मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश सरकार

बालुवाटारमा माधव बिच्किएपछि सुदूरमा नयाँ गठबन्धन, प्रचण्ड निरीह

आइतबार, ०२ वैशाख २०८१, १८ : ०९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । पूर्वसहमति अनुसार सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएपछि प्रदेशमा नयाँ समीकरण बनेको छ । नयाँ समीकरण अनुसार नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी एक ठाउँमा पुगेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने अघिल्लो सहमतिबाट एमाले अध्यक्ष केपी शर्मा ओलीपछि हट्दा कांग्रेससहितको नयाँ समीकरण बन्न पुगेको नेकपा एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । ‘सहमति एउटा गर्ने व्यवहार अर्को गर्ने भएपछि समस्या देखिएको हो’, एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले सुदूरपश्चिममा दोहोरो दाबीबारे भने, ‘राजनीतिक इमानदारिताको कमी भयो जस्तो लाग्छ ।’

 ‘मैले त एकीकृत समाजवादीलाई नै दिने भनेको हो, तर ओलीजी सकारात्मक बन्नुभएन । त्यसैले नाउपालाई नै समर्थन गरौँ’, प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई गरेको आग्रह उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताले रातोपाटीलाई  बताए ।

केन्द्रीय सत्ता गठबन्धनमा प्रदेश सरकारबारे भागबण्डा हुँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने सहमति भएको थियो । उक्त सहमति अनुसार एकीकृत समाजवादीले अन्य प्रदेशमा एमाले, माओवादी र जनता समाजवादी नेतृत्वको सरकारलाई साथ दियो । तर पूर्व सहमति विपरीत आइतबार (आज) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिने सहमति गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटारबाट बिच्किएर हिँडेका थिए ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको थियो । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पूर्वसहमतिअनुसार सुदूरमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनुपर्ने धारणा राखेका थिए ।

तर नेता नेपालको यो भनाइमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सङ्केतका आधारमा प्रधानमन्त्री प्रचण्डले नाउपालाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता भएको बताएका थिए । ‘मैले त एकीकृत समाजवादीलाई नै दिने भनेको हो, तर ओलीजी सकारात्मक बन्नुभएन । त्यसैले नाउपालाई नै समर्थन गरौँ’, प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई गरेको आग्रह उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताले रातोपाटीलाई  बताए । त्यसपछि नेता नेपाल बालुवाटारबाट बिच्किएर बाहिरिएको उनको भनाई छ ।

स्रोतका अनुसार मुख्यमन्त्री नपाउने भएपछि नेता नेपालको सङ्केतका आधारमा सुदूरमा एकीकृत समाजवादी, कांग्रेस, नाउपाको रेशम चौधरी पक्ष र राप्रपाका सांसदले वैकल्पिक गठबन्धनलाई साथ दिन पुग्यो । उक्त गठबन्धनले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्दै प्रदेश प्रमुख नाजिर मियाँसमक्ष दाबी पेश गरिसकेको छ । लक्ष्मणकिशोरले मुख्यमन्त्रीका लागि दाबी पेश गरेलगत्तै एमाले र माओवादीको समर्थनमा नाउपाकै रञ्जिता पक्षधर कैलाश चौधरीले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् ।

सुदूरपश्चिममा हाल ५१ सदस्यीय प्रदेश सभा रहेको छ । जसमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, स्वतन्त्र १ र राप्रपा १ सांसद छन् । कांग्रेसका एक सांसदको निधन र नाउपाका एक सांसद निलम्बनमा परेका छन् । जसमा सरकार बनाउन २७ जना सांसदको आवश्यकता पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप