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४ मत पाएका थिए । उपनिर्वाचनमा भने जोशी समूहसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाको २२ हजार २२९ मत रास्वपाले आफूूतिर तानेको छ । माओवादी, एकीकृत समाजवादी, जनमोर्चा, जसपा र नेसपाको साथ पाएको कांग्रेसले मंसिरमा पाएकोमध्ये पाँच हजार २२३ मत गुमाएको छ । संगठित कार्यकर्ता रहेको एमालेबाट समेत योपटक रास्वपाले ११ हजार ४९३ र राप्रपाको दुई हजार २५० मत खोसेको छ । 

tanahu-2

यद्यपि यस उपनिर्वाचनमा कुनै दलको सिट घट्नु र बढ्नुले संसद, सरकार र राजनीतिक समीकरणमा खासै प्रभाव पार्दैन । राजनीतिक विश्लेषक खनाल भन्छन्, ‘फेरि पनि यसको सन्देश ठूलो छ । यो मत अर्को चुनावसम्मका लागि रास्वपालाई परीक्षा हो भनेर बुझ्नुपर्छ ।’

वाम विश्लेषक तथा नगारिक अगुवा श्याम श्रेष्ठ उपनिर्वाचनको मतपरिणामले तीनवटा तथ्यलाई औँल्याउने बताउँछन् । ‘जस्तो : यो परिणाम ठूला दलप्रतिको चर्को वितृष्णा हो । उनीहरूको समाप्तितर्फको यात्रालाई पनि यसले संकेत गर्छ । र परिवर्तन एजेन्डाका लागि मात्र नभएर नेतृत्वका लागि पनि हो भन्ने पुराना दलहरूले बुझ्न सकेनन् भन्ने यस मत परिणामले संकेत गरेको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार, आमजनताको जनमत परिवर्तनको खोजीमा देखिन्छ । खनाल र श्रेष्ठको विश्लेषण उनीहरूकै शब्दमा :

कांग्रेस, एमाले र माओवादी नेतृत्व मंसिरको नतिजाबाट सच्चिएकै छैनन्, सच्चिन तयार छैनन्, सुधार हुँदैनन् र मतदाता उनीहरूलाई रिजेक्ट गर्न चाहन्छन् ।

नेतृत्व रिजेक्ट गर्न चाहन्छन् : खनाल

उपनिर्वाचनमा आएको नतिजा अनपेक्षित होइन, अपेक्षित नै हो । उपनिर्वाचनको परिणाम मोटामोटी रूपमा गत मंसिरको चुनावकै परिणामको बढोत्तरीसहितको निरन्तरता हो ।

अघिल्लो चुनावमा मतदाताले यो पार्टी त्यो पार्टी नभनी पुराना दलबाटै पनि केही राम्रा युवा खोजेका थिए । त्यतिबेला काठमाडौँमा रास्वपाको जुन वेभ थियो, त्यसका बाबजुद कांग्रेसका प्रदीप पौडेल, गगन वा विश्वप्रकाशकै विजयलाई उदाहरण मान्न सकिन्छ । त्यसबेला कांग्रेस–एमालेका युवालाई जनताले एक हदसम्म स्विकार्छन् भन्ने देखिन्थ्यो । 

यसपटक मंसिरको भन्दा मतदातामा त्यो रुझान सघन रूपमा देखियो । यो पुराना दलका नेतृत्वमाथि मतदाताको कठोर निर्णय हो । प्रधानमन्त्रीसहित सबै पूर्वप्रधानमन्त्री लाइन लागेर भोट माग्न गएका ठाउँमा गठबन्धनका पक्षमा आएको नतिजा लाजलाग्दो छ । उनीहरूले मन्त्री बनाउने, यो गर्ने, त्यो गर्ने भनी आचारसंहिताकै नाङ्गो उल्लंघन गरी भोट मागेका थिए । त्यसको झन् उल्टो असर पर्यो । 

कांग्रेसको गढ समेत मानिएको तनहुँकै सन्दर्भमा, पार्टीको पृष्ठभूमिबाट हेर्दा स्वर्णिमको भन्दा गोविन्द भट्टराईकै बढी लगानी देखिन्छ । भट्टराईका बारेमा अहिलेसम्म कुनै नकारात्मक टिप्पणी भएका छैनन् । 

चितवनमा पुराना दलबाट युवा उम्मेदवार थिए । तर किन पहिलाको भन्दा मत घट्यो ? यसबाट यो भन्न सकिन्छ– कांग्रेस, एमाले र माओवादी नेतृत्व मंसिरको नतिजाबाट सच्चिएकै छैनन्, सच्चिन तयार छैनन्, सुधार हुँदैनन् र मतदाता उनीहरूलाई रिजेक्ट गर्न चाहन्छन् । जनताबाट नेतृत्वकै परिवर्तन खोजिएको छ । मतदाताले अहिले तिमीहरूले नेतृत्व छोड्नैपर्छ भनेका हुन् । 

मतदाताले पुराना पार्टीहरुलाई सच्चिन भनेका छन् भने पुरानो नेतृत्वलाई सक्काउन खोजेका हुन् । नेतृत्वको सन्दर्भमा अब सच्चिने ठाउँ छैन, सक्किनैपर्छ । तर पार्टीका हकमा पुरानो नेतृत्व हट्नेबित्तिकै पार्टी सच्चिनुपर्यो भन्ने जनताको सन्देश देखिन्छ । 

जनताको मत किन यसरी अभिव्यक्त भयो ? यसमा आर्थिक विचलन, कुशासन जोडिएको छ । सत्ताधारीले सत्ताबाहिर आफूलाई व्यापक असुरक्षित ठानेका छन् । त्यही असुरक्षाको भावनाबाट ग्रसित भएकाले उनीहरू नेतृत्व छाड्नै चाहँदैनन् । छाडेपछि भोलि मलाई सिध्याउँछन् भन्ने भय नेतृत्वलाई छ । तर जनताले उनीहरूलाई परिवर्तन गर्न चाहेका छन् । 

राम्रो पक्ष के छ भने, यी सबै कुरा यही सिस्टम भित्रैबाट भइरहेको छ । यसबाहिर कोही गएको छैन । कांग्रेस–कम्युनिस्टले हामी मात्रै राम्रो भनेर व्याख्या गर्नु बेग्लै कुरा हो । रास्वपाकै कुरा गर्दा उसले संविधान प्रतिकूलको कुनै कुरा गरेको छैन । गएको चुनावमा प्रदेश चाहिँदैन भने पनि चुनावपछि प्रदेश चाहिँदैन भनेको सुनिएको छैन ।

हाम्रो ७० वर्षदेखिको इतिहास छ, हामी यति वर्ष जेलनेल बसेका छौँ भनी पुराना दलले भनेको अब जनताले पत्याउँदैनन् । कांग्रेस र एमालेको इतिहास छ, तर देउवा–ओलीको इतिहासले मात्रै परिवर्तन हुने होइन भन्ने जनताले बुझिसकेका छन् । त्यसैले कथित आइडियोलजीबाट पुराना दल पछि हट्न जरुरी छ ।

यद्यपि यो उपनिर्वाचनको नतिजाले सत्ता, संसद वा सरकारमा गणितीय हिसाबमा त्यति प्रभाव राख्दैन । परिवर्तन पनि केही हँुदैन, तर यसको सन्देश भने निकै ठूलो छ । अर्को चुनावसम्मका लागि रास्वपाको पनि परीक्षा हो भनेर बुझ्नुपर्छ । 

मंसिरको निर्वाचनबाटै पुराना दलहरूलाई मतदाताले सच्चिन संकेत गरे पनि उनीहरू सच्चिनतिर लागेनन्, उल्टै सक्किनतिर लागे भनी मत परिणामले भन्छ ।

नसुध्रे समाप्ति निश्चित : श्याम श्रेष्ठ

यस उपनिर्वाचनमा चितवन र तनहुँका उम्मेदवारलाई आएको मतलाई विश्लेषण गर्दा तीनवटा कुरा देख्न सकिन्छ । पहिलो, पुराना र ठूला दलप्रति मतदाताको वितृष्णा यति चर्को छ कि सबै मिल्दा पनि नयाँ दलले जित्ने स्थिति आउनु वितृष्णाकै प्यारामिटर हो ।

दोस्रो, दलहरू सुध्रेनन् भने समाप्ति निश्चत छ भन्ने देखाउँछ । तेस्रो, आमजनताको जनमत परिवर्तनको खोजीमा छ । परिवर्तन एजेन्डामा अहिले भएका दलहरू आउँदैनन् र परिवर्तन भनेको एजेन्डाका लागि मात्रै होइन, नेतृत्वका लागि पनि हो भन्ने बुझेनन् भने पुरानाको भविष्य छैन भन्ने हो ।

पुराना दलप्रति मतदाताको वितृष्णा बढ्नुको कारण हो, उनीहरुले देखिने गरी कामै गरेनन् । उनीहरूले राजनीतिक परिवर्तनको अनुभूति गराए, तर त्यस मुताबिक आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन देखाउन सकेनन् । आचरण पुरानै, थोत्रो र पञ्चायती भयो । घोषणापत्र एउटा र कार्यान्वयन अर्को हुँदा पर्फर्मेन्स जिरो भयो । गरिब र गरिखाने वर्गसम्म रूपान्तरणको कार्यक्रम नै पुगेन । 

मंसिरको निर्वाचनबाटै पुराना दलहरूलाई मतदाताले सच्चिन संकेत गरे पनि उनीहरू सच्चिनतिर लागेनन्, उल्टै सक्किनतिर लागे भनी मत परिणामले भन्छ । उनीहरु न नेतृत्व हस्तान्तरण गर्न तयार भए, न त परिवर्तनको एजेन्डा ल्याउन वा गरिब गरिखाने वर्गको रूपान्तरणतिर नै लागे । यही प्रवृत्ति रहे पुराना भन्दैमा भविष्य नजोगिने र आगामी निर्वाचनमा योभन्दा ठूलो धक्का व्यहोर्नुपर्ने संकेत मतदाताले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप