आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

‘कस्टम यार्ड’ तयार भएको चार वर्षपछि विराटनगरमा भोलि रेल आउँदै

बुधबार, १७ जेठ २०८०, १३ : ५९
बुधबार, १७ जेठ २०८०

विराटनगर । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म भोलि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । 

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा लगभग ६ बिगाहा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । केही दिनअघि विराटनगर आएका भारतीय अधिकारीहरूले उद्योग संगठन मोरङमा छलफल गरेका थिए । छलफलमा नेपाली उद्योगी आफूहरूले विगत लामो समयदेखि कार्गो रेल आउने विषयमा पर्खिएको बताएका थिए । 

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए । उनले भने, ‘हामीले विगत लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको छ । विराटनगरस्थित रेल्वे यार्डमा पहिलो पटक कार्गो रेल आउन लागेको हो ।’ प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी/व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए ।

विराटनगरका उद्योगीहरू भने कार्गो रेल सञ्चालन हुने हो भने आफूहरूलाई ढुवानी बापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने दाबी गर्छन् । विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक अर्थात् झन्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ । कार्गो रेल सञ्चालन आउने हो भने तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने अनौपचारिक प्रक्षेपण रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराई बताउँछन् । ट्रकबाट आएका मालवस्तुको प्रतिट्रक (१५ टन)को भारु ४० हजार रुपैयाँ ढुवानी चार्ज लाग्ने गरेको छ । रेल्वे मार्फत आउने हो भने त्यो ढुवानी चार्ज घटेर भारु २९ हजार मै आइपुग्ने र १५ हजार भारु बचत हुने उनीहरूको दाबी छ । 

एकीकृत भन्सार जाँच चौकीभन्दा करिब ५ किलोमिटर भारततर्फ रहेको बथनाह भन्ने स्थानसम्म हाल रेल कार्गो मार्फत नेपाली उद्योगी व्यवसायीले बल्क कार्गो ल्याउने गरेका छन् । बथनाहसम्म आएको रेल कार्गोको लोड÷अनलोड, पुनः ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनु पर्ने र जाँचपास गरी गन्तव्य तर्फ जाने गरेका छन् । २०६८ देखि सुरु भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो ।

तर मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति कटहरीका जग्गाधनीहरूले असहमति जनाउँदै आएका छन् । अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुआब्जा विवाद समाधान भए भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न बाँकी रहेको जमिन हस्तान्तरण गर्ने र कटहरिमा अन्तिम रेल स्टेसनको काम हुने उद्योगी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप