बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड सरकारलाई किन जिन्दाबाद भन्ने ?

आइतबार, ०३ भदौ २०८०, १४ : ३०
आइतबार, ०३ भदौ २०८०

नेपालमा गणतन्त्र स्थापना भइसकेपछि सुशासनको पक्षमा प्रचण्ड सरकारले लिएको कदम र साहसलाई यो भन्दा अघिका कुनै पनि सरकारसँग तुलना गर्न सकिँदैन । विना अवरोध राज्यका निकायले छानबिन गर्न पाउने वातावरण निर्माण गरिदिनु सुशासनका लागि आत्मा भरिदिनु हो, जुन प्रचण्ड नेतृत्वको सरकारले गरेको छ । 

यसबाट पैदा भएको पराकम्पले आजको नेपाली समाज र राजनीति तरङ्गित मात्र भएको छैन, पक्ष विपक्षमा विभक्त पनि छ । विगत केही वर्षदेखि बेथिति र अराजकताले निसास्सिने गरी छोपेको समाजलाई दह्रो मुटु बोकेर कोही शासक आइदिए हुन्थ्यो भन्ने एउटा आक्रोश, आवेग र आशावादीका नजर टट्याउन लागिरहेको बेला प्रचण्डको तेस्रो पटकको आगमनले त्यो धुमिल दृश्यलाई सपाट बनाउँदै लगेको छ ।

एउटा समाचार भर्खरै आयो कि यस पटक किसानले बेलैमा मल पाए । मलको हाहाकारले राजनीतिलाई धिक्कार्दै आफ्नो बगेको पसिनाप्रति पश्चात्ताप गर्ने एउटा किसानले यस पटक कम्तीमा कुनै राजनीतिलाई गाली गरेन । 

विद्यार्थीले बेलैमा पाठ्यपुस्तक पाए । विगतमा जस्तो कुनै अभिभावकले यस पटक आफ्ना नानीको भविष्यलाई साक्षी राखेर कुनै राजनीति र व्यवस्थालाई धारे हात लगाएनन् । यसरी वर्तमान राजनीतिलाई मानिसले गाली नगर्ने बनाउन सक्नु प्रचण्डको मात्र हितमा छ कि राजनीति गर्दैछु भन्ने सबैको हितमा छ, मनन गरौँ ।

प्रधानमन्त्रीको निरन्तरताको पहलले र निर्देशन तथा कृषि मन्त्रालयको सक्रियताले १० वर्ष यताकै सबैभन्दा ठुलो परिमाणमा रासायनिक मलको आपूर्ति भएको छ । मधेसलगायत ठाउँहरूमा जरा गाडेर बसेको सुदखोरको नयाँ अवतारको रूपमा विकराल बन्दै गएको मिटरब्याजी आतङ्क र उठीबास लाउने प्रचलनमा अङ्कुश लगाउँदैछ । हजारौँ बिगाहा जमिन फिर्ता र लाखौँ तमसुकहरू नष्ट गरिएको छ । प्रचण्ड सरकार जिन्दाबाद तिनले भन्दैछन्, जसको घर सुदखोरको बर्बादीबाट बचेको छ । 

हुन त जब प्रचण्डले राज्यसत्ताको नेतृत्व गर्छन् तब मात्र किसान, मजदुरले न्याय पाउने मानक नै स्थापित भएको छ । प्रचण्ड पहिलो पटक सरकारको नेतृत्व गर्दा किसानहरूको ऋण मिनाहा भयो र औपचारिक रूपमा मजदुरको सम्मानजनक ज्याला तोकियो । दोस्रो पटक सरकारको नेतृत्व गर्दा देशमा कहालीलाग्दो गरी जमेर रहेको लोडसेडिङको औपचारिक अन्त्य भयो । तत्कालीन नेपाली समाजले कहिले कल्पना नगरेको लोडसेडिङको अन्त्य गर्न सक्ने प्रशासकको नियुक्ति प्रचण्डको दूरदर्शी लिडरसिपको एउटा सानो नमुना मान्न सकिन्छ । 

धेरै समय सरकारको नेतृत्व गर्न मौका पाउँदा पनि कुनै राष्ट्रिय काण्डमा नपरी नैतिकता र सम्मानको आदर्शलाई स्थापित गर्दै बहिर्गमन हुनु प्रचण्डको सबैभन्दा ठुलो आदर्शलाई अबको राजनीति पढ्ने, बुझ्ने र लेख्नेहरूले अनुसरण गर्नुपर्ने हुन्छ । समकालीन नेताहरू सबै कुनै न कुनै राष्ट्रिय काण्डबाट अछुतो नरहेको बेला यो आदर्शले एउटा आशावादिताको भ्रूणलाई हुर्काएको छ । 

हुन त प्रचण्डसँग अरू धेरै विकल्पहरू थिए । गठबन्धनको सरकारको नेतृत्व गरेकाले यो अन्तिम हो । परम्परागत राष्ट्रिय लुटलाई संरक्षण गर्दै आफू र आफ्नो पार्टीको सुखमय यात्रा तय गरौँ भनेर एक मिनेट मात्रै पनि सोचीदिएका भए आजका राष्ट्रिय लुटेराहरूले उनको भक्तिगान र जयजयकार गर्दै रातो कार्पेटमा दिनहुँ भगवान् बनाउँदै हिँड्नेथे । र, गठबन्धनको बाध्यता भनेर स्पष्टीकरण दिन प्रचण्ड र उनको पार्टीलाई पनि आनन्दै भइरहन्थ्यो । 

विगतमा परम्पराझैँ बनेर रहेको सर्वदलीय लुटको घिनलाग्दो साङ्लो समाएर वैतरणी तर्ने कालो इतिहासको बर्खिलापमा यसपटक एउटा राष्ट्रिय नायक उभिए । हिन्दीमा एउटा भनाइ छ, ‘गलत बातको विरोध करते रहो, जमाना तुम्हे बागी कहेगा, गुलाम नहीँ ।’ प्रचण्ड हिजो पनि बागी हुन् र आज कुशासन, भ्रष्टाचार, बेतिथि, अराजकता र घोर व्यक्तिवादको विपक्षमा उभिएका बागी नै हुन् । 

गजबको कुरा त के भइदियो भने शरणार्थी बेचेर धनी बन्न खोज्नेहरू राज्यको जमिन निलेर ड्रागन बन्न खोज्नेहरू, सुन ओसारेर राज्य टाट पार्न खोज्नेहरू सायद यही जुनीमा कल्पना पनि गरेका थिएनन् कि प्रचण्ड फेरि यसरी आउनेछन् र कठालो समाएर भन्नेछन्, यु आर रङ (तिमी गलत छौ), अब सजाय भोग । किनकि इतिहासमा तिनले कैयौँ पटक प्रचण्डलाई जमिनमुनि गाडेको घोषणा गरेका थिए । दाह्रा, नङ्ग्रा उखेलिदिएको उद्घोष गरेका थिए । र, उनको तेजोबध गरेर लावारिस फ्याँकी दिएको फर्मान जारी गरेका थिए । तर तिनले बिर्सिए कि आजको नेपाली समाजका संस्कृति र व्यवस्था प्रचण्ड विचारबाट निर्देशित छ र विचार कहिल्यै मर्दैन ।

संविधान देशको मूल कानुन हो । यो विश्वव्यापी मान्यता हो र यो संविधान प्रचण्ड निर्देशित महान् आन्दोलनको उत्पादन हो । यो संसारले स्वीकारेको सत्यलाई मूर्खहरुले बाहेक कसैले इन्कार गर्न सक्दैन । अनि, यस व्यवस्थाप्रति भ्रम र द्वेष पैmलाएर यसको विघटन गर्न खोज्नेहरूले प्रचण्ड अन्त्यको पटक पटक घोषणा गर्दै आएका छन् । इतिहासले फेरि एकपटक हिम्मत गरेर जसको विचार, उसको नेतृत्वको ऐतिहासिक तथ्यलाई प्रचण्ड उदयबाट पुष्टि गर्न खोजेको छ ।

यदि हामी यही व्यवस्थामार्पmत् हाम्रो देश, हाम्रा भावी सन्ततिको भविष्य सुनिश्चितताको परिकल्पना गर्छौं भने सडकमा प्रचण्डप्रति देखिएका केही झिना विरोधका मथिङ्गललाई एउटा प्रश्न सोधौँ– आजको मितिमा प्रचण्डले गर्नुपर्ने के हो ? के भ्रष्टहरूलाई झापड हान्न उठेका हातहरू उनीसँग न्यानो गरी मिलाउनु पर्ने ? राज्य बेच्नेहरूलाई फुलमाला लाउनुपर्ने ? घुसखोरका एजेन्टहरूलाई काखमा थपथपाउनु पर्ने ? के नाम चलेका कुशासक र भ्रष्टहरूको फाइलहरू नखोली बागमतीको फोहोरको डङ्गुरमा मिल्काइदिनुपर्ने र मिल्काएर भन्नुपर्ने आऊ तिमी र म सँगसँगै गरौँ यात्रा । देश निल्ने अभियानको सँगै गरौँ सल्लाह ।

नेपालीमा एउटा उखान छ, अभागीलाई खाने बेलामा टाउको दुख्छ । हाम्रो सामाजिक मनोविज्ञान राम्रोसँग बुझेका केही अगुवाहरु यो उखानको मनोविज्ञानलाई फेरि क्यास गर्न सकिन्छ कि भनेर न्वारानदेखिको बल लगाइरहेको यो बेला तपाई के सोच्दै हुनुहुन्छ ? महत्त्वपूर्ण सवाल यो छ, सबैतिर निराशा र असन्तोषको बादल मात्र मडारिएको बेला पर क्षितिजमा दृश्य बनेर पलाएका प्रचण्ड आशावादितालाई हेर्न सक्नु आजको सामाजिक दायित्व हो । र, यो उनको पार्टीको मात्र प्रश्न होइन । कोही शासक त हामीले खोजेकै हो ? बदमासको कठालो समाउन सक्ने । आजको नेपालमा बाँचेका शासकमध्ये हिम्मत प्रचण्डले देखाए । 

इतिहासले पटक पटक सबैलाई धेरथोर अवसर दिएकै थियो तर कसैले आँट गरेनन् । हिम्मत गर्नेले नै युद्धको नेतृत्व गर्छ । नेतृत्वको विश्वास गर्नेले नै युग परिवर्तनमा योगदान गर्न सक्छ । एउटा राष्ट्रिय युद्ध सुरु भएको छ । अंकगणितले स्वाभाविक प्रचण्ड कमजोर छन् तर इच्छा क्षमता र केही गरौँ भन्ने इमानदार हुटहुटी समकालीन नेताहरूभन्दा धेरै धेरै धेरै माथि छ । 

अङ्कगणित त तत्कालीन घटनाक्रमले सापेक्षित रूपमा सिर्जना गर्ने अल्पकालीन सत्य मात्र हो । मुख्य कुरा त जनताको पक्षमा, व्यवस्थाको पक्षमा र परिवर्तनको पक्षमा कसले कतिबेला कस्तो कदम अगाडि बढाउँछ । आज अहिले र हिजो पनि प्रचण्डका कदम र पहलकदमी दृश्य–अदृश्य सधैँ क्रान्तिको पक्षमा रह्यो । र, आजको पुस्ताले, आजको वर्तमानले झन् प्रष्ट बुझ्ने, चिन्ने र थाहा पाउने गरी प्रकट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश उप्रेती ‘सुशील’
गणेश उप्रेती ‘सुशील’
लेखकबाट थप