आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्लोभेनियाका महिला फुटबल खेलाडी भन्छन्– ‘अब अति भयो, पुरुष प्रशिक्षकको दुर्व्यवहार सहने पनि हद हुन्छ’

बिहीबार, २१ भदौ २०८०, १३ : १२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । डोमिनिका कन्क थाकिसकिन् । उनीजस्तौ थुप्रै महिला फुटबल खेलाडी थाकिसकेका छन् । उनीहरुले पटक-पटक आवाज उठाएका छन् । तर, कतैबाट उनीहरुको आवाज सुनिँदैन । अवस्था झनझन खराब हुँदैछ । तर, उनीहरु जबरजस्ती मैदानमा देशका लागि पसिना बगाउन बाध्य छन् । तर, उनीहरुले हिम्मत भने अझै हारेका छैनन् ।

डोमिनिका कन्क स्लोभेनियाकाको राष्ट्रिय महिला फुटबल टोलीकी उपकप्तान हुन् । गत जुलाईमा डोमिनिका कन्क र राष्ट्रिय टोलीबाटै फुटबल खेल्ने अन्य ३० जना महिला खेलाडीले स्लोभेनिया फुटबल महासंघलाई गोप्य रुपमा पत्र पठाएका थिए । 

तर, त्यो पत्रले पनि उनीहरुको खेलजीवनमा खुसी ल्याउन सकेको छैन । स्लोभेनियाको राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक ब्रुट जार्कको अशोभनीय ब्यवहारबाट आफूहरु आजित भएको उनीहरुको आरोप छ । स्लोभेनियाका महिला खेलाडीहरुले प्रमुख प्रशिक्षक ब्रुट जार्कलाई यथाशीघ्र पदबाट बर्खास्त गरिनु पर्ने माग राखेका छन् ।

फुटबल महासंघलाई खेलेको पत्रका उनीहरुले स्पष्ट रुपमा लेखेका छन्, ‘अब अति भयो । प्रमुख प्रशिक्षक ब्रुट जार्कको ब्यवहारबाट हामी महिला खेलाडी आजित भइसक्यौं । कहिले भद्दा तरिकाले जिस्काउने, कहिले अशोभनीय टिप्पणी गर्ने, कहिले लैङ्गिक दूब्र्यवहार गर्ने अनि कहिले शरिरका विभिन्न भागमा छुने ! सहने पनि हद हुन्छ । अब त अति भयो । अशोभनीय ब्यवहारले सिमा नाघिसक्यो ।’

महिला खेलाडीहरुले आफूहरुलाई अभ्यासमा जानसम्म डर लाग्ने गरेको बताएका छन् । फुटबल महासंघबाट पनि कुनै सुनुवाई नभएपछि अहिले स्लोभेनियाका महिला खेलाडीहरु सञ्चारमाध्यमसँग पनि खुल्न थालेका छन् । 

‘खेलाडीहरु मानसिक रुपमा पनि पिडीत छन् । फुटबल मैदानका वातावरण निकै अव्यवसायिक छ । खेलाडीहरु तनावमा छन्,’ ३० वर्षीया डोमिनिका कन्कले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनेकी छन्, ‘अत्यन्तै अशोभनीय ब्यवहार हुन्छ । कतिपय टिप्पणी त सुन्नसमेत सकिँदैन । यौन दूर्व्यवहारका घटनाले सिमा नाघिसकेको छ । हामी खेलाडीको पारिवारिक विषयलाई समेत फुटबल मैदानमा चर्चाको विषय बनाइन्छ ।’

football1

अहिले राष्ट्रिय महिला टोलीका अधिकांश खेलाडी मानसिक रुपमा विक्षिप्त अवस्थामा रहेको पनि उनले बताएकी छन् । डोमिनिका कन्कले त्यतिबेला आफ्नो मुख खोलेकी छन्, जतिबेला विश्वकप विजेता स्पेनिस महिला फुटबल टोलीमा देखिएको ठिक यस्तै समस्या सतहमा आएको छ ।

यतिबेला स्पेनिस महिला फुटबलमा देखिएको समस्या विश्वभर गम्भीर चर्चाको विषय बनेको छ । डोमिनिका कन्कले स्पेनको घटनाबाट प्रभावित भएर नै आफूहरुले पनि समस्या बाहिर ल्याउने हिम्मत जुटाएको बताएकी छन् ।   

खासमा अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको थियो । अस्ट्रेलियाको सिड्नीस्थित रंगशालामा खेलिएको फाइनल खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले हराएको थियो । जितको खुसीयाली मनाउने क्रममा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसले अशोभनीय ब्यवहार प्रदर्शन गरेका थिए । 

रुबिलेसले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेका थिए । त्यसपछि अध्यक्ष रुबिलेसको उक्त अप्रिय ब्यवहारको चौतर्फी विरोध र आलोचना भएको थियो । 

आफ्नो उक्त कार्यका लागि अध्यक्ष रुबिलेसले सार्वजनिक रुपमै माफी मागेका थिए । तर, स्पेनका प्रधानमन्त्रीले त्यो घटनाका लागि माफीमात्र पर्याप्त नरहेको बताएका थिए । हाल विश्व फुटबल महासंघ (फिफा) ले उनलाई पदबाट निलम्बन गरिसकेको छ र उनीमाथि आवश्यक छानबिन भइरहेको छ । जेनिफर हर्मोसो पनि कानुनी उपचारको खोजीमा अगाडि बढिसकेकी छन् । 

स्लोभेनियाको महिला फुटबल टोलीका खेलाडीहरुले प्रमुख प्रशिक्षक ब्रुट जार्कमाथि फुटबलको आडमा मदिराको तस्करी गर्ने गरेको र फुटबल क्याम्पमै मदिरा सेवन गरेर खेलाडीमाथि दूब्र्यवहार गर्ने गरेको आरोप पनि लगाएका छन् । ‘हामीले यस विषयमा फुटबल महासंघका अध्यक्षसँग पनि कुरा गरेका थियौं तर, त्यहाँबाट पनि कुनै सुनुवाई नभएपछि हामी निराश छौं,’  डोमिनिका कन्कले भनेकी छन् । 

यसैबीच, स्लोभेनियाका प्रमुख प्रशिक्षक ब्रुट जार्कले फुटबल महासंघमा आफ्नो राजीनामा बुझाएको बताइएको छ । उनले अविश्वास र असहजताबीच काम गर्न नसकिने भन्दै राजीनामा बुझाएको समाचारमा जनाइएको छ । डोमिनिका कन्कले भने प्रशिक्षक ब्रुट जर्कले राजीनामा दिए पनि फुटबल क्याम्पको वातावरणमा कुनै सुधार नआउने दाबी गरेकी छन् । 

‘ब्यक्ति गए पनि प्रवृत्ति उही छ । हामीले ब्यक्तिभन्दा पनि प्रवृत्तिको विरुद्दमा आवाज उठाएका हौं । जबसम्म महिला खेलाडीमाथि हुने विभेद कायम रहन्छ तबसम्म समस्याको समाधान हुँदैन । यो संस्कार बनिसकेको छ र संस्कारलाई जरैदेखि नउखेलेसम्म परिस्थितिमा सुधार आउन सक्दैन,’ उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप