शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य

बिहीबार, २० वैशाख २०८१, ०९ : ५८
बिहीबार, २० वैशाख २०८१

पोखरा । पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन् भन्ने विषयमा केन्द्रित थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिए । स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए । 

यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गरे । स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उनको भनाई थियो । 

पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिइन् । किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उनले बताइन् । 

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोरीहरूमा छ । 

करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९/८० मा २० वर्ष मुनिका झण्डै २ हजार किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप