आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
१५ दिने अल्टिमेटम

शेष घलेसहित १८ जनालाई एनआरएनएले किन काट्यो ‘चेतावनीयुक्त’ पत्र ?

सोमबार, ०१ जेठ २०८०, १७ : ५०
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको लोगो दुरुपयोग बढ्दै गएको भन्दै कानुनी कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । विशेषगरी एनआरएनए संस्थापनबाट विद्रोह गरेको एक समूहले निरन्तर उही लोगो र लेटर हेड प्रयोगमा ल्याएर भ्रम सिर्जना भएको भन्दै त्यसलाई निरुत्साहित गर्न कानुनी प्रक्रिया अघि बढाउन लागिएको संघले जनाएको छ । 

हालैमात्र आफ्नो उद्देश्यअनुसारको कार्यको सहजताका लागि एनआरएनएले उद्योग विभागबाट संस्थाको नाम, लोगो, लेटर हेडलगायतको छुट्टाछुट्टै ट्रेडमार्क पाएको थियो । 

ट्रेडमार्क पाएसँगै एनआरएनएले आफ्नो नाम, लोगो र लेटर हेड दुरुपयोग हुनबाट जोगाउन आवश्यक पहल थालेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविकिरण अधिकारीले जानकारी दिए । सुरुमा आफूहरूले हाल दुरुपयोगमा संलग्नहरूलाई सचेत गराउन पत्राचार गरेको र १५ दिनको अवधिमा पनि अटेर गरेमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने अधिकारीको भनाइ छ । 

संघले पूर्वअध्यक्ष तथा अस्ट्रेलियामा धनाढ्यको सूचीमा रहेका मध्येका एक शेष घले र समानान्तर एनआरएनए खडा गरेर अध्यक्ष बनेका विनोद कुँवरसहित १८ जनालाई पत्र काटेको छ । घलेकै नेतृत्वमा गत वर्ष एनआरएनए विभाजन भएर कुँवरको अध्यक्षतामा नयाँ एनआरएनए खडा भएको थियो । 

यस्तै जानकी गुरुङ, थर्क सेन, उमेश पुडासैनी, बाबुराम लामा, सुरेन्द्र सिग्देल, भोमा लिम्बु, जुना गुरुङ, कृष्ण केसी, धर्मराज खतिवडा, डिलाराम खरेल, प्रकाश धमला, दीपेश खत्री, केशव कँडेल, कृष्ण पोखरेल, उल्का घिमिरे, राजेश शमशेर राणाको नाममा पनि एनआरएनए केन्द्रीय कार्यालय बालुवाटारबाट पत्र काटिएको अधिकारीले जानकारी दिए । उनीहरू अधिकांश एनआरएनएको विद्रोही अर्थात समानान्तर  समूहमा आबद्ध रहेका छन् । उनीहरुले एकै लोगो र लेटरहेडमार्फत आफ्नो गतिविधि गर्दै आएका छन् । 

ट्रेडमार्क अनधिकृत र गैरकानूनी रूपले प्रयोग गरेमा कानुनी सजाय हुने व्यवस्था रहेको छ । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुसार कुनै कम्पनी वा संस्थाको नाममा रहेको ट्रेडमार्क झुक्किने गरी वा सरोकारवालाई भ्रम सिर्जना हुने गरी कसैले प्रयोग गर्नु गैर कानुनी हुने उल्लेख छ । 

यस्तै पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ ले संघको नाममा दर्ता रहेका ट्रेडमार्क अन्य व्यक्ति वा संगठित संस्थालाई नक्कल वा प्रयोग गर्नका लागि बन्देज गरेको अधिकारीले बताए । 

उनले भने, ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा २५ ले यस संघको  ट्रेडमार्क अनधिकृत र गैरकानूनी रूपले प्रयोग गरेमा कानुनी सजायको व्यवस्था गरेको छ ।’

td

उनले संघको ट्रेडमार्कको प्रयोग गरी बनाइएको छाप लेटर हेडलगायतका सामाग्री वा वस्तु नष्ट गरी सोको जानकारी १५ दिनभित्र दिन सूचित गरिएको छ । यस्तै ट्रेडमार्क नक्कल गरी प्रयोग, उपभोग र चलन नगर्ने प्रतिबद्धता पनि माग गरिएको छ । 

१५ दिनपछि पनि ट्रेडमार्क अनधिकृत र गैरकानूनी रुपमा प्रयोग, उपभोग र चलन गरी रहेमा यस संघले कानुनी प्रक्रिया मार्फत ट्रेडमार्क सुरक्षित गर्न बाध्य हुने पत्रमार्फत चेतावनी दिइएको छ । 

एनआरएनएको दशौँ विश्व सम्मेलनका क्रममा प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै लामो समय नयाँ नेतृत्व चयन नै प्रभावित भएको थियो । तत्कालीन अवस्थामा शेष घले–कुल आचार्यसहितको समूहले निरन्तर तत्कालीन नेतृत्वविरुद्ध गतिविधि गर्दै आएको थियो । 

कांग्रेस निकट मानिने उनीहरुले सरकारी संयन्त्रको प्रयोग गरेर महाधिवेशन नै हुन नदिएको आरोप लागेको थियो ।

 तर, अन्तिम समयमा गत वर्षको चैतमा कुल आचार्य संस्थापन समूहमा मिसिन पुगेसँगै संस्थाको दशौँ विश्व सम्मेलन भयो । यद्यपि एनआरनएनए भने विभाजित भइछाड्यो । त्यतिबेला नै घलेले आफू संरक्षक भएर विनोद कुँवरलाई नेतृत्वमा ल्याएर संस्था समानान्तर रुपमा चलाए । यसैगरी संस्थापनले भने तीन अध्यक्ष (कुल आचार्य, रविना थापा र बद्री केसी) सहितको जम्बो कमिटी घोषणा गरेको थियो । 

विश्वभरका नेपालीहरूको साझा संस्था भनिने एनआरएनए विभाजित भएसँगै अभियान नै सङ्कटमा पर्न सक्ने भन्दै सबै पक्ष एकजुट हुनुपर्ने आवाज एनआरएनएका फोरमहरूमा उठ्दै आएका छन् । सोही आवाज बमोजिम पटक पटक दुई एनआरएनएबीच एकीकरणको पहल भए पनि हालसम्म मूर्तरूप लिन सकेको छैन । बरु बालुवाटारबाट १५ दिनको अल्टिमेटमसहित पत्राचार भएपछि थप द्वन्द्व बढ्न सक्ने कतिपयको आँकलन  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप