शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : तिज

मङ्गलबार, ०२ असोज २०८०, १२ : ५९
मङ्गलबार, ०२ असोज २०८०

‘ल है बैनी यसपालिको तिजमा हामी सँगै रमाइलो गर्न जानुपर्छ,’ हाम्रो घरमा कोठाभाडा लिएर बस्ने नयाँ बहिनीलाई भनेँ । 

‘हुन त हुन्थ्यो तर हाम्रो त एक जनाको कमाई के गर्नु दिदी । सहरको तिज महँगो हुन्छ । सकिएछ भने अर्को तिजमा जाउँला,’ उसले भनी । 

‘हैन, हामी पनि उस्तै त हो नि भड्किलो हुन दिने हैन । म अचार बनाउँछु । टोलका दिदी बहिनी मिलेर पैसा उठाएर मासु किन्ने र घरबाट नै पकाएर लैजाने हो । भात त घरमा नै खाइन्छ नि । मासु चिउराको खाजा खाएर नाचगान गरेर फर्कने हो । तिजको रमाइलो मात्र हो,’ मैले सधैँ हुने गरेको हाम्रो टोलको मितव्ययी तिजको बारेमा बताएँ । 

उसले एकछिन घोरिएर भनी, ‘आहा कस्तो राम्रो रहेछ । तर, पनि दिदी म अर्को पटक जान्छु ।’ 

उसको कुराले म अचम्म परेँ । ‘के भयो र तिजको रमाइलो त हो,’ मैले अझै जोड गरिरहेँ । 

‘अरू कपडा के लगाउनु । आफ्नो त सारी पनि छैन,’ उसले आफ्नो समस्या देखाइ । 

‘कस्तो होला बैनी पनि । अरू ठाउँजस्तो सबैले एउटै किसिमको, एकै कलरको सारी लगाएर आउने भने ढर्रा छैन । नयाँ, पुरानो आफूसँग जस्तो छ त्यही लगाए पनि हुन्छ । बिहेको सारी छैन ? त्यही लगाए पनि हुन्छ नि,’ मैले भने । 

उसले मुसुमुसु हाँस्दै भनी, ‘विवाह गरेको भए पो सारी हुनु दिदी । सिधै भागेर आएका हौँ हामी त ।’              

पोखरा–७ मासबार, कास्की 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप