शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र कीर्ते प्रकरण

डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली !

बिहीबार, २५ साउन २०८०, १८ : १७
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक  प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।  

सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो । 

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे । 

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित ५ जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ ।  त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव  । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लली र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ । 

सोही प्रकरणमा पक्राउ पर्ने अन्यमा डा रामबाबु यादव, डा एरिना यादव र डा अमृत चौधरी र  रहेका छन् । 

पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ । 

यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद् सचिवालय  सिंहदरबार पुगेका हुन् । 

सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप