बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
महोत्तरी आगलागी

मटिहानी आगलागी पीडितहरूको गुनासो : चार रात भो सुत्नै पाएका छैनौँ

शनिबार, १५ वैशाख २०८१, ११ : ४१
शनिबार, १५ वैशाख २०८१

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका आगलागी पीडितहरूको बिचल्ली भएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि उनीहरू चार रातदेखि बाहिरै छन् ।   अत्यधिक गर्मीले समेत उनीहरूलाई सताएको छ । मधेश प्रदेशको (४० डिग्रीमाथि)को चर्को घाममा  उनीहरू त्रिपालभित्र बसेर दिन र रात काटिरहेका छन् ।

मटिहानी नगरपालिका ६ मा बसोबास गर्ने उनीहरू बुधवारदेखि बाहिरै छन् । अगालागी पीडितहरूले अत्यधिक गर्मीका कारण रातभरि निद्रा नलाग्ने दुःखेसो पोखे । पीडित २५ वर्षीय अजमेरी खातुनले रातभरि सुत्न गाह्रो भइरहेको बताइन् । उनको घर आगलागीमा परेर पूर्णरुपमा नष्ट भएको छ ।

उनले भनिन्, ‘गर्मी बढी छ, पङ्खा जलेर नष्ट भएको छ । त्रिपालभित्र बस्दा निन्द्रा लाग्दैन, बच्चाहरू प्नि रोइरहेका हुन्छन्, म पनि रातभर जागेर नै बिहान हुन्छ, बिहान ५ बजेपछाडि अलि शीतल भएपछि एक छिन सुत्छौँ । त्यो पनि केही समयका लागि ।’ बिहान १० बजे पछाडि घटना बुझ्न र हेर्न मान्छे आउन थालेपछि सुत्नै नपाइएको गुनासो उनको छ ।  

खातुनका ७ भाइ बहिनी र एक छोरीसहित आमा बुवा पनि त्यही सुत्छन् ।  पछिहारी टोलका ७३ वर्षीय सलिम नदाबको भनाइ पनि अजमेरीको भन्दा फरक छैन ।  घरमा भएको खाद्यान्नदेखि सबै लत्ताकपडा जलेर नष्ट भएपछि उनी पनि चार दिनदेखि बाहिर त्रिपालमुनि दिन र रात कटाइरहेका छन् । उनले पनि राम्रोसँग सुत्न नपाएको गुनासो गरे । 

IMG_2

उनी जलेको घर अगाडि त्रिपाल टाँगेर बसेका छन् । ‘कोही आउँला, हाम्रो घर पहिलाको जस्तै बनाइदेला भन्ने आशामा दिन काट्ने दैनिकी बनेको छ,’ ज्येष्ठ नागरिक नादाबले भने । 

सोही टोलकी १२ वर्षीया प्रवीण खातुनले पनि आफूहरू निकै कष्ट सहेर बसिरहेको बताइन् । उनले भनिन्, ‘बिहानको समयमा अलि निद्रा लाग्छ, त्यो बेला चिसो पनि हुँदोरहेछ । त्यो बेला हामी निदाउँछौ । नत्रभने अरू बेला एकदम गर्मीले गाह्रो भइरहेको छ, पहिला पङ्खा थियो । मज्जाले निद्रा लाग्थ्यो, अहिले जलेर नष्ट भएपछि सुत्न कठिनाइ भइरहेको छ ।’  

उनले खाद्यान्नजस्तै पङ्खा पनि सहयोग आइदिए ठुलो राहत हुने आशा व्यक्त गरिन् । मधेशको टन्टलापुर घाममा बस्दा उनीहरूलाई स्वास्थ्यमा पनि समस्या भइरहेको जिल्ला महिला सञ्जाल महोत्तरीकी संयोजक इसरागन यादव बताइन् ।

उनले भनिन्, ‘हामी महिलाहरूको समस्या बुझ्न त्यहाँ पुग्दा केही महिलाले हातमा घाउ आएको, आँखा पोल्ने जस्ता समस्या देखापरेको सुनाए । अब हामी ती समस्याहरू समाधानका लागि स्वास्थ्य शिविर चलाउन पहल गरिरहेका छौँ ।’

चाँडै स्वास्थ्य शिविर चलाएर समस्याको समाधान गराउने कोसिस गरिरहेको उनले बताइन् ।  घटना भएको दिन आगोले धेरैको आँखामा समस्या ल्याएको पीडितहरूको गुनासो छ । त्यो बेलाको तापले अहिले पनि आँखा पोल्ने पीडितहरूको गुनासो छ ।  

आगलागी पीडितहरूका गुनासाबारे न मधेश सरकार, न त केन्द्र सरकारे नै चासो दिएको छ । सरकारले राहत प्याकेज ल्याउन समेत नल्याएको पीडितहरूको गुनासो छ । । पूर्णरुपमा घर जलेर नष्ट भएकाहरू अहिले घर कसले बनाइदेला भन्ने चिन्तामा छन् । 

‘जो आउँछन्, फोटो खिच्छन् । त्यसपछि सबै घटनाबारे सोध्छन्, तपाईंहरुको समस्याको समाधान हुन्छ भनेर जान्छन्,’ एक पीडितले भने । तर सरकारीस्तरबाट कुनै किसिमको ठोस राहत नआएको उनको भनाई छ । 

अगालागीबाट १०३ घर पूर्णरुमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख नकुल पोखरेलले जानकारी दिए । सो घटनाबाट ४७० जना पीडित भएको पोखरेलले जनाए ।  पोखरेलका अनुसार आगलागीबाट करिब १ करोड ६२ लाख भन्दा बढीको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप