शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय
अर्थ संवाद

‘अर्थतन्त्र सुधार्न सबै निकाय गम्भीर बन्नुपर्छ’

अहिलेसम्म यस्तो मन्दी भोगेको थिइनँ : किरण शाख
शुक्रबार, १५ मङ्सिर २०८०

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धबाट चपेटामा परेको अर्थतन्त्रलाई फेरि इजरायल–प्यालेस्टाइन युद्धको मार थपिएको छ । महामारीबाट समस्यामा पर्न थालेको अर्थतन्त्रलाई इजरायल–प्यालेस्टाइन युद्धले धेरथोर प्रभाव पार्ने नै छ । यस्तो अवस्थामा लामो समयदेखि मन्दीमा रहेको नेपालको अर्थतन्त्र झनै प्रभावित हुने सरोकारवालाहरूको भनाइ छ । ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेका उद्योगहरूको उत्पादन बढाउन सरकारले कुनै चासो दिएको छैन । महँगो ब्याजदरलाई घटाउनका लागि समेत कुनै निकायबाट उल्लेख्य पहल भएको स्थिति छैन । यो अवस्थामा देशको आर्थिक व्यावसायिक वातावरणका विषयमा रातोपाटीले नेपाल–अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरण शाखसँग गरेको कुराकानीको सम्पादित अंशः

–सबैले आर्थिक मन्दी छ भनिरहेको समयमा कता व्यस्त हुनुहुन्छ ?

व्यवसायी व्यस्त नभएर त हुँदै हुँदैन । तर शाख ग्रुपको मुख्य व्यवसाय स्टिल दुई वर्षदेखि सुतेर बसेको छ । बन्द नै ग¥यो भने बैङ्कले सिल गर्न आउँछ । त्यसैले मन्द गतिमा चलाइरहेका छौँ । दुई वर्षअघिको त्यो नीतिले नेपालका अधिकांश उद्योगहरू समस्यामा रहेको भनेर सबै निकायले बुझिसकेका छन् । तर गलत नीति सच्याउन कोही चाहँदैनन् । 

संसारभर प्रतिबन्धित प्रविधिबाट उद्योग चलाउन भन्दै शून्य भन्सारको व्यवस्था गरिनु पूर्णरूपमा गलत थियो ।

–यसको अर्थ स्पन्ज आइरनलाई भन्सार छुटको व्यवस्था गरेदेखि उद्योग लगभग बन्द छ । प्राविधिक रूपमा मात्रै चलिरहेको छ ?

हो, अन्य डन्डीका तुलनामा शाख ग्रुपको डन्डी महँगो छ । स्पन्ज आइरनबाट बन्ने डन्डीको तुलनामा हाम्रो गुणस्तरीय छ । तर नेपाल सरकारले गुणस्तरको चिह्नको मापदण्डसमेत अपनाएको छ । यसबाट सेवाग्राहीमा अन्योल छ । यसैले बिलेटबाट डन्डी बनाउने उद्योग न्यून हुँदै छन् । स्पन्ज आइरनबाट डन्डी बढ्दै जाँदै छन् ।

-बिलेटबाट डन्डी बनाउने उद्योग कति थिए ? स्पन्ज आइरनमा शून्य भन्सार सुवधा दिएपछि कतिमा झरे ?

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त नीति लिनुअघि ६ वटा उद्योगले पत्रु फलाम पगालेर डन्डी उत्पादन गर्थे । अन्य २६ वटा उद्योगले बिलेटबाट डन्डी उत्पादन गर्दै आइरहेका थिए । अहिले १२ वटाले बनाउन सुरु गरिसके भने ७–८ वटाले प्रक्रिया थालेका छन् । हामी जस्ता ७–८ वटाले बनाउन थालेका छैनौँ । यो प्रविधिबाट अहिले नेपाल, भारत र बङ्गलादेशमा मात्रै उत्पादन भइरहेको छ । फिलिपिन्समा समेत प्रतिबन्ध भइसकेको स्थिति छ ।

–उद्योगीहरू नै स्पन्ज आइरन गालेर डन्डी बनाउँदा रोजगारीको सङ्ख्या र विद्युत्को खपतसमेत बढेको छ भन्छन् नि ?

यसको जवाफ दिँदै गर्दा मलाई नै हाँसो आउँछ । ३२ वटा उद्योग चल्दा बिजुलीको खपत बढ्छ वा सबै बन्द भएर ८ उद्योग मात्रै चल्दा खपत बढ्छ ? सबै उद्योग चल्दा रोजगारी सङ्ख्या बढ्छ वा सीमित उद्योग मात्रै चल्दा बढ्छ भन्ने कुरा प्रस्ट छ । स्पन्ज आइरनबाट चल्ने उद्योग चलाउनका लागि चाहिने दक्ष जनशक्तिसमेत नेपालमा छैनन्, सबै भारतबाट आउँछन् ।

–अब यो विषयलाई थाँती राखेर अर्थतन्त्रको वर्तमान स्थितिका विषयमा केन्द्रित बनौँ । अहिले बजार कस्तो अवस्थामा छ ?

यतिबेला बजार पूर्णरूपमा स्थिर छ । आर्थिक गतिविधि नहुनुको मुख्य कारण नै बजारमा पैसा छैन । पैसा हुँदा मोटरसाइकल, गाडी र घरजग्गा कारोबार हुन्छ । यतिबेला पैसा नहुँदा यी सबै व्यवसाय बन्दप्रायः छन् । यसले उत्पादन घट्छ र अयातसँगै राजस्वसमेत घट्छ । जसबाट सरकार र उद्योगहरूलाई प्रत्यक्ष घाटा हुन्छ । बजारमा माग नभएपछि कर्मचारी कटौती हुन्छ । अहले देशको अर्थतन्त्र निरन्तर खस्किरहेको छ र यसले ‘फ्लोर टच’ गर्नु पर्छ । 

kiran shakh

अहिलेको अवस्थामा आर्थिक स्थिति कहिले सुधारतर्फ उन्मुख हुन्छ भन्ने जानकारी हुँदैन । अर्थतन्त्र लयमा फर्काउनका लागि सरकारले काम थाल्नुपर्ने हो ।

–अर्थतन्त्र यो अवस्थामा आउनुमा कोभिड महामारी र रुस–युक्रेन युद्ध मुख्य कारक हुन् । यसबाहेक अन्य के–के कारण होलान् ?

अहिलेको आर्थिक स्थिति आउनुमा मुख्य कारण कोरोना महामारी नै हो । यसतर्फ रुस–युक्रेन युद्ध र पछिल्लो इजरायल–प्यालेस्टाइन युद्ध पनि हो । तर यो समस्याबाट माथि उठ्नका लागि आन्तरिक नीतिले समेत महत्त्वपूर्ण भूमिका खेल्छ । संसारमै नभएको नियमअनुसार शून्य भन्सार दर र आयात प्रतिबन्ध नै लगाउन सकिन्छ । तर व्यवसायलाई पुनर्जीवन दिन नसक्ने भन्ने हुँदैन । हामीसँग पर्याप्त मात्रामा अर्थशास्त्री छन् । यसबाहेक उद्योगीसँग समेत सल्लाह लिए हुने हो । उनीहरूसँग सरकारले निरन्तर छलफल गर्नुपर्छ र अघि बढ्नुपर्ने हो । तर यसका लागि सरकार, राष्ट्र बैङ्क र वाणिज्य बैङ्क सिरियस हुनु पर्छ ।

सबै उद्योग व्यवसायमा समस्या हुँदा र सटरहरू बन्द भइरहँदा बैङ्कले नाफा बनाइरहेको छ । बैङ्कले नाफा आर्जन नगरोस् भनेको होइन । यद्यपि बैङ्क एक, दुई वर्षका लागि नाफा खुम्चिँदा पनि खासै फरक पर्ने त होइन ।

–तपाईंले कुनै नीति बनाउनुअघि सरकारले उद्योगीसँग पनि सल्लाह गर्नुपर्ने भन्नुभयो । व्यवसायीसँग सल्लाह लिँदा आफूअनुकूल दिँदा अहिले स्पन्जमा आएको समस्या होइन ?

व्यवसायीले आफ्नो स्वार्थ पनि घुसाउन प्रयास गर्छन् । किनकि व्यवसायको मुख्य लक्ष्य नै पैसा बनाउने हुन्छ । तर निजी क्षेत्रसँग मात्रै कुरा सुनेर हुँदैन । यसमा अर्थशास्त्रीको आवाज पनि सुन्नु पर्छ । सरकारमा बस्ने सबै व्यक्तित्वहरू पत्रु त हुँदैनन् । प्रेसरमा हुने कामका अघि कसैको केही लाग्दैन ।

–तपाईंले व्यवसाय सुरु गरेको दशकौँ भइसकेको छ । यस अवधिमा अहिलेको जस्तो आर्थिक मन्दी यसअघि कहिले भोग्नुपरेको थियो ?

यो पहिलो पटक हो जस्तो लाग्छ । करिब १५ वर्षअघि जग्गाको कारोबारमा मन्दी आएको सुनेको थिएँ । उक्त समयमा ४, ५ वर्षमा पुनः लयमा फर्किएको थियो । तर अहिलेको मन्दी यसअघिका सबै मन्दीभन्दा डरलाग्दो छ । यसबाट उठ्न निकै कठिनाइ हुने देखिन्छ । २०७२ सालको भूकम्प र जनआन्दोलनको समयमाभन्दा कठिन छ । यतिबेला खर्च गर्नुअघि प्रत्येक पाइलामा सोच्नुपर्ने अवस्था आएको छ ।

–यसलाई सुधार गर्न के गर्नुपर्ला ? सरकारले के र निजी क्षेत्रले के ?

निजी क्षेत्रले व्यवसायमैत्री वातावरणमा रातदिन काम गर्न सक्छ । उसलाई आजको धेरै पैसा बनाउनुछ । तर उसले सरकारसँग व्यवसायमैत्री वातावरणको माग गर्छ । खासमा सरकारले यतिबेला निजी क्षेत्रलाई चाहिएको कुरा दिनुपर्छ । चलिरहेका उद्योगलाई चाहिएको के छ भनेर बुझ्नु पर्छ । रिफाइनान्सिङ दिनुपर्ने हो वा नयाँ ऋण चाहिने हो वा अन्य के चाहिन्छ भनेर बुझ्नु पर्छ । अहिलेको मन्दी छिट्टै सक्नका लागि गर्नुपर्ने पहल गर्दै ३–३ महिनामा आउने बैङ्कको दबाब सहजीकरण गर्न केन्द्रीय बैङ्कमार्फत पलह थाल्नु पर्छ ।

–सरकारले पछिल्लो समय अर्थतन्त्र सुधार गर्ने भन्दै सुरु गरेको छलफलबाट केही आशा गर्न सकिन्छ ?

हामी व्यवसायीले आस नै गर्ने त हो । यो आशालाई वास्तविकतामा ढाल्ने सरकारले नै हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भइरहेको बताइरहनुभएको छ । म भगवानसँग प्रार्थना गर्छु, उहाँले भने जस्तै सत्य होस् । त्यसतर्फ नै सरकार लागोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया