शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मधेसमा दलका बैठक

मधेसमा मधेसी दलको प्रभाव कम हुँदै गएपछि अन्य दल ‘स्पेस’ काे खाेजीमा

बिहीबार, १४ मङ्सिर २०८०, २३ : १०
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो समय प्रमुख राजनीतिक दलहरु विभिन्न बहानामा मधेसमा आफ्नो गतिविधि बढाउन थालेका छन् । मधेसमा केन्द्रीय कार्यसमिति, सचिवालयजस्ता केन्द्रीय निकायका बैठक दलहरुले आयोजना गरेका छन् ।

गत भदौ १३ गते नेकपा एमालेको सचिवालय बैठक सिरहाको सर्रे अम्बासमा बसेको थियो । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा सचिवालय बैठक राखेर एमालेले मधेसलाई आफूतिर आकर्षित गर्न खोजेको प्रस्ट छ ।

त्यस्तै पहाडमा मात्र आफ्नो प्रभाव देखाउन सफल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सम्पन्न गरेको छ । मधेसप्रति फरक सोच राख्ने यी दलले मधेसमा आफ्नो गतिविधिलाई तीव्रता दिएर ‘स्पेस’ खोज्न थालेको टिप्पणी भइरहेको छ ।

रास्वपाका सभापति लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि मधेसलाई प्राथमिकतामा राखेका छन् । उनले आफ्नो प्रतिवेदनमा ‘प्राथमिकतामा मधेस’ भन्ने शीर्षक दिएर मधेस हरेक कोणबाट आपत्कालीन अवस्थामा रहेको उल्लेख गरेका छन् ।

महोत्तरीलाई उनले कर्णालीको डोल्पाभन्दा पिछडिएको क्षेत्रको रुपमा उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिवेदमा लेखेका छन्, ‘मधेसले न त समयमै बिउबिजन पाउँछ, न मलखाद । भ्रष्टाचारको उजुरीमा यही प्रदेश अगाडि (२४.२५ प्रतिशत) छ । बजेट खर्चको अनुपात पनि यहाँ कम (३१.२९ प्रतिशत) छ । अपराधका घटना यही प्रदेशमा बढी छ । साक्षरता प्रतिशत, विद्यार्थी भर्ना दर, स्वास्थ्य संस्थाको पहुँच, मातृ तथा शिशु मृत्युदर यहाँ बढी छ । औद्योगिकीकरण बढिरहेको यही प्रदेशमा आर्थिक गतिविधि उल्लेख्य रुपमा हुन सकेको छैन । आयआर्जन र रोजगारीको अवसर कम छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार आर्थिक रुपले सक्रिय जनसंख्या धेरै रहे पनि यो प्रदेश आर्थिक गतिविधिका दृष्टिले प्रदेश पछाडि छ ।’

काठमाडौँमा अनसनरत आरती साहको परिवारका लागि न्याय माग्नुका साथै सभापति लामिछानेले मधेसको भविष्य चुरेसँग जोडिएका कारण चुरेमा गरिने हर प्रकारको दोहनको विपक्षमा रहेको भनेका छन् । साथै उनले कमला नदी बचाउ अभियानलाई पनि साथ सहयोग रहने जनाएका छन् ।

मधेसको बारेमा रास्वपाका सभापति लामिछानेको विचार पहिलो पटक यसरी स्पष्ट आएको हो । यद्यपि मधेसका अन्य मुद्दा नागरिकता, पहिचान, अधिकारको बारेमा उनले अझै स्पष्ट नगरेको टिप्पणी मधेसमा भइरहेको छ । मधेसमा सबैभन्दा कमजोर रहेको रास्वपाले ‘स्पेस’ खोज्नकै लागि रणनीतिक ढङ्गबाट मधेस छिरेको स्पष्ट छ ।

सामाजिक अभियन्ता एवं राजनीतिक मामिलाका जानकार रामरिझन यादवले मधेसमा मधेस केन्द्रित दलको प्रभाव कम हुँदै गएपछि एमाले, रास्वपा जस्ता दलले स्पेस खोज्दै विभिन्न बहानामा मधेस छिरेको टिप्पणी गरे ।

मधेस विद्रोहपछि त्यहाँ आफ्नो प्रभाव बनाउन सफल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको प्रभाव बिस्तारै कम हुँदै गएपछि त्यहाँ अरुले आफ्नो ‘स्पेस’ बनाउन दौडधुप गरेको उनले टिप्पणी गरे ।

उनले भने, ‘उपेन्द्र र महन्थले अहिले राजनीतिक ब्याज खाइरहेका छन् । मधेस आन्दोलनपछि उनीहरुले जुन पहिचान बनाए, त्यसैको ब्याज अझै खाइरहेका छन् । त्यसबाहेक अरु केही नगरेको कारण अरु दलले त्यहाँ स्पेस बढाउन खोजेका छन् ।’

मधेस प्रदेश भूगोलको हिसाबले सानो भए पनि भोटरको हिसाबले ठुलो रहेका कारण संसदीय राजनीतिमा निर्णायक हुने देखेर सबै दलको आकर्षण मधेसमा बढेको उनले बताए ।

यादवले भने, ‘मधेसमा जुन दलको वर्चस्व बढ्छ, त्यो दल केन्द्रमा ठुलो हुन्छ भन्ने मान्यता स्थापित भइसकेको छ । त्यही भएर मधेसका भोटरलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने दाउमा सबै दल देखिन्छन् ।’

मधेस केन्द्रित पुराना दललाई आफ्नो प्रतिष्ठा जोगाउनै समस्या भइरहेका कारण २०७९ को निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीको उदय भयो ।

मधेसप्रति एमाले कहिल्यै सकारात्मक थिएन । त्यसले गर्दा एमालेलाई मधेसमा निकै समस्या भएको थियो तर विभिन्न दाउपेच लगाएर एमाले मधेसमा छिर्न सफल भयो र अहिले मधेसको सबैभन्दा ठुलो दल बनेको छ ।

राजनीतिक विश्लेषक एवं पत्रकार चन्द्रकिशोर भन्छन्, ‘एमालेलाई मधेसमा एजेण्डा र मुद्दाको आधारमा मत दिएको होइन, राज्य शक्तिमा उसको पहुँच भएको कारणले मत दिएको हो ।’

उनका अनुसार मधेसका जनताले संरक्षण खोजेका थिए, एमालेले त्यो दिन तयार भएपछि मधेसी जनताले मत दिएका हुन् ।

न्यायपालिका, कार्यपालिकादेखि लिएर राज्यका हरेक निकायमा एमालेको जबर्जस्त उपस्थिति छ । त्यसले सरुवा, बढुवा, मुद्दा मामिला मिलाउने काम गर्न सकिने भएकाले त्यसको नाममा मधेसको मत एमालेले प्राप्त गरेको उनले बताए ।

एमालेले मात्र होइन, कांग्रेस, माओवादी, रास्वपा, राप्रपालगायतका दलले पनि मधेसमा आफ्नो स्पेस बनाउन चाहेको चन्द्रकिशोरको भनाइ छ । मधेस केन्द्रित दलको अवस्था त्यति सकारात्मक नरहेको बुझेरै यी दल मधेसमा आफ्नो स्पेस बनाउन केन्द्रित रहेको बुझ्न गाह्रो नहुने उनले प्रस्ट पारे । उनले मधेसमा कांग्रेस कमजोर हुँदै गर्दा रवि लामिछानेले त्यसको फाइदा लिन खोजेको बताए ।

मधेसमा एमाले ठुलो भए पनि सरकार बनाउन सकेको छैन । त्यसको पीडा एमालेलाई छ । माओवादी पटक पटक सरकारमा गयो तर मधेसमा सबैभन्दा कमजोर भयो । विगतमा सबैभन्दा शक्तिशाली पार्टी कांग्रेस थियो तर सोचेजस्तो नतिजा ल्याउन सकेन । एक समय राप्रपाले पनि मधेसबाट राम्रै नतिजा ल्याउँथ्यो तर २०७९ को चुनावमा मधेसी जनताको साथ पाएन । बारा–२ को चुनावमा रास्वपाको जमानत पनि जफत भएको थियो । यी सबै दलको पीडा एउटै भएका कारण मधेसमा ०८४ (आगामी आम निर्वाचन) का लागि स्पेस बनाउन लागेको देखिन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप