शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ

कुन पालिकामा कसको अवस्था के छ ?
शनिबार, १५ वैशाख २०८१, २० : ३६

इलाम । इलाम-२ उपनिर्वाचनका उम्मेदवारहरूको भाग्य र भविष्यको फैसला मतपेटिकामा सिल भएको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेको समय सीमाभित्र ६० प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार  उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । 

इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन छ ।

उपचुनावको रिपोर्टिङका लागि इलाम २ का गाउँबस्ती एक सातासम्म डुल्दा रास्वपा र पहिचानवादीको जर्बजस्त उपस्थितिले चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको देखिन्थ्यो । स्थायी प्रतिद्वन्द्वी एमाले र कांग्रेसको मैदानमा रास्वपा र पहिचानवादीको प्रवेशले मतान्तरमा रोमाञ्चकता थप्नेछ । एमाले, कांग्रेस, रास्वपा, पहिचानवादीले प्रतिष्ठानको विषय बनाएको उपचुनावमा रणनीति र गणितीय लेखाजोखा पनि गरेका थिए ।

कांग्रेस र एमाले विगतको मत जोगाउने धुनमा थिए भने रास्वपा र पहिचानवादीको ध्येय कांग्रेस र एमालेको जनमतको जग हल्लाउनेमा थियो । एमालेबाट अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा २ पटक पुगे । एमालेलाई समर्थन गरेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने इलाममा आगमन भएन ।

यता कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्माले इलाममै अड्डा जमाए । कांग्रेस सभापति शेरबहादुर देउवा इलाम नपुगे पनि अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि दुई–दुई पटक इलाम पुगेर रुखमा मत माग्न भ्याए ।

रास्वपाको सिङ्गो पार्टी नै इलाम केन्द्रित थियो । पहिचानवादी उम्मेदवार थेगिमको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ दाह्रो गरी उभिए । कलाकर्मी र नागरिक अभियन्ताको पनि थेगिमले साथ पाए । उनीहरूले आफ्नो पक्षमा परिणाम निकाल्न प्रचार–प्रसारसँग चुनाव रणनीतिक पनि बनाएको देखिन्थ्यो ।

एमाले–माओवादीको गठबन्धन बन्दा विगतको मतले पछाडि रहेको कांग्रेसले रणनीतिक पाटो बलियो बनाएको थियो । एमाले र कांग्रेसको कमजोरीलाई क्यास गरेर चुनाव आफ्नो पक्षमा पर्ने रास्वपाको दाउ थियो । कोशी प्रदेशको नामकरणको विद्रोहमा उत्रिएका पहिचानवादीलाई जातीय बल देखिन्थ्यो । सबै उम्मेदवारहरू गणितीय हिसाब किताब मिलाउन पनि तल्लीन थिए । 

  • कुन पालिकामा कसको अवस्था के छ ?

इलाम नगरपालिका ११ वडामा कुल मतदाता ३४ हजार ४५ छन् । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने ११ मध्ये कांग्रेसले ८ र एमालेले ३ वटामा जितेको छ । कांग्रेसले १, ४, ५, ६, ७, ८, ९ र १२ मा वडाध्यक्ष जितेको थियो भने २, ३ र ११ वडामा एमाले जितेको छ । पालिका प्रमुख पनि जितेको कांग्रेसको इलाम नगरपालिकामा सांगठनिक मत बलियो छ । 

इलाम नगरपालिका ७ को सुन्तलाबारी सुहाङ नेम्वाङको स्थायी घर छ । नेम्वाङकै घर भएको वडामा कांग्रेसले जितेको छ । यहाँ रास्वपाले कांग्रेसको केही मत खोस्दा एमालेलाई राहत हुने छ । यद्यपि इलाम नगरपालिकाका मतदाता रास्वपाको पक्षमा अन्तिम दिनसम्म पनि खुलेका भने छैनन् । इलाम नगरपालिकामा आफ्नो मत जोगाउन कांग्रेस रणनीतिक रूपमा लागि परेको थियो । कांग्रेसले त्यहाँका ११ वटै वडामा कोशी प्रदेशका नेता कार्यकर्तालाई खटाएको थियो । एमाले र रास्वपाका नेताहरू पनि दिनभर अन्य ठाउँमा चुनावी प्रचार गरे पनि राति इलाम बजारमा खटिन्थे । 

देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ मतदाता छन् । देउमाईका ९ वडामध्ये १, २, ४, ५ र ८ गरी एमालेले ५ वडामा जितेको छ । त्यस्तै, ३, ६, ७ र ९ मा गरी ४ वटा कांग्रेसले जितेको छ । मेयरसमेत जितेको यहाँ कांग्रेसभन्दा एमाले बलियो छ । इलाम नगरपालिकामा कांग्रेसले बढाउने मतान्तरमा देउमाईबाट ब्रेक लगाउने एमाले नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीको तालमेल हुँदा पनि एमालेले देउमाईमा प्रभाव जमाएको देखिन्थ्यो ।

अहिले माओवादीले एमालेलाई नै समर्थन गरेको छ । देउमाईको मंगलबारे बजारमा अध्यक्ष केपी शर्मा ओलीलाई उभ्याएर शक्ति प्रदर्शन पनि गरेको थियो । त्यहाँ कांग्रेस र रास्वपाले पनि देउमाइमा एमालेको वर्चस्व भत्काउन अन्तिम धक्का दिने छन् ।

इलाम र देउमाईपछि धेरै मतदाता भएको चुलाचुली गाउँपालिका दलहरूको ध्यान केन्द्रित थियो । १८ हजार ५ सय ४५ मतदाता रहेको चुलाचुलीलाई कांग्रेसले आफ्नो गढ मान्छ ।

स्थानीय निर्वाचनमा यहाँका ६ मध्ये ५ वटा कांग्रेस एक्लैले जितेको छ । २, ३, ४, ५ र ६  वडाध्यक्ष कांग्रेसले जित्दा एमाले मुख्य प्रतिस्पर्धी थियो । कुनै पनि वडा नजितेको एमालेले उपाध्यक्ष भने जितेको छ । वडा नम्बर १ मा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेको छ । चुलाचुलीमा कांग्रेस र एमालेलाई पुरानो मत जोगाउन हम्मे हम्मे पर्ने देखिएको छ ।

वैशाख ११ मा कांग्रेस र रास्वपा केन्द्रित भएको चुलालुलीमा १२ गते एमाले र पहिचानवादी स्वतन्त्र उम्मेदवारको अन्तिम धक्का दिन पुगे । एमालेले चुलाचुली २ र पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिम ४ नम्बर वडामा शक्ति प्रदर्शन गरेका थिए । यहाँ एमाले र कांग्रेसलाई स्वतन्त्र उम्मेदवार थेगिमको थ्रेट बढ्ता छ ।

आदिवासी जनजातिको बाहुल्यता भएको चुलाचुलीमा पहिचानवादी उम्मेदवार थेगिमतिर ढल्किन खोजेको मत थेग्न कांग्रेस र एमालेले जोरजुलम गरिरहेका छन् । स्थानीय तहको मतका आधारमा ३ हजारले अगाडि कांग्रेसले आम निर्वाचनमा ३ सयले पछाडि परेको थियो । त्यसैले कांग्रेसबाट ११ गते नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा यहाँ पुगेका थिए । कांग्रेसमा संस्थापन इतर पक्षको बाहुल्य भएको चुलाचुलीमा रणनीतिक रूपमा शेखरलाई बोलाइएको देखिन्थ्यो । 

फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ जना मतदाता छन् । यहाँका वडा नम्बर ३, ५ र ६ गरी ३ वडा एमालेले जित्दा १, २, ४ र ७ गरी ४ वडाअध्यक्ष कांग्रेसले जितेको छ। यहाँ अध्यक्ष र उपाध्यक्ष एमालेले जिते पनि समग्र भोट कांग्रेसको बढी छ । स्थानीय तहमा कांग्रेससँग रहेको माओवादी अहिले एमालेको साथमा हुँदा फाकफोकथुममा दुवै पार्टीको मत उस्ता उस्तै हुन पुग्छ ।

नेताहरूका अनुसार कांग्रेस र एमालेको असन्तुष्ट मत एक अर्काका खनिने नभई रास्वपा र मुढा विकल्प बनेको छ । फाकफोकथुम–३ मा स्वतन्त्र उम्मेदवार थेगिमको घर समेत भएकाले यहाँ आफ्नो मत जोगाउन एमालेलाई कठिन छ । त्यो क्षेत्रका विद्यालयमा लामो समय अध्यापन गराएका थेगिम पालिकाका राम्रै प्रभाव छ । हिजो एमाले जिताउन उभिने उनी अहिले एमालेको मत खोस्नु तम्सिएका छन् । यहाँ कांग्रेसलाई भन्दा बढी एमालेको मत मुढामा जाने आङ्कलन गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकामा कांग्रेस र एमाले मुढासामु रक्षात्मक देखिन्छन् ।  १२ हजार ५ सय ३६ मतदाता रहेको माङ्सेबुङमा ६ वटा वडा छन् । एमालेले १, २, ४ र ६ गरी ४ वडाध्यक्ष जित्दा माओवादी केन्द्रले ३ र राष्ट्रिय जनमुक्ति पार्टीले ५ मा वडाध्यक्षमा जित हात पारेको थियो ।

माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको ठुलो प्रभाव छ । त्यहाँको २ हजार ७  मत धर्मगुरु लिङ्देनको इशारामा चलायमान हुने बताइन्छ । २ हजार मतदाता रहेको यो वडामा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई एक्लैले ८३७ मत ल्याएका थिए ।

खरायो चुनाव चिह्न लिएर सुव दल सेलिङ पनि स्वतन्त्र उठेका थिए । तर अन्य दलबाट त्यहाँ उम्मेदवारी परेको थिएन । धर्मगुरु लिङ्देनले सोमबार थेगिमको पक्षमा रहेको सन्देश दिएपछि यसपटक पहिचानको पक्षमा त्यहाँको मत जाने निश्चित जस्तै छ । पालिकाको वडा नम्बर ५ को मत धर्मगुरु फाल्गुनन्दका चेला आत्मानन्द लिङ्देनको पकडमा छ । त्यहाँ २ हजार ७ जना मतदाता  धर्मगुरु लिङ्देनकै इसाराबाट मत खसाउने गरेको चर्चा छ । 

उपाध्यक्ष जितेको जसपा र वडाध्यक्ष जितेको राष्ट्रिय जनमुक्ति पार्टी पनि थेगिमको साथमा छ । यहाँबाट प्रमुख दललाई मुढाले राम्रै घुडा टेकाउने थेगिमको विश्वास छ । यही पालिकाको वडा नम्बर २ मा रास्वपा उम्मेदवार मिलन लिम्बुको पनि घर छ । माङ्सेबुङका वडा नम्बर २ को धेरैजसो भोट घण्टीतिर जाने देखिन्छ । 

इलाम–२ मा माई नगरपालिकाका तीनवटा वडा पर्छन् । वडा नम्बर ६ मा कांग्रेस जित्दा ७ र ८ मा एमालेले जितेको छ । यी तीन वडामा कुल ८ हजार ९६ मतदाता छन् । समग्रमा यहाँ बलियो अवस्थामा देखिन्छ । तर, सुहाङलाई टिकट दिएपछि बुद्धि खनाल रुष्ट छन् । लामो समय सुवास नेम्वाङ स्वकीय भएर काम गरेका खनालको माई नगरपालिका ३ वटै वडामा राम्रो प्रभाव छ । ७ नम्बर वडाका अध्यक्ष समेत रहेका खनाल सुहाङको पक्षमा खुलेर नलागेको देखिन्छ ।

तर माओवादी केन्द्रका पनि साथ पाएपछि सुहाङलाई यहाँबाट लिड गर्न गाह्रो छैन । यद्यपि रास्वपा र मुढाले प्राप्त गर्ने मत कति रहन्छ भन्नेले अर्थ राख्छ । यी वडाहरूमा पहिचान पक्षधरको पनि राम्रै प्रभाव देखिन्छ । 

‘मुढा’ले फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिकालाई आधार क्षेत्रको रूपमा लिएको छ । यता रास्वपामा पनि चुलाचुली, इलाम, देउमाई र माङ्सेबुङबाट राम्रो मत पाउने आशा देखिन्छ । कांग्रेस र एमाले उक्त क्षेत्रमा आफ्नो विगतको मत जोगाउन लाग्नुले उपनिर्वाचनमा रौनकता थपेको छ । चुनावी परिणामले कडा टक्करका बिच ३ वर्षका लागि नयाँ सांसद संघीय राजधानी काठमाडौँ पठाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप