आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

परासी क्षेत्रका उद्योगलाई विद्युत् दिन पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

बुधबार, १० साउन २०८०, १४ : ३३
बुधबार, १० साउन २०८०

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ ।

औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने छ ।

नेपाल विद्युत प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालू अवस्थामा छन् ।

सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीनवटा फिडरहरुमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका छन् ।  घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताए । उनले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरुको निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिए । 

कालीगण्डकी र यसका सहायक नदीहरुमा  निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । साथै, हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका  लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्ने छ ।

हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल) तर्फ विद्युत् प्रवाहका लागि समस्या छ । हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप