बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फिल्मी संवाद

'तीनवटै फिल्म हिट भएकाले म सफल निर्देशक हुँ'

प्रेमकथाको तुलनामा सामाजिक कथामा फिल्म बनाउन कठिन रहेछ : झरना थापा
शुक्रबार, २९ भदौ २०८०, ११ : ४५
शुक्रबार, २९ भदौ २०८०

एक समय नेपाली फिल्म क्षेत्रकी चर्चित अनि सफल अभिनेत्री हुन् झरना थापा । पछिल्लो समय उनी निर्देशकका रूपमा चिनिएकी छन् । ‘एक मेरो हजुर–२’ बाट निर्देशनमा डेब्यु गरेकी थापाको यसअघि नै तीन फिल्म रिलिज भइसकेका छन् । यस्तै चौथो फिल्म ‘एक भागवत् र एक गीता’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ ।

अघिल्ला तीन फिल्म विवादरहित ढंगले सफल बनाएकी उनको अहिलेको फिल्म भने विवादमा मुछियो । फिल्मको नाम ‘एक भगवत् गीता’लाई लिएर विभिन्न धार्मिक संघ संस्थाले विवाद निम्त्याएका थिए । 

हाल ‘एक भगवत् गीता’ बाट ‘एक भागवत् र एक गीता’ फिल्मको नयाँ नाम राख्दै विवाद मत्थर बनाएकी उनलाई यो फिल्म पनि हिट दिनुपर्ने चुनौती छ । फिल्मको विवादबाट धेरै सिक्ने अवसरसमेत मिलेको बताउने निर्देशक झरना थापासँग प्रस्तुत छ, रातोपाटीले राखेको केही प्रश्नको सम्पादित अंशः  

‘एक भगवत् गीता’को विवाद मिल्दा ठुलै झमेलाबाट मुक्त भएँ भन्ने लागेको होला है ?

जति नै दुःख र अप्ठ्यारो परेपनि शान्त भएर धैर्यताको साथ अगाडि बढ्ने बानी भएकोले यो पटक पनि धेरै आत्तिएको थिइनँ । फिल्म रिलिजको दिन नजिकिँदै गर्दा झमेलाले मिहिनेत र ठुलो लगानी गरेको फिल्म रिलिजमा बाधा पर्ने हो कि, श्रम खेर जान्छ कि भन्ने पिरलोले भने सताएको हो । शुभचिन्तक र भगवान्को कृपाले पार लाग्यो । अहिले शान्ति मिलेको छ ।

सुरुमा त यो विवाद फिल्म युनिटको स्क्यान्डल भन्ने कुरो पनि थियो नि त ?

यो कुरो मैले पनि सुनेको थिएँ । आफूले नगरेको भएकोले चुप रहेँ । जुन कुरो आफूले गरेकै छैन, त्यो कुरोमा यस्तो भनिरहनु पनि मनासिब ठानिनँ । किनभने एकदिन सत्य बाहिर आउँछ भन्ने थियो । 

फिल्म युनिटका केही सदस्यले समेत स्क्यान्डल गरेको हो र ? भनेर प्रश्न गर्थे । साँच्चिकै हो र होइन भन्ने भन्दा पनि गाह्रो पर्ने अवस्था आउन सक्छ भन्दा झसंग हुन्थे ।

सेन्सर सिफारिसमा अनावश्यक दुःख पाउनु भयो । यसमा दोष कसको थियो ?

दोष यसको भन्दा पनि समयको खेल मान्छु । समय परिस्थिति त्यस्तै भएर आयो । ७/८ महिना पहिल्यै फिल्मको नाममा विवाद आएको छ भनेर बोर्डबाट खबर त आएको थियो । तर, त्यो समय सामान्य ठानियो । नाम भगवत् गीता भए पनि कन्टेन्ट फरक छ, केही फरक पर्दैन भनेर लागियो ।

धार्मिक संघ संस्थाले पनि नाम ‘एक भगवत् गीता’ राखेपछि भित्र समाजमा नराम्रो असर, कन्टेन्ट होला भनेर चासो दिनु भएको हो । फिल्मको ट्रेलर रिलिज समयमा फेरि उहाँहरू उजुरी बोकेर विकास बोर्ड पुग्नु भयो । त्यसपछि मात्र विवाद चर्किएको हो । हामीले छलफलमा मिलाएका छौ ।

जे हुन्छ, राम्रोको लागि हुन्छ । हाम्रो फिल्मको झमेलाले विकास बोर्डदेखि फिल्मकर्मी सबैलाई सिकाई भयो । 

धार्मिक संघ संस्थालाई तपाईँको विपक्षमा प्रयोग गर्ने पनि भेटिए कि ?

ससर्ती हेर्दा हामी विरुद्ध धार्मिक संघसंस्था प्रयोग गर्ने त्यस्तो कुनै पक्ष अहिलेसम्म त भेटेकी छैन । उहाँहरू स्वतस्फूर्त रूपमा आउनु भएको होला । उहाँहरुले चासो देखाएर आउनु भयो, हामीले बुझाएर पठायौ ।

एउटा फिल्मकर्मीको पीडामा अरू चुपचाप बसे, यो एकता नभएको संकेत हो त ?

सुरुमा सबैलाई यो फिल्म युनिट आफैले गरेको स्क्याण्डल होला भन्ने लाग्यो । बिस्तारै विवादले ठुलो रुप लिँदै जाँदा यो घटाइएको हैन, घटेको घटना रहेछ भन्ने सबैले बुझे । त्यसैले सबैबाट साथ र सपोर्ट मिल्यो । 

फिल्मकर्मीदेखि अन्यबाट सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सपोर्ट मिल्यो । कतिपय फिल्मकर्मी त विकास बोर्डसम्म आएर सहयोग गर्नुभयो । मैले फिल्म उद्योगबाट पुरै सपोर्ट पाएकी छु ।

सबैबाट सपोर्ट भएको त भन्नु भयो । तर, विदेश पलायनको कुरा किन आयो नि ?

विदेश पलायन हुने कुरो मेरो दिमागमा एकरत्ती पनि थिएन र छैन पनि । धेरै लगानी गरेको फिल्म विवादमा पर्दा निर्माता सुनिल जीको मन दुख्यो । त्यो दुःखमा उहाँले भावुक कुरा गर्नुभयो । 

अहिलेसम्म नेपाली फिल्ममा कुनै पनि त्यस्तो निर्माता छैन, जसको २÷४ करोड डुबेर फरक नपरोस् । यो फिल्म रिलिज हुन पाउँदैनथ्यो भने हामीलाई ठुलो झड्का लाग्थ्यो । विवादले फिल्मको लगानीमा असर पर्ने डरले उहाँ भावुक हुनु भएर पलायनको कुरा गर्नु भएको हो ।

jharana

एउटै फिल्मको नाम ४ पटकसम्म संशोधन, यो त हैरानी हो नि ?

हो, यो दुःखको बिषय हो । 

‘भागवत् गीता’ नाममा किन रुचि नि ?

म भगवान् श्रीकृष्णको भक्त हुँ । म जुन भगवान्को भक्तिमा छु, उसैको नामबाट फिल्म बनाएँ । त्यसैले पात्रको नाम भगवत् र गीता राख्न मन लाग्यो । निर्माण घोषणादेखि अहिलेसम्म मैले फिल्म धार्मिक विषयमा हो भनेको पनि छैन । यो एउटा सामाजिक विषयवस्तुमा बनेको कमर्सियल फिल्म हो ।

यसअघि मैले तीन फिल्म प्रेमकथामा बनाएकी थिएँ । यो पटक सामाजिक विषयवस्तुमा कथा बनाएँ । ईश्वरका प्रेममा पात्रको नाम राखे । ग्रन्थको आधारमा रहेर फिल्म बनाउन खोजेको पनि होइन । ग्रन्थको नाम ‘श्रीमद् भागवत् गीता’ हो । मैले फिल्मको नाम पुरै राखेको पनि होइन । जसरी सिताराम नाम राखिन्छ । त्यसैगरी यो नाम राखेको हो ।

खासमा फिल्म ‘एक भागवत् र एक गीता’ को कथा के हो ?

सबैले बुझ्ने भाषामा यो एक सामाजिक कथामा निर्माण भएको पूर्ण मनोरञ्जनात्मक फिल्म हो । फिल्मको ट्रेलर, टिजरलगायत प्रचार सामग्रीले पनि यसको बारेमा यही बुझाएको छ ।

मिथिलाका ट्रान्सवुमनको एउटा समुदाय छ, त्यो समुदायको मान सम्मान र इज्जतको लागि फिल्ममा लड्न खोजेको विषय हो ।

तपाईंको अघिल्ला तीन फिल्म हिट छन् । यो पनि हिट हुनुपर्छ भन्ने प्रेसर कत्तिको छ ?

अघिल्लो फिल्म हिट भइरहँदा अबको फिल्म पनि हिट दिनुपर्ने प्रेसर हुँदो रहेछ । प्रेमकथा तथा कमर्सियल फिल्मको तुलनामा सामाजिक कथा भने फिल्म बुन्न अलि कठिन पर्दाे रहेछ । यसबाट मैले अनुभव गरे । 

कमर्सियल फिल्ममा रमाइलोका लागि सानातिना प्लट जे राख्दा पनि हुन्छ, सामाजिक फिल्ममा मिल्दैन रहेछ । सामाजिक विषयमा अध्ययन, खोज धेरै गरेर, कसैको भावनामा पनि चोट नपुग्ने गरी काम गर्न जिम्मेवार बनाउने रहेछ । विगतका फिल्मको तुलनामा यो फिल्मबाट मैले धेरै कुरो सिक्न सकेँ । 

फिल्ममा तराई र पहाड जोडेको कुरो छ रे, कसरी ?

हो, तराई र पहाडी भेगलाई एउटै फिल्ममा देखाउने प्रयास गरेकी छु । दुवै ठाउँको कल्चर पनि समेटेको छु । दर्शकले कसरी लिन्छन् भनेर हेर्न बाँकी छ । तराईदेखि पहाड सम्मको कथा एउटै फिल्म बुन्नु र देखाउन भने अप्ठ्यारो हुने रहेछ । 

फिल्ममा एक अर्काको सम्बन्ध, माया र कल्चरलाई हेर्ने दृष्टिकोणसमेत देखाएकी छु । मलाई लाग्छ, यसरी अझै नेपाली फिल्म बनेको छैन । मधेसको दर्शकलाई नेपाली फिल्मको बानी पार्न र मधेस, पहाड सबै नेपाल हो भनेर बुझाउने पनि कोसिस हो ।

अब कस्तो फिल्म बनाउन मन लागेको छ ?

काम गर्दै जाँदा नयाँ नयाँ विषयवस्तुमा काम गर्ने चाहना बढ्दे जाने रहेछ । अब मेरो प्रयास समाजका कथा, कला, सांस्कृतिक पाटोको कथा नै अगाडि बढाउने रहन्छ ।

फिल्म क्षेत्रमा महिला निर्देशकलाई हेपिन्छ रे, यस्तो हो र ?

पहिलो फिल्मदेखि नै मैले त्यो अनुभूति गर्नु परेको छैन । पहिले पहिले अभिनेत्रीको रूपमा काम गर्दा भने यो अनुभव गरेको थिएँ । त्यो समय अभिनेत्रीको तुलनामा अभिनेता हाबी हुन्थे । 

निर्देशकको रूपमा भने हेपिएको महसुस गर्नु परेको छैन । सायद अहिले सबै शिक्षित भएकोले पनि होला । जुनबेला म ‘ए मेरो हजुर’को सिक्वेल बनाउदै थिएँ । त्यो समय मैले निर्देशनमा डेब्यु गर्दै गर्दा पुरानो अभिनेत्रीले के राम्रो बनाउँछ भनेर नपत्याएको अवस्था भने थियो ।

निर्देशनमा तपाईँ आफूलाई सफल, असफल के मान्नुहुन्छ ?

दर्शक र ईश्वरको कृपाले मेरो निर्देशन रहेको तीनवटै फिल्म हिट भए । त्यो हिसावले आफूलाई सफल मान्छु । हरेक मानिसले मिहिनेत र लगनको साथ कुनै काम गर्छ भने त्यो सफल हुन्छ । अहिलेसम्मको अवस्थामा म सफल निर्देशक हो ।

‘एक भागवत् र एक गीता’ फिल्मबाट व्यावसायिक अपेक्षा कस्तो छ ?

एउटा मेकरका लागि फिल्मको व्यवसाय रिक्स हो । सफल, असफल जे पनि हुन सक्छ । अहिले प्रतिस्पर्धाको जमाना छ । नेपाली फिल्मले एकअर्काेसँग प्रतिस्पर्धा गरे त हुन्थ्यो नि । यहाँ त विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यसबाट नेपाली फिल्म सुरक्षित नभएको महसुस हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप