शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नक्सा विवाद

भारतले नयाँ संसद् भवनमा प्राचीन मौर्यकालीन मगधको नक्सा किन राख्यो ?

बुधबार, २४ जेठ २०८०, ०८ : ४०
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । भारतले भर्खरै आफ्नो नयाँ संसद् भवनमा राष्ट्रियता, धार्मिकता, सांस्कृतिक पहिचान र ऐतिहासिकता झल्काउने केही प्रतीक (चिह्न)लाई राखेको छ । यसमा एक थियो– प्राचीन मगधको मुरल अर्थात् भित्तेचित्र । जसलाई भारतीय मिडियाले अखण्ड भारत भनेका छन् । यो नक्सामा नेपाल, पाकिस्तान लगायत देशका केही भूभाग परेको छ । यस नक्साभित्र लुम्बिनी र कपिलवस्तु भनी देवनागरी लिपिमा लेखिएको छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मुखमा भारतले नयाँ संसद् भवनमा प्राचीन नक्सा राखेपछि नेपालमा यसको विरोध हुन थाल्यो । सोमबारको संसद् बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले यस सम्बन्धमा जवाफ दिनुपर्‍यो– यसलाई उनीहरूले सांस्कृतिक र ऐतिहासिक भनेका छन्, राजनीतिक होइन । 

मानिसको प्रवृत्ति हो– भर्खरै कुनै तितो अनुभव वा संकटको सामना गरेको छ भने त्यसबाट राहत महसुस गर्न उसले गौरवमय विगतको स्मृति वा मिठो भविष्यको कल्पनाको सहारा लिन पुग्छ । आफ्ना पुर्खाको पौरख वा वीरगाथाको स्मरणले मानिसलाई एक प्रकारको त्राण दिन्छ । 

राज्यमा कुनै संंकट आइलाग्दा हामी पनि हाम्रा पुर्खाको वीरताका गाथामा हराउन पुग्छौँ । हरेक राज्य र समुदायको आफ्नो इतिहास हुन्छ । भनिन्छ– भूगोल र इतिहास राज्यका दुई आँखा हुन् । यी आँखाले राज्यलाई सच्चिन र सामाजिक न्यायमा आधारित प्रगतितर्फ उन्मुख हुन प्रेरित पनि गर्छन् । 

मुगलहरूको शासन खेपेको, अंग्रेजको गुलाम बनेको भारत स्वतन्त्र भएको धेरै भएको छैन । सन् १९४७ मा स्वतन्त्र त भयो तर ऊ दुइ देश ( भारत र पाकिस्तान ) का रुपमा तीन टुक्रामा विभाजित भयो (सन् १९७२ देखि ती तीन टुक्रा तीन देश बनेका छन्- भारत, पाकिस्तान र बंगलादेश ) । यी घाउबाट राहत महसुस गर्न भारतीयहरू २२०० वर्षअघिको मौर्य साम्राज्यलाई सम्झन पुग्छन् । 

मौर्य शासनकाल र मगध राज्य

आजको भारत देश प्राचीनकालमा साना–ठूला धेरै राज्यमा विभाजित थियो । मगधका राजाहरूबाट राज्य विस्तारको अभ्यास हुन थाल्यो ।

अखण्ड भारतको चर्चा चल्दा केन्द्रमा प्राचीन मगध राज्य आउँछ । मगध राज्यलाई चियाउन बुद्धकालीन १६ प्राचीन राज्य (जनपद, महाजनपद वा गणराज्यहरू)को इतिहास खोतल्नुपर्ने हुन्छ । 

सत्यकेतु विद्यालंकारको पुस्तक ‘प्राचीन भारत : प्रारम्भ से १२०६ ई. तक’ (१५औं संस्करण २०१६) अनुसार, महात्मा बुद्धको समयमा १६ जनपदको उल्लेख पाइन्छ– अंग, मगध, काशी, कोशल, वृजि या वज्जि, मल्ल, वत्स, चेदि, पंचाल, कुरु, मत्स्य, शूरसेन, अश्मक, अवन्ति, गान्धार र कम्बोज । 

बुद्धको समयमा मगधका राजा थिए, बिम्बिसार । जो शक्तिशाली र महत्त्वाकांक्षी थिए । उनको विवाह कोशल देशकी राजकुमारी कोशलदेवीसँग भएको थियो । यही विवाहको दाइजोमा ‘नहानचुन्न मूल्य’ (विवाह कर)का रूपमा काशी जनपदको एक प्रदेश बिम्बिसारले पाएका थिए । बिम्बिसारपछि मगधको सिंहासनमा अजातशत्रु बसे । उनको पहिलो युद्ध कोशल महाजनपदसँग भयो, उनले काशी जनपदमाथि अधिकार जमाएर सन्धि गरे । त्यसपछि उनले वज्जिसंघ र मल्ल गणलाई आफ्नो साम्राज्यमा गाभे । 

यहाँनेर कोशल र वज्जि महाजनपदको चर्चा गर्न सान्दर्भिक छ । कोशल देशको राजधानी श्रावस्ती थियो भने, दोस्रो प्रसिद्ध नगर साकेत (अयोध्या) थियो । यस जनपदको पश्चिममा पाञ्चाल जनपद, पूर्वमा सदानीरा (गण्डक) नदी, उत्तरमा नेपालको पर्वतमाला र दक्षिणमा स्यन्दिका नदी पथ्र्यो भनी विद्यालंकारले उल्लेख गरेका छन् । 

यस्तै, वज्जि महाजनपदमा आठ गणराज्य सम्मिलित थिए, जसमा विदेह राज्य पनि पथ्र्यो, जसको राजधानी मिथिला थियो । अजातशत्रुको आक्रमणपछि वज्जिको राजधानी वैशालीबाट लिच्छविहरू नेपाल खाल्डो (काठमाडौंं) पसेको भनिन्छ । 

सयौँ वर्षअघि कुनै शक्तिशाली शासकले ढुंगा गाडेका ठाउँ तत्कालीन राज्यभित्र पर्थे वा पर्दैनथे, यो अलग खोज र बहसको विषय छ ।

विद्यालंकारको अर्को पुस्तक ‘मौर्य साम्राज्य का इतिहास’ (सन् १९७१) अनुसार, ईशापूर्वको छैटौँ शताब्दीमा पर्सियाका राजा कुरु या साइरस (५५८–५२९ ई.पू.)ले आफ्नो साम्राज्य विस्तार गर्दै भारतमाथि आक्रमण गरे र भारतका उत्तरपश्चिमी प्र्रदेशहरूलाई जितेर आफ्नो अधीनमा लिए । त्यतिबेला सिन्धु नदीदेखि पश्चिमको प्रदेश पर्सियन साम्राज्य अन्तर्गत गयो । पर्सियन सम्राट दारयवहु या डेरियस (५२२–४८४ ई.पू.)को शिलालेखमा पनि यस्तो संकेत मिल्छ । 

ईशापूर्वको चौथो शताब्दीमा सिकन्दरले भारतमाथि आक्रमण गरे । सिन्ध नदी तरेर उनले भारतका अनेक राज्यहरू जिते र सतलज नदीसम्मका प्रदेशहरूमाथि आफ्नो शासन स्थापित गरे । सिकन्दरले भारतमाथि आक्रमण त्यतिबेला गरेका थिए, जति बेला मगधका राजाले भारतका धेरै भागलाई आफ्नो अधीनमा लिन समर्थ भइसकेका थिए । यही विशाल मगध साम्राज्यलाई चन्द्रगुप्तले ईशापूर्व ३२४ मा चाणक्य नामका ब्राह्मणको सहायतामा हत्याउन सफल भएका थिए । उनले नन्दवंशका राजा धननन्दलाई युद्धमा हराएका थिए । मगधको इतिहासमा एक सय ३७ वर्षसम्म मौर्य वंश, एक सय १२ वर्ष शुङ्ग वंश, ४५ वर्ष कण्व वंशले शासन गरे । यसपछि ३० ईशापूर्वमा सातवाहन वंशका पहिलो राजा सिमुक मगधको सिंहासनमा बसेको देखिन्छ ।  

romila book

रोमिला थापरका अनुसार, राजा भएपछि चन्द्रगुप्त मौर्य राज्य विस्तारमा लागे । सुरुमा उनले पन्जाब जिते, त्यसपछि सिन्धुदेखि पारिको भूभाग (जो अहिले अफगानिस्तानमा पर्छ) र मध्यभारतका केही भूभाग जिते । उनी पछिका राजा बिन्दुसारले दक्षिणमा मैसुरसम्म साम्राज्य फैलाए । कलिङ्ग प्रदेश (उडिसा) र सुदूर दक्षिणको राज्य जित्न बाँकी थियो । दक्षिणका राज्यसँग मैत्रीपूर्ण सम्बन्ध भएकाले यहाँ उनले आक्रमण गरेका थिएनन् । यिनीपछिका राजा अशोकले कलिङ जिते । थापर लेख्छिन्, ‘भारतीय इतिहासमा पहिलोपटक सुदूर दक्षिणको प्रदेश छाडेर लगभग समुच्च भारतीय उपमहाद्वीप एक शासकको अधीनमा आयो, (प्राचीन भारत, अनुवादक गुणाकर मुले) ।’

राधाकुमुद मुखर्जीको पुस्तक ‘अशोक’ (हिन्दी संस्करण १९७४) अनुसार, अशोकको शासन आंशिक रूपमा शाही अर्थात् सिधै सम्राटको अधीनमा र आंशिक रूपमा स्थानीय अर्थात् वाइसराय (भाइसरोय) र गभर्नरको अधीनमा थियो । उनी लेख्छन्, ‘सम्राटको प्रशासनमा कति हिस्सा थियो, यसको पूरा व्यहोरा प्राप्त भएको छैन ।’ 

maurya samrajya bidhyalankar

विद्यालंकारका अनुसार, अशोकको साम्राज्य कहाँसम्म फैलिएको थियो भन्ने उनका धर्मलिपिहरूद्वारा जान्न सकिन्छ । उनी दाबी गर्छन्, ‘जुन स्थानमा उनका धर्मलिपिहरू उपलब्ध छन्, निस्सन्देह त्यो अशोकको साम्राज्य अन्तर्गत थियो ।’ 

उनका अनुसार, उत्तरी भारतमा उनका धर्मलिपिहरू नेपालको तराई, उत्तरी विहार तथा देहरादुन जिल्लामा स्तम्भहरू वा शिलाहरूमा उत्कीर्ण भेटिएका छन् । उत्तर पश्चिममा पेशावर (पाकिस्तानको उत्तर–पश्चिमी सीमान्त), कन्धार र काबुल (अफगानिस्तानमा), पूर्वी भारतमा धौली (उडिसा) र जौगढ (गञ्जाम), पश्चिममा गिरनार (सौराष्ट्र या काठियावाड), सोपारा (थाना जिल्ला), दक्षिणमा ब्रह्मागिरि, जटिङ–रामेश्वर (माइसुर राज्य) आदि अनेक स्थानबाट उनका शिलालेख उत्कीर्ण गरिएको छ । 

satyaketu bidhyalankar book

डा. के.डी. गौतमले आफ्नो पुस्तक ‘भारत का प्राचीन इतिहास’ (द्वितीय संस्करण १९८१–८२)मा केही शिलालेखको चर्चा गर्दै अशोकको साम्राज्य उत्तर पश्चिममा हिन्दकुशसम्म, पूर्वमा बंगालसम्म, उत्तरमा हिमालयको तराई (नेपालको तराई)सम्म, दक्षिणमा चितलद्रुग (अहिलेका चित्रदुर्ग)सम्म फैलिएको उल्लेख गरेका छन् । 

उनले आफ्नो पुस्तकमा नेपालको तराईमा रुम्मिनदेई (सर्वसाधारणले लुम्बिनी भन्न नजानेर अपभ्रंश गरी रुम्मिनदेई भन्न पुगेको पाइन्छ) तथा निग्लिव ग्राम (निग्लिहवा)मा भेटिएको अशोक स्तम्भले अशोकको तीर्थ यात्राको ज्ञान हुने उल्लेख गरेका छन् ।

किरात राजा स्थुंकोले अशोक स्तम्भ लडाए ?

भारतले संसद् भवनमा राखेको नक्सा मौर्यवंशी सम्राट अशोकले विस्तार गरेको मगध राज्यको हो । युद्धबाट आजित भई शान्ति खोज्दै लुम्बिनी आइपुगेका सम्राट अशोकले त्यहाँ स्तम्भ खडा गरेका थिए । त्यतिबेला नेपालमा किरातकाल थियो । १४औँ किरात राजा स्थुंकोले लुम्बिनीको अशोकस्तम्भको शिरमा रहेको घोडा खसालेको कथा पाइन्छ । 

WhatsApp Image 2023-06-06 at 16.40.58

प्रो. ढुण्डिराज भण्डारीले आफ्नो पुस्तक ‘नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास’ (२०४६) मा प्रश्न गरेका छन्– किराती राजा स्थुंकोले यस ‘धम्मविजय’को कडा विरोध प्रकट गर्न नै अशोकद्वारा खडा गरिएको लुम्बिनी–स्तम्भलाई भुइँमा खसाई भंग पारेका होलान् ? उनी लेख्छन्, ‘यस घटनाबाट यो तथ्य स्पष्ट हुन्छ, त्यस समयमा पनि लुम्बिनीको तराई क्षेत्रसम्म नेपालको राज्य फैलिएको थियो ।’

WhatsApp Image 2023-06-06 at 16.42.59

राइट वंशावलीमा किराती राजा स्थुंकोको राज्यकालमा धार्मिक भावनाले प्रेरित भई सम्राट अशोकको नेपाल आगमन भएको उल्लेख छ । ‘अशोक चतुरंगिणी सेनाका साथ लुम्बिनी आएका थिए भन्ने ऐतिहासिक तथ्य विचारणीय छ,’ भण्डारी लेख्छन्, ‘अशोकको १३औँ शिलालेखमा पनि हिमालयको तराई प्रदेशको केही भाग मगध साम्राज्यको अंग थियो तर स्थानीय शासन स्थानीय शासक वर्गको नै अधिकारमा थियो भन्ने उल्लेख छ ।’  

अहिले आफ्नो देश रहेको भूगोलमा कुनै बेला स्थानीय शासकले कसरी र कति सिमानामा शासन गर्थे भन्ने इतिहास कुनै पनि देशका नागरिकले थाहा पाउन र त्यसमा आत्मगौरव गर्न सक्छन्, तर यसको प्रयोजन ऐतिहासिक र सांस्कृतिक हुनुपर्छ, राजनीतिक होइन । 

भारतको आत्मगौरव

शक्तिशाली सम्राट भएकाले अशोकले अन्य छिमेकी राज्यमा धार्मिक भ्रमण गर्नु र आफू गएका स्थानमा शिला स्तम्भ गाड्नु सामान्य देखिन्छ । 

अहिले आफ्नो देश रहेको भूगोलमा कुनै बेला स्थानीय शासकले कसरी र कति सिमानामा शासन गर्थे भन्ने इतिहास कुनै पनि देशका नागरिकले थाहा पाउन र त्यसमा आत्मगौरव गर्न सक्छन्, तर यसको प्रयोजन ऐतिहासिक र सांस्कृतिक हुनुपर्छ, राजनीतिक होइन । 

भारतले संसद् भवनमा राखेको मौर्यकालीन नक्सामा अहिलेको भारत रहेको कैयौँ भू-भाग छुटेका छन्, जसलाई मौर्य शासकले जितेका थिएनन् ( उत्तरपूर्वी भारतको अधिकांश भू-भाग त्यो नक्सामा छैन )। त्यसैले भारतले त्यो नक्सामा आफ्ना पुर्खाको जितको एउटा इतिहास मात्र समेट्न खोजेको देखिन्छ । यद्यपि सयौँ वर्षअघि कुनै शक्तिशाली शासकले ढुंगा गाडेका ठाउँ तत्कालीन राज्यभित्र पर्थे वा पर्दैनथे, यो अलग खोज र बहसको विषय छ । 

भारतले नयाँ भवनमा प्राचीन नक्सा राख्नु जस्तो कार्यलाई सांस्कृतिक र ऐतिहासिक रूपमा लिने हो भने, भोलि बेलायतले भारत लगायत भू-भाग समेटिएको नक्सा आफ्नो संसद भवन वा संग्रहालयमा राख्ला । ग्रिसले आफ्नो पुरानो नक्सा राख्ला । हामी नेपालीले पनि ‘ग्रेटर नेपाल’को नक्सा राखौँला वा राख्न सक्छौँ ।

हामी जोकोही यस्ता आत्मगौरवमा हराउनुभन्दा सामाजिक न्यायसहितको समृद्धितर्फ उन्मुख हुन जरुरी छ । आज भारत, पाकिस्तान, नेपाल रहेको भूभागमा हिजो दस्यु, दास हुँदै शूद्र समुदायको निर्माण गरिएको थियो, आज उनीहरू दलितका रूपमा विभेदपूर्ण जीवन बाँचिरहेका छन् ।

भारतले सांस्कृतिक इतिहास नै खोतल्ने हो भने, चन्द्रगुप्त मौर्य शूद्र आमाका सन्तान देखिन्छन्, जसको थरमा नाम जोडिएको छ । विद्यालंकार लेख्छन्, ‘मगधका जति सम्राटले साम्राज्य विस्तार गरे, उनीहरू विशुद्ध आर्य थिएनन् । महापद्म नन्द शूद्र या शूद्रप्राय थिए । मगधका अन्य धेरै राजा पनि शूद्रप्रायः थिए । पूर्वका प्रदेशमा जति आर्य बस्थे, उनीहरूले आर्यभन्दा भिन्न जातकी स्त्री विवाह गरेका थिए । उनीहरूका सन्तान वर्णसङ्कर थिए । राजकुलका पुरुषले पनि आफ्नो रक्तलाई शुद्ध कायम राखन सकेका थिएनन् । नन्द वंशका अन्तिम राजा सुमाल्य नन्द (धननन्द)की एक पत्नी शूद्र थिइन्, उनको नाम मुरा थियो । उनैबाट जन्मेका चन्द्रगुप्त मुराका पुत्र भएकाले मौर्य कहलिए ।’ 

अचेल भारतले रामलाई खोज्छ, शम्बूक ऋषिलाई बिर्सन्छ । हराइसकेका नदीहरू खोज्छ, जीवित रहेको विभेदलाई बिर्सन्छ । भारतले सम्झन सक्नुपर्छ– ध्यान गर्ने शूद्र ऋषि सम्बूकलाई रामले हत्या गरेको प्रसंग र सामाजिक न्यायमा उदाहरणीय बन्नुपर्छ, जो नेपालका लागि दलितका लागि पनि न्यायकारी होस् ।

कलिङ्गसँगको लडाइँपछि अशोकले धर्मद्वारा विजय गर्ने धर्म विजयको नीति लिएका थिए, जुन बौद्ध धर्मको प्रचारमा सहायकसिद्ध भएको थियो । प्रश्न उठ्छ, अशोकले विस्तार गरेको राज्यमा गौरव गर्नेले सामाजिक न्यायको धर्म पालना गरेर आफ्नो वर्तमान भूभागलाई नै गौरवशाली बनाउनु राम्रो होइन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप