शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
वैकल्पिक मार्ग खै ?

भीमदत्त राजमार्ग भासिएपछि तराई–पहाडको ‘लाइफ लाइन’ बन्द

डडेल्धुरामा डिजेल र पेट्रोलको अभावः कुहिन थाले तरकारी
मङ्गलबार, ३० साउन २०८०, १४ : २४
मङ्गलबार, ३० साउन २०८०

धनगढी । साउन २२ देखि केही दिन लगातार परेको वर्षाले भीमदत्त राजमार्ग भासियो । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लालाई ७ पहाडी जिल्लासँग जोड्ने सो राजमार्ग पहिरोले भासिएपछि अवरुद्ध भयो  ।

सुदूरपश्चिमको लाइफ लाइनको रूपमा चिनिने सो राजमार्ग अवरुद्ध भएपछि हाल आंशिक रूपमा मात्रै यातायातका साधन सुचारु छन् । जसले गर्दा यहाँको जनजीवन कष्टमय बनेको छ । 

तराई र पहाडी भेगमा मालसामान र दाल, तरकारी ढुवानी रोकिएर पहाडमा खाद्यान्न र तराईमा दाल तरकारीको अभाव हुने अवस्था सिर्जना भयो  । आंशिक रूपमा खुलेको साधनले पर्याप्त मात्रामा ढुवानी गर्ने अवस्था छैन ।

पहाडी जिल्लाबाट तराईका लागि आउने काउली, बन्दा, आलु, टमाटर, सिमी, हरियो साग पहाडमै रोकिए । तराईबाट बाजुरा, बझाङ, अछाम, डोटी, दार्चुला, बैतडी, डडेल्धुराका लागि जाने खाद्यान्न लगायतका मालसामान तराईमै रोकिए । यसले गर्दा पहाड र तराईको आर्थिक मेरुदण्ड नै टुट्न पुग्यो ।

bhimdutta highway1

पहाडी जिल्लामा उपचार सम्भव नभएपछि धनगढी आएर उपचार गर्नुपर्ने बिरामीले उपचार पाउन पनि नसक्ने अवस्था आयो । 

राजमार्गको एक ठाउँमा गएको पहिरोले समग्र प्रदेशको अर्थतन्त्र र सार्वजनिक सेवा प्राप्ति र विकास निर्माण नै अवरुद्ध हुने अवस्था सिर्जना गरेको थियो ।

कुन मार्गको अवस्था कस्तो  ?

उसो त ७ पहाडी जिल्ला जोड्ने वैकल्पिक मार्ग नभएको होइन । यहाँ ७ वटा वैकल्पिक मार्ग छन् । तर, ती वैकल्पिक मार्ग सञ्चालनमा राज्यको ध्यान नपुग्दा एक मात्र राजमार्ग अवरुद्ध भएर निकै सास्ती खेप्नु पर्‍यो ।

भीमदत्त राजमार्गको विकल्पमा प्रयोग गर्न सकिने ७ वटा वैकल्पिक मार्गमध्ये ४ वटा प्रदेश सरकारको र बाँकी संघीय सरकारको मातहतमा छ । महाकाली करिडोर, सेती लोकमार्ग र धनगढी–दिपायल द्रुतमार्ग संघीय सरकारको मातहतमा छ ।

दैजी–लिप्ना–जोगबूढा–सलोन–चिर्कटे–पोखरा–ढुंगाड–बझाङ,बेलौरी–कलुवापुर–नाइल–बुडर, मालाखेती–ओलानी–कोलमुडा–फल्टुडे, चिसापानी–जंगलघाट–रिसिदह–बडिमालिका सडक प्रदेश सरकारको मातहतमा छ । 

यी सडकमा संघ र प्रदेश सरकारले वर्षौंदेखि लगानी गर्दै आए पनि सञ्चालन हुन सकेका छैनन् ।

bhimdutta highway2

सुदूरपश्चिम प्रदेश सरकारले महाकाली राजमार्गको वैकल्पिक मार्गको रूपमा अगाडि सारेर प्रदेश गौरवको सडक आयोजनाअन्तर्गत दैजी–लिप्ना–जोगबूढा–सलोन–चिर्कटे–पोखरा–ढुंगाड–बझाङ र बेलौरी–कलुवापुर–नाइल–बुडर सडक खण्ड २०७७ बाट निर्माण थालेको छ ।

यी सडकको अधिकांश ट्र्याक पनि खुलिसकेको छ । तर, सरकारले यथेष्ट बजेट विनियोजन गरी ठेक्का लगाएको भए पनि ठेकदारको लापरबाहीले समयमा सडक निर्माण सम्पन्न हुन सकेको छैन । 

दैजी–लिप्ना–जोगबूढा–सलोन–चिर्कटे–पोखरा–ढुंगाड–बझाङ सडकको दैजी–लिप्ना–जोगबूढा खण्डमा प्रदेश सरकारले २०७८ मा पानी कालोपत्रे गरेको थियो । जोडबूढा क्षेत्रमा कालोपत्रे भइसकेको छ ।

तर, सो सडकमा बर्खामा यातायात सञ्चालन हुन सक्ने अवस्था छैन । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले बर्खामा पहिरो गएर बाटो अवरुद्ध रहेको बताए । 

उनका अनुसार लिप्नादेखि गाईबाँढेसम्म १२ किलोमिटर ठेक्का लागेको छ । गाइँबाढेदेखि जोगबूढासम्म पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । यस सडकको डडेल्धुरा खण्डमा प्रदेश सरकारले ३५ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

bhimdutta highway4

यो सडकका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यालय प्रमुख रावलले आउँदो वर्षदेखि बाह्रै महिना यातायात चल्न सक्ने गरी सडक कालोपत्रे हुने दाबी गर्छन् । उनले ठाउँ ठाउँमा पहिरो गएकोले त्यसलाई हटाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

यसैगरी, बेलौरी–कलुवापुर–नाइल–बुडर सडक खण्डमा प्रदेश सरकारले ३ वर्षमा ११ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । सो सडक पनि यातायात सञ्चालन हुने गरी स्तरोन्नति हुन सकेको छैन । यो सडकका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

हालसम्म कुलवापुर–बेलौरी खण्डमा २२ किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले बताए ।

उनले कलुवापुर–नाइल खण्डमा ९ किलोमिटर कालोपत्रेका लागि ठेक्का लागेर काम भइरहेको बताए । कलुवापुर–नाइल खण्डमा पर्ने वनहरा नदीमा पुलसमेत आवश्यक छ । भट्टका अनुसार सो सडकको कञ्चनपुर खण्डमा ट्र्याक खोल्ने काम सकिएको छ भने डडेल्धुरा खण्डमा ट्र्याक खोल्न बाँकी छ ।

bhimdutta highway3

भीमदत्त राजमार्गमा हाल पहिरो गएको खण्डको वैकल्पिक सडक बन्न सक्ने मालाखेती–ओलानी–कोलमुडा–फल्टुडे निर्माणमा प्रदेश सरकारको ध्यानै जान सकेको छैन । 

सो सडकअन्तर्गत गत वर्ष १ करोड रुपैयाँ विनियोजन भई खमौरादेखि जनप्रभात माविसम्म कालोपत्रे गर्न ठेक्का लगाइएको भए पनि काम भएको छैन । प्रदेश सरकारले सो सडकका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

डडेल्धुरामा कुहियो तरकारी 

यसैबीच, भीमदत्त राजमार्ग एक सातासम्म सुचारु हुन नसक्दा डडेल्धुरालगायत पहाडी जिल्लामा अहिले डिजेल र पेट्रोलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ । 

त्यहाँबाट तरकारी खरिद गरी तराई झरेका ट्रकहरूको समेत तरकारी कुहिएपछि खानीडाडा, बूढीतोला क्षेत्रमा फालिएको ट्रक चालक दिपक भट्टले बताए । 

तरकारीको व्यापार एक साता ठप्प जस्तै भएपछि किसान ठुलो मर्कामा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप