आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
विद्यालय कर्मचारीको आन्दोलन

विद्यालय कर्मचारी- सरकार वार्ता : दुवै पक्ष आ-आफ्नै अडानमा

शुक्रबार, २२ असार २०८०, १६ : ५४
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । सरकार र आन्दोलनरत विद्यालय कर्मचारीहरू बीचको वार्ता जारी छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा वार्ताले सार्थकता पाउन सकेको छैन । दुई चरणको छलफलपछि पनि वार्तामा कुनै निकास निस्किन सकेको छैन । असार १ गते शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिसँग नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीको संयोकत्वको टोलीले वार्ता गरिरहेको छ । तर, दुवै पक्ष आ–आफ्नै अडानमा कायम छन् । जसले गर्दा वार्ताले कुनै निकास दिन सकेको छैन ।

परिषद्का महासचिव शान्तिनाथ योगीले दुवै पक्ष आ–आफ्नै अडानमा कायम रहेको बताए । ‘हामी पीडित भएर नै आन्दोलन गरिरहेका छौं । हामी पछि हट्ने कुरा भएन । सरकार माग पुरा गर्न सक्दैनौं भनिरहेको छ,’ महासचिव योगीले भने । अर्थ मन्त्रालयले मुलुकको अवस्था नाजुक रहेकोले माग पुरा गर्न नसकिने भन्ने जवाफ दिइरहेको उनको भनाई छ ।

‘अर्थ मन्त्रालय सुक्को दिन मानिरहेको छैन । जे पहिलेको अवस्थामा थियो, त्यही अडानमा छ । मुलुकको अवस्था नाजुक छ भनेर दिन मानिरहेको छैन । अर्थ केही नदिए हामीले के दिन शिक्षाले भनिरहेको छ,’ योगीले भने । माग पुरा नभई वा कुनै निकास नदिई आफुहरू आन्दोलन रोक्ने पक्षमा नरहेको उनको भनाई छ ।

‘हामी अब ३५ दिन त के ३५ वर्ष भयो भने पनि माइतीघर छोड्नेवाला छैनौं । विगतमा धेरै पटक धोका पाएका छौं । अब उधारो सहमति गर्दैनौ । राज्यबाट हामी पटक पटक ठगिरहेका छौं,’ महासचिव योगीले भने । वार्ता टोलीका संयोजक चूडामणि पौडेलले व्यस्ततका कारण नियमित छलफल गर्न नसकिरहेको बताए । ‘वार्तामा दुई चरण बसिसकेका छौं । अनौपचारिक रूपमा आज पनि छलफल गरेको छौं । आर्थिक वर्षको अन्त्य भएकाले साथीहरू व्यस्त हुनुहुन्छ । अब आइतबार पुनः बस्छौ,’ पौडेलले भने ।

अहिले संघीय शिक्षा ऐन आउने प्रक्रियामा छ । ऐन आएपछि उनीहरूले उठान गरेका अधिकांश माग सम्बोधन हुने उनको भनाई छ । धेरै कुराहरू ऐन, कानून, नियमले समेट्नुपर्ने खालका मागहरू रहेको भन्दै त्यही आधारमा आफुहरू अघि बढिरहेको बताए ।   वार्ता लम्बिदा माइतीघरमा आन्दोलनरत विद्यालय कर्मचारीहरूको बसाई पनि लम्बिदै गएको छ । दरबन्दी सिर्जना गरी तलबमान कायम हुनुपर्ने लगायतका माग राख्दै देशभरका ३५ हजार भन्दा बढी विद्यालय कर्मचारीहरू ३५ दिनदेखि आन्दोलनमा छन् । सेवा सुरक्षाको ग्यारेन्टीसहित तलबमान कामय हुनुपर्ने, तत्काल संघीय शिक्षा ऐन जारी गरिनुपर्ने लगायतका माग राख्दै गत जेठ २० गतेदेखि आन्दोलनमा छन् ।

जेठ २८ गतेदेखि उनीहरूले माइतीघर मण्डलामा धर्ना दिन थालेका थिए । लामो समय दिनभर धर्नामा बस्दा उनीहरू विरामी पर्न थालेका छन् । आर्थिक वर्षका अन्तिम समय रहेका विद्यालयहरूमा कामको चटारो छ । तर, लेखापालहरू समेत आन्दोलनमा रहेकाले अस्तव्यस्त देखिएको छ । सरकारले आफूहरूका माग जति चाँडो सम्बोधन गरिदियो त्यति नै चाँडो विद्यालय फर्किन मन रहेको उनीहरूको भनाई छ । तर, अनेकन बाहना बनाउँदै वार्ताबाट सरकार नै पन्छिन खोजेको महासचिव योगीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप