शुक्रबार, ३२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीतिक टकराव

जहाँ उपेन्द्र हुन्छन्, त्यहाँ जाँदैनन् सीके राउत

आइतबार, ०६ जेठ २०८१, १५ : ३०
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धन छाडेर विपक्षी गठबन्धनमा गएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत विपक्षी गठबन्धनबाट अलग भएका छन् ।

माओवादी केन्द्रले कांग्रेसको गठबन्धन छाडेर एमालेसँग गठबन्धन बनाएपछि जनमत पार्टीका अध्यक्ष राउत कांग्रेससँगै विपक्षी गठबन्धनमा बसे । गठबन्धन धेरै हेरफेर गर्न नहुने भन्दै उनले विपक्षी मोर्चा नै रोजेका थिए ।

तर अहिले जसपा नेपालका अध्यक्ष यादव सत्ता गठबन्धन र सरकारबाट अलग भएपछि विपक्षी मोर्चामा गएका छन् । जसपा नेपाल विपक्षी मोर्चामा आएसँगै जनमत पार्टीका अध्यक्ष राउत भने त्यहाँबाट बाहिरिएर सत्ता गठबन्धनमा जाने तरखरमा छन् ।

सत्ता गठबन्धनले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिने भनेका कारण नै सीके सत्ता गठबन्धनमा जान लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र र एमालेले पनि मधेस प्रदेशमा जनमत पार्टीलाई नेतृत्व दिने लगभग निश्चित गरिसकेका छन् । जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भनेर प्रक्रिया पनि सुरु गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार लिने विश्वासको मतमा जनमत पार्टीले समर्थन जनाउने स्रोतले दाबी गरेको छ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले मधेस प्रदेश प्रदेशमा आफ्नो पार्टीलाई नेतृत्व दिएमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए ।

प्रदेशस्तरमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको भन्दै उनले त्यसमा केन्द्रमा सहमति हुन बाँकी रहेको बताए । यसबारे केन्द्रमा चाँडै टुङ्गो लाग्ने उनको भनाइ छ ।

जसपा नेपालले आफूहरूलाई थुप्रै पटक धोका दिएका कारण त्यो दलसँग सहकार्यको सम्भावना नरहेको उपाध्यक्ष साह बताउँछन् । उनले भने, ‘भोलिका दिनमा सुध्रिएर आए भविष्यमा के हुन्छ, त्यो भन्न सकिँदैन तर हाल जसपा नेपालसँग कुनै सहकार्य हुँदैन ।’

कांग्रेस नेतृत्वको गठबन्धन छाडेको हो त भन्ने जिज्ञासामा उनले छाडेको पनि होइन र गएको पनि छैन भन्ने अस्पस्ट जवाफ दिए । उनले आफूहरू जेठ १५ गतेको तयारीमा रहेका कारण बैठकमा जान नपाएको जिकिर गरे ।

संसद अवरोधको विषयलाई लिएर केही दिनदेखि विपक्षी गठबन्धनको बैठक लगातार बसिरहेको छ । त्यो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जान थालेका छन् । बैठकमा लोसपा, राप्रपाका नेताहरू पनि हुने गरेका छन् ।

जसपा नेपाल र जनमत पार्टीबिच मधेस प्रदेशमा द्वन्द्व छ । सप्तरी–२ बाट उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले हराएपछि दुई दलको बिच द्वन्द्व सुरु भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उपनिर्वाचनमा भाग लिँदा त्यहाँ पनि सीके राउत आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

सप्तरीमा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याशको विषयलाई दिएर दुई पार्टीबिच झडप नै भएको थियो । झडपका कारण जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप