शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेशन ‘फोक्सट्रोट चार्ली’ : निशानामा १५ चिकित्सक

५ पक्राउ, अपरेशन निरन्तर
बिहीबार, २५ साउन २०८०, २२ : ३२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना र करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले अर्को ठुलो अपरेसन चलाएको छ ।  बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित ५ जना छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह छन् । रामबाबु यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहटबाट पक्राउ गरेर काठमाडौँ ल्याउँदै छ । डा. एरिना काठमाडौँमा पक्राउ परेकी हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ । अपरेशनको कमान्ड डिएसपी डा.तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको एआईजी बज्राचार्यले जानकारी दिइन् ।

प्रारम्भिक अनुसन्धानबाट आरोपितहरूले एमबीबीएस पढ्नका लागि आईएसी र बीएससीका सर्टिफिकेटहरू डुब्लिकेट बनाउने गरेको थाहा भएको छ । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।

शुक्रवारसम्म नियन्त्रणमा लिएर उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुर र ठगी मुद्दामा अनुसन्धान गर्ने ब्युरोको तयारी छ । २०७८ मा पनि ब्युरोले ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेर ‘लिखत सम्बन्धी कसुर’ मा मुद्दा चलाएको थियो ।

डा. शर्मा : १२ कक्षाको प्रमाणपत्र नक्कली

कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ब्युरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले डा.शर्मालाई पक्राउ गरिएको र उनको प्रमाणपत्र नक्कली देखिएको जानकारी संसद् सचिवालयमा गराएकी छन् ।

शर्माले भारतको शैक्षिक संस्थाबाट ल्याएर प्रयोग गरेको प्रमाणपत्रबारे ब्युरोले भारतमा पनि पत्र पठाएर जानकारी मागेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘भारतबाट उहाँको प्रमाणपत्र नक्कली रहेको जवाफ आएको छ ।’

मोरङको बेलबारी–९ घर भएका शर्माको प्रमाणपत्रबारे राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ मा नै ‘अपुष्टित’ भनेर लेखेर आएको एआईजी बज्राचार्यले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ– ‘राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ को पत्रबाट १९९६ को रोल नम्बर १०११७ आइएस्सी तहको सुनीलकुमार शर्माको शैक्षिक प्रमाणपत्र अपुष्टित भनि लेखि आएको ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप