मिसन ८४ बारे अलमल : माओवादीको तर्कमा एमालेको फरक मत
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा सत्ता समीकरणमा तीन फन्को लगाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान समीकरणलाई नै निरन्तरता देलान् भन्नेमा सत्ताघटक नेताहरू नै विश्वस्त छैनन् । यद्यपि विगतको अभ्यासबाट पाठ सिकेर नयाँ राजनीतिक कोर्स करेक्सन गर्नुपर्नेमा माओवादी नेताहरूले जोड दिएका छन् ।
पछिल्लो एमाले–माओवादी समीकरणले वामपन्थी एकताको आधार तयार भएको माओवादीका उपमहासचिव हरिबोल गजुरेलको बुझाइ छ । वैशाख १५ गते भएको उपनिर्वाचनको सन्देश पनि वामपन्थी शक्तिबिच एकता र सहकार्यलाई जोड दिएको उनले विश्लेषण गरे । तर वामपन्थी एकताका लागि नेतृत्व कति लचक हुन्छन्, त्यसमा भर पर्ने गजुरेलको भनाइ छ ।
‘चुनावी परिणामले वामपन्थी जनमत राम्रो देखाएको छ । हाम्रै मतले इलाममा एमालेका उम्मेदवार राम्रो मत ल्याएर विजयी हुनुभयो । वामपन्थीबिच एकता, सहकार्यका लागि वर्तमान समीकरण र चुनावी परिणाम राम्रो आधार भएको छ । थप बलियो बनाएर लैजान नेतृत्वले पहल गर्नुपर्छ तर त्यसका लागि उनीहरू तयार छ कि छैनन्, त्यसमा भर पर्छ,’ गजुरेलले भने ।
माओवादीका सचिव देवेन्द्र पौडेलले पनि चुनावी रुझान् वामपन्थी एकताको पक्षमा रहेको विश्लेषण गरे । यसले राजनीतिक कोर्स करेक्सन गरेर जान मद्दत गरेको उनको बुझाइ छ । २०८४ सम्ममा फेरि एमालेका अध्यक्ष केपी ओली र प्रचण्ड मिल्नुको विकल्प नभएको उनले जोड दिए ।
‘वामपन्थीबिच एकता र सहकार्यको विकल्प छैन । यसको पहल ओली र प्रचण्डले गर्नुपर्छ । अध्यक्षले पनि दीर्घकालीन सोचका साथ नयाँ समीकरण बनाइएको स्पष्ट पार्नुभएको छ’, पौडेलले भने, ‘अब दायाँबायाँ हुँदिनँ भन्नुभएको छ । ०८४ को निर्वाचनसम्म वामपन्थी शक्ति मिल्नुको विकल्प छैन । पछिल्लो चुनावी परिणामले पनि वामपन्थीबिच एकताको आधार बनेको छ ।’
नेतृत्वमा आएदेखि नै कहिले यता कहिले उता मोडिने अस्थिर स्वभावका प्रचण्ड निरन्तरतामा क्रमभंगता गर्दै छलाङ मार्ने स्वभावका छन् । २०८० फागुन २१ गते कांग्रेससँग सत्ता समीकरण फेरिएपछि आफू जीवित रहेसम्म राजनीतिक उथलपुथल भइराख्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डका विगतका स्वभावले पनि यी कुरालाई पुष्टि गरेको छ ।
- माओवादीको तर्कमा एमालेको फरक मत
प्रचण्डका यही स्वभावजन्य अवस्थालाई मूल्याङ्कन गर्दै एमालेका नेताहरूले तत्काल एकता वा सहकार्य हुनसक्ने सम्भावना नभएको बताउँछन् । महासचिव शंकर पोखरेलले २०८४ सम्म अहिलेकै समीकरणलाई बलियो बनाउने पक्षमा आफू भए पनि तत्काल माओवादीसँग एकता वा सहकार्य नभएको निष्कर्ष निकाले ।
‘हामीले माओवादीसँग सत्ता सहकार्य गरेका हौँ । विगतको अनुभवले तत्काल वामपन्थी एकता र सहकार्यको सम्भावना छैन । तथापि यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ,’ उनले भने ।
माओवादीका नेताहरू पछिल्लो वामपन्थी समीकरण, पछिल्लो चुनावी परिणामलाई वामपन्थीबिच एकताको आधार भएको प्रतिक्रिया दिइरहेका छन् । तर एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनावी रुझानले ०८४ मा एक्लै लड्न आत्मबल बढेको बताएका छन् । आगामी निर्वाचनसम्म समीकरणको अवस्था हेरेर माओवादीसँग आवश्यकता अनुसार सहकार्य हुन सक्ने भए पनि तत्काल वामपन्थी एकता वा सहकार्यको कुनै गुञ्जायस नभएको स्पष्ट पारे ।
‘हामी अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म थप बलियो बनाएर लैजान पहल गर्नेछौँ । उहाँहरूसँग सत्ताका लागि सहकार्य गरेको हो, एकता वा वामपन्थी ध्रुवीकरणका लागि होइन’, ज्ञवालीले भने, ‘भविष्यमा सम्बन्ध सुमधुर बन्दै गयो भने आवश्यकता अनुसार सहकार्य हुन सक्छ । तर हाम्रो ध्यान एक्लै निर्वाचनमा एकल बहुमत ल्याउनेमा छ । निर्वाचन परिणामले पनि त्यही देखाएको छ ।’
दुवै पक्षका नेताहरूको अभिव्यक्ति हेर्दा वामपन्थी एकतामा सबैभन्दा उत्साहित माओवादी देखिएको छ । एमालेका नेताहरू सचेततापूर्वक सहकार्य गर्ने मुडमा पुगेको देखिन्छ । यद्यपि एमालेको सम्भावित मुभ, गठबन्धन अन्य घटकहरूको गतिविधि, कांग्रेसको भूमिका, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयबारे प्रधानमन्त्री जानकार रहेको प्रचण्ड निकट एक नेताले भने ।
‘हामी वृहत् वामपन्थी एकता र सहकार्यको पक्षमा छौँ । आगामी निर्वाचनसम्म यही गठबन्धनलाई बलियो बनाएर लैजान प्रधानमन्त्रीको इमानदार पहल गरिरहनुभएको छ’, सत्तामा टिकिराख्ने भए कांग्रेससँग सुविधाजनक बहुमत हुँदाहुँदै उहाँले जोखिम मोल्नु हुन्थेन’, ती नेताले भने ‘विचार मिल्ने शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण आवश्यक बोध भएर नै वामपन्थी समीकरण गर्नुभएको हो । यो समीकरण भत्काउन विभिन्न चलखेल हुनु स्वाभाविक हो । पछिल्लो राजनीतिक अवस्थासम्बन्धमा हामी जानकार छौँ ।’
प्रधानमन्त्रीको आगामी कदम के हुन सक्छ भन्ने विषयमा ती नेताले खुलाउन चाहेनन् । तथापि सरकार अप्ठ्यारो पर्ने स्थिति आएमा जनताबिच गएर संगठन सुदृढ गर्ने, वृहत् वामपन्थी ध्रुवीकरणको पक्षमा सशक्त अभियान सञ्चालन र ०८४ को निर्वाचन तयारी गर्नेमा ध्यान केन्द्रित गर्ने उनले संकेत गरे ।
- अलमलमा माओवादी
पछिल्लो चुनावी परिणामले अबको मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले भएको देखाएको छ । निर्वाचनअघि गठबन्धन गर्न नहुने पक्षमा यी दुवै दलभित्र तीव्र बहस भएको छ । सम्भावित घटनालाई हेरेर माओवादीले पनि आफ्नै खुट्टामा उभिने गरी विशेष अभियानका कार्यक्रम ल्याउन नेतृत्वमाथि दबाब बढाएका छन् ।
फागुनको पहिलो साता सम्पन्न कांग्रेसको महासमिति बैठक, एमालेको केन्द्रीय समिति बैठक र माओवादीको विधान अधिवेशनमा यसबारे गम्भीर बहस भएको छ । तर कसरी अगाडी बढ्ने भन्ने विषयमा माओवादी नेतृत्वले अहिलेसम्म ठोस योजना ल्याउन सकेको छैन । माओवादी घटकबिच एकता र विचार मिल्नेसँग सहकार्यको नीति लिए पनि सफल हुन सकेको देखिँदैन ।
- कमजोर संगठन, खस्किँदो ग्राफ
सशस्त्र विद्रोहअघि नेकपा माओवादीले संसदीय निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार २०४८ को निर्वाचन उपयोग गर्यो । तत्कालीन नेकपा(एकता केन्द्र)को खुला मोर्चा संयुक्त जनमोर्चाले निर्वाचनमा तीन लाख ५१ हजार ९०४ मत पाएको थियो । कुल सदर मतमध्ये जनमोर्चाले पाएको मत ४ दशमलव ८३ प्रतिशत हो । २०५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा ९ सिट जितेको थियो । संसदीय निर्वाचनमा भाग लिएको ३१ वर्षपछि २०७९ सालको निर्वाचनमा माओवादीले समानुपातिक जम्मा मत ११ लाख ७५ हजार ६८४ प्राप्त गर्यो । प्रतिशतको हिसाबले कुल सदर मतको १३.०३ प्रतिशत मत पाएको छ ।
०४८ को तुलनामा जम्मा आठ लाख २३ हजार ७८० मतले वृद्धि भएको देखिन्छ । अर्थात् ८.२ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ । जबकि माओवादीले साधारण सदस्य मात्रै साढे सात लाख रहेको दाबी गरेको छ ।
०४८ मा चुनावको उपयोग गरेको माओवादीले दीर्घकालीन जनयुद्धको बाटो समाउँदै ०५१ सालको मध्यावधि बहिस्कार गर्यो । ०५२ सालमा सशस्त्र विद्रोह गरेको सुरु गरेको उसले ०६२ सालमा हतियार बिसाएको थियो । यी बिचमा माओवादीले चुनावमा भाग नलिएकाले वास्तविक शक्ति कति थियो भन्ने मापन हुन सकेन ।
यद्यपि १० वर्षको बिचमा देशको राजनीति उथलपुथल पार्न सफल भयो । जनयुद्धकै जगमा २४० वर्ष राजसंस्था ढल्यो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४४ हजार २०४ मत अर्थात् २९.२८ प्रतिशत मत ल्यायो । ६०१ सदस्यीय सभामा प्रत्यक्ष २२९ सिट जितेको थियो ।
०६४ मा ग्राफ ह्वात्त बढाएको माओवादीले २०७० को निर्वाचनमा आधा मत घट्यो । पार्टी विभाजन, कमजोर संगठन र गुटबन्दीको शिकारका कारण शर्मनाक हार बेहोर्यो । उक्त निर्वाचनमा समानुपातिकतर्फ १४ लाख ३९ हजार ७२६ मत ल्याएको छ । यो सदर मतको १५.२१ प्रतिशत हो । प्रत्यक्ष जम्मा सिट ८३ जितेको थियो । संसदीय अंक गणितले पार्टीको भविष्य नै अन्योल देखिएपछि ०७४ को निर्वाचनअघि अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकतासहित चुनावी तालमेल गरेको थियो । यस निर्वाचनमा सिट सङ्ख्यामा केही वृद्धि गरे पनि मत सङ्ख्यामा खासै प्रगति गर्न सकेन । समानुपातिक मत १३ लाख ३ हजार ७२१ अर्थात् १५.६३ प्रतिशत मत ल्याएको थियो । सिट सङ्ख्या ५३ रहेको छ ।
२०४५ को सेक्टर काण्डपछि नेतृत्वमा आएका उनले २०४८ सालमा ससाना वामघटकसँग मिलेर एकता केन्द्र निर्माण गरे । २०५२ सालमा पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादीको नामबाट राज्यसत्ताविरुद्ध १० वर्ष सशस्त्र विद्रोह गरे । २०६२ सालमा लडाकु र र हतियार बिसाएर फेरि शान्तिपूर्ण राजनीतिमा अवतरण गरे । यस बिचमा पार्टीभित्र कहिले मोहन वैद्य किरण, कहिले बाबुराम भट्टराईसँग मिलेर आफूलाई नेतृत्वमा टिकिराखे । ०७० को निर्वाचनपछि कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर तीन पटक प्रधानमन्त्री बन्न सफल भएका उनको आगामी भूमिका निकै चासोसाथ हेरिएको छ ।