आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

दसौँ राष्ट्रिय खेलकुद : चुनौतीका चाङमाथि आयोजना गर्नुपर्ने बाध्यतामा कर्णाली !

‘कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद सहभागितामा मात्र सीमित नहोस्’
सोमबार, १५ साउन २०८०, २० : ०३
सोमबार, १५ साउन २०८०

सुर्खेत । २०८१ मंसिर २ देखि ९ सम्म हुने दसौँ राष्ट्रिय खेलकुद आयोजनाको पूर्व तयारीमा कर्णाली जुटिरहेको छ । यद्यपि उक्त बृहत् आयोजनालाई सफल पार्न कर्णालीमाथि चुनौतीका चाङ छन् । 

केन्द्र सरकार तथा आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताका कारण १० औँ राष्ट्रिय खेलकुद आयोजनाबारे यावत् प्रश्न उठ्न थालेका छन् । 

सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाबाहेक प्रदेशका अन्य जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ भने स्वयम् कर्णालीलाई खेलकुद प्रतियोगिता लक्षित पूर्व तयारीको लागि समेत बजेट अभाव छ । 

१० औँ राष्ट्रिय खेलकुद आयोजनाको बारेमा गतिविधि बुझ्न यतिबेला अन्य प्रदेशका खेलकुद परिषद् सदस्य सचिवहरु कर्णालीमा छन् । भौतिक संरचनाको अनुगमनपश्चात आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरियो । 

सम्मेलनमा उनीहरुले चुनौतीका चाङमाथि पनि आयोजना सम्पन्न गर्न सकिने अवसर रहेको बताउँदै संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष ध्यान दिनुपर्ने बताए ।

अब १० औँ खेलकुद प्रतियोगिता हुन करिब डेढ वर्ष मात्र बाँकी छ । तर, अहिले बन्दै गरेको रंगशालाको हाल ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने अन्य जिल्लाहरुमा संरचनाको अभाव छ । 

‘१० औँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएपछि सबैको चासो अहिले यहाँ छ,’ कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले भन्छन्, ‘सुर्खेतमा निर्माणाधीन रंगशालामा ३३ मध्ये २१/२२ वटासम्म खेल खेलाउन सकिन्छ, त्यस बाहेकका खेलहरु कहाँ खेलाउने भन्ने विषय यथावत् छ ।’ 

उनले अगाडि भने,‘बाँडेर अन्य जिल्लामा पनि खेल खेलाउने हो भने कतै पूर्वाधार छैन । बसोबास लगायतका यावत् समस्या छन् । त्यसैले, सुर्खेतमै सबै खेल खेलाउन गाह्रो होला भन्ने हो ।’ 

वाग्लेले सकेसम्म अन्तर्राष्ट्रिय स्तरमा जाने खेलहरुलाई प्राथमिकता दिनुपर्ने बताए । ‘व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्छ,’ उनले भने,‘ यसअघि व्यवस्थापनको जिम्मेवारी आफैँले राख्दा थुप्रै कमजोरीहरु भएका छन् । स्वयम् प्रदेशलाई त्यसको जिम्मेवारी दिनुपर्छ ।’ राखेपले कर्णालीमा लगानी गर्नुपर्ने धारणा पनि उनको छ । 

यद्यपि अहिलेसम्म राखेपले कर्णालीबारे कुनै ध्यान नदिएको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

‘केन्द्र सरकारसँग पनि पटक–पटक बजेटको माग गर्दा पनि सहयोग भएन,’ कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने,‘१० वटै जिल्लाको भौतिक संरचनाको विषयमा पनि हामीले छलफल गरेका छौँ । जुन जिल्लामा बसाइँको सहज व्यवस्थापन हुन्छ, त्यहाँ खेल खेलाउने भन्ने कुरा छ । बरु संरचना निर्माण रातारात भएपनि बनाउनुपर्छ भन्ने कुरा हामीले राखेका छौँ ।’ 

उता बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश रंगशालामा भइरहेको प्रगतिको प्रशंसा गरे । ‘हामी यहाँ अवलोकन गर्न आएका हौँ, यति छिटो गरी रंगशाला निर्माणको प्रगति निकै प्रशंसनीय छ,’ उनले भने,‘उक्त रंगशालाभित्रै २२ वटासम्म खेल खेलाउन सकिन्छ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याएको रहेछ । यद्यपि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’ 

अवलोकनपछि सदस्य सचिवहरुले कर्णालीमा बन्न लागिरहेको रंगशाला जस्तो अन्त नभएको प्रतिक्रिया दिए ।

‘सहभागितामा मात्र सीमित नहोस्’

पत्रकार सम्मेलनमार्फत् सदस्य सचिवहरुले १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई सफल बनाउने संयुक्त रुपमा प्रतिबद्धता जनाएका छन् भने संघीय सरकारको बेवास्ताप्रति ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् । 

कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद सहभागितामा मात्र सीमित नहोस् भन्नेमा चिन्तित हुनुपर्ने उनीहरुको भनाइ छ । 

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा १० औँ राष्ट्रिय खेलकुद नसमेटिएकोले यथाशीघ्र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक थप बजेट व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई अनुरोध गरिने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक पत्रमा उल्लेख छ । 

साथै, पत्रमा अगाडि भनिएको छ,‘देश संघीय संरचनामा अगाडि बढेको अवस्थामा विगतका खेलकुद सञ्चालनमा देखिएका कमी कमजोरीलाई १० औँ राष्ट्रिय खेलकुदमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । तत्काल कानुनमा आवाश्यक संशोधन गरी कर्णाली खेलकुद परिषद्लाई व्यवस्थापकीय पक्षमा पूर्ण जिम्मेवार बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’ 

  

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप