बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद्को अवरोध खोल्न सभामुखले मात्र केही गर्न सक्दैन : सभामुख घिमिरे

शुक्रबार, ०१ भदौ २०८०, २१ : ०६
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को गतिरोध अन्त्य गर्न नसकिने बताएका छन् । काभ्रेको धुलीखेलमा शुक्रबार संघीय संसद् सचिवालयले गरेको ‘संसद् सञ्चार सम्बन्ध’ विषयक कार्यक्रम बोल्दै सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको बताए । 

सभामुखले संसद् खुलाउन पहल गर्नुपर्यो भन्ने पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै  घिमिरेले भने–‘सभामुखको कुन चाहिँ अभिव्यक्ति, व्यवहार, ढिलाइले, कुन चाहिँ भूमिकाले, कुन चाहिँ निष्क्रियता, कुन चाहिँ प्रयत्नको अभावले संसद्को अवरोध खोल्नलाई रोकेको छ । के चाहिँ गर्‍यो भने संसद्को अवरोध खुल्छ ? सभामुखको भूमिकाबाट मात्र यो हुनेजस्तो लाग्दैन ।’

उनले संसद् अवरोध हुँदा सदनको समय, सम्पत्ति र क्षमता खेर गइरहेको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए । 

घिमिरेले भने,‘सभामुखले सदन खोल्दियोस् भन्ने चाहनालाई म सानो बच्चा हुँदाखेरी यो काम कसले गर्न सक्छ, मेरो बाउले पनि सक्दैन, मेरो बाउले त के राजाले पनि सक्दैन, त्यतिबेलाको चेतानाले पनि त्यसो भन्थ्यो, अहिले सभामुखले सदन खोल्ने कुरापनि त्यस्तै हो जस्तो लाग्छ । किनकि सभामुखको सीमितता हुन्छ ।’

अवैध ढंगले ल्याइएको सुन काण्डलाई लिएर प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना भएपछि ८ वटा बैठक बस्न प्रयत्न गरिएको उनले बताए । जसमध्ये ५ वटा बैठक अवरोध भएको र सभामुखको आशनबाट नियन्त्रण गरेर व्यवस्थित ढंगबाट कार्यसूचीमा लान नसकिएको बताए । ३ वटा बैठकहरु व्यापक छलफल गरेर अगाडि बढाउन कोसिस गर्दापनि सूचना टाँस गरेर स्थगित गर्नुपरेको उनले बताए । 

सभामुख घिमिरेले अवैध सुन नेपालमा आउने कुरामा सरकारले नै छानबिन गर्छ भन्ने कुरा र सरकारको छानबिनमा विश्वास छैन, संसदप्रति उत्तरदायी हुनेगरी सरकारले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षको अडानले संसद् अवरुद्ध भएको बताए ।  

उनले संसद्को अवरोध हटाउन आफूले पहल गरेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक तहमा पटक पटक संवाद गरेपनि निकास ननिस्किएको बताए ।  उनले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सदन अवरुद्ध हुँदा जनतामा वितृष्णा बढेको, व्यवस्थामाथि प्रश्न उठाउनेलाई मलजल गरेकाले  निकास खोज्न अनुरोध गरेको बताए । प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म सदन सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्ने बताएको उल्लेख गरे । 

यो मामिलामा सरकार, राजनीतिक दल गम्भीर ढंगले जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

सभामुख घिमिरेले संसद् संस्था स्थायी भएपनि सभामुख, उपसभामुख, सचिव नयाँ भएको बताउँदै छलफलमा उठेका कुराहरुलाई कार्यान्वयनमा लैजाने बताए । 

उनले सूचनाको हकको पालना गर्दा कति गर्ने के गर्ने भन्ने सीमितता हुने बताउँदै उनले सकेसम्म बढी संसद्को सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

उनले नेपालमा संसदीय अभ्यास र प्रजातान्त्रिक प्रणाली नै छोटो भएको उल्लेख गर्दै छोटो अनुभवभित्र कति अभ्यास गर्न सकिन्छ, त्यसलाई हाम्रै परिवेशमा सोच्नुपर्ने बताए । 

कानुनी रुपमा अप्ठेरो पर्ने, कानुनले प्रतिबन्ध गर्ने कुरा बाहेक अरू सूचना सहज रुपमा दिन अप्ठेरो नपर्ने उनले बताए । 

राष्ट्रिय सभाले इलेक्ट्रिक हाजिरी राखेको, संसदीय समितिमा पनि थोरै सदस्य हुने भएको हुनाले हाजिरी सार्वजनिक गर्न सजिलो भएपनि प्राविधिक समस्याका कारण प्रतिनिधि सभाको हाजिरी सार्वजनिक गर्न समस्या भएको बताए । 

यस्तै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न भ्रष्टाचार निवारण ऐन र गोपनीयताको हकका कारण नमिल्ने सभामुख घिमिरेले बताए ।

यस्तै उपसभामुख इन्दिरा रानाले संसद्का सबै गतिविधि लाइभ हुनुपर्ने बताइन् । रानाले पत्रकार निष्पक्ष हुनुपर्ने बताइन् ।

उपसभामुख रानाले भनिन्–‘मैले नभनेको कुरालाई पनि भाइरल बनाएका छन् । तपाईँहरू जुनसुकै पक्षको भएपनि निष्पक्ष हुनुपर्छ । संसद् पछिको अर्को संसद् भनेको मिडिया हो । तपाईँहरू जहिले पनि एकै जनासँग मात्र बिचार लिनुहुन्छ, महिला सांसदहरूको पनि कति कुरा हुन्छ, उनीहरुसँग पनि कुरा गर्ने गर्नुस् ।’ 

उनले संसदमा काम गर्ने पत्रकारलाई राज्यले लगानी गरेर निष्पक्ष ढंगले पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । पत्रकार सुशासनको अर्को नामपनि रहेको बताउँदै उनले पत्रकारलाई सूचना दिन कन्जुस्याइँ नगर्न आग्रह गरिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप