मिथक : छुनी कि नछुनी !
धर्मपिता कण्वसँग शकुन्तलाको ठुलै ठाकठुक पर्यो । कण्व देवराज इन्द्रको ब्रह्महत्याको दोषका कारण नछुनी बार्नुपर्छ भन्थे शकुन्तला एउटाले गरेको पाप अर्कोले किन बोक्ने भन्थिन् । कण्व धर्मशास्त्रको हवाल दिन्थे शकुन्तला व्यावहारिक तर्क अघि सार्थिन् । जब कण्व आफ्नो तर्क सुन्ने पक्षमा छैनन् भन्ने प्रस्ट भयो तब शकुन्तला ठुस्स पर्दै बगैँचातिर लागिन् । सधैँ हँसमुखमा देखिने मानिस हुप्प परेको देखेर आश्चर्य मान्दै आम्रपल्लवीले सोधी–
‘सखी ! सन्चो छैन कि के हो हुप्प परेकीछ्र्रयौ नि । यस्तो मानिस त होइनौ । टुकुटुकु हिँड्न थालेदेखि नै देखेकी हुँ । सधैँ प्रसन्न मुद्रामा देखिने गर्थ्यौ । आउनासाथ हाल खबर सोध्थ्यौ, पानी खुवाउने गर्थ्यौ । आजको अवस्था त अर्कै छ । के पर्यो त्यस्तो ? भन है सक्दो सहयोग गर्छाैँ । कुनै गल्ती भएको भए पनि माफी चाहन्छौँ । जानीबुझी गरेजस्तो त लाग्दैन । तैपनि गल्ती भन्ने कुरा नजानेर पनि हुन सक्छ ।’
‘होइन सखी ! त्यस्तो कुरा नगर । तिमीहरूले के नै गरेका छौ र माफी माग्ने । अरूकै लागि फल्छौ, फुल्छौ । मलजल गरे स्विकार्छौ । नदिए पनि यस्तो र उस्तो भन्दैनौ । शत्रु नै भए पनि सहयोग गर्न छाड्दैनौ । बरु धान्नै नसक्ने फलफूलको भारी बोकेर लत्रिन्छौ तैपनि गाह्रो मान्दैनौ । प्राणी हौ, थकान पनि हुँदो हो, दुःख दर्द पनि हुँदो हो तर अहिलेसम्म त्यसको समेत छनक दिएका छैनौ । हामीहरू आफू अनुकूल बनाउन हाँगा बिँगा काट्छौँ, तास्छौँ तर न ऐय्या भनेका छौ न आच्छु नै ।
झरी, बादल, सर्दी, गर्मी केही नभनी सेवाधर्मबाट विमुख भएका छैनौ । मौसम अनुसार फलफूल दिएर सेवा गर्छौ । मानिसहरू टिप्छन्, खान्छन्, लान्छन् । त्यस्तै परे झटारो हान्न पनि बेर लगाउन्नन् तर तिमीहरू भने रिसाउनुको सट्टा उल्टै फलफूल दिएर पठाउँछौ । थाहा छैन हामीलाई पनि दुख्छ, आइन्दा यसो नगर भन्न खोजेका पो हौ कि तर मानिस उल्टो बुझ्छन् र फलको आशामा थप झटारो हान्न थाल्छन् । तिमीहरूजस्ता परोपकारी प्राणीबाट गल्ती हुनै सक्दैन । जब गल्ती नै हुँदैन भने माफी केका लागि । दुःखको कारण म आफैँ हो । आफ्नै कारणले दुःखित छु । त्यसैलाई भुल्न एकान्त खोज्दै आएको हुँ ।’ शकुन्तलाले रसिलो आँखा पार्दै भनिन् ।
‘कहाँ त्यसो भनेर हुन्छ । गुरुहरूबाट सुनेको हुँ । दुःख बाँड्दा घट्छ रे । सुख देखाउनुहुँदैन दुःखीलाई ग्लानी हुन्छ । दुःख भने देखाउनुपर्छ सहयोगीहरू भेटिन सक्छन् । साथी भएका नाताले जान्न चाहेका हौँ ।’ सबै बोटबिरुवाको प्रतिनिधित्व गर्दै आम्रपल्लवीले भनी ।
‘सखी ! यतिबेला मासिक धर्ममा छु । महिनामा एकपटक यस्तो हुने गर्छ । धर्म पिता कण्वले भन्नुभएको यो प्रजनन क्षमता सम्पन्न भएको प्रकृतिको सन्देश हो रे । उमेर पुगेका हरेक नारीलाई यस्तै हुन्छ रे । यस्तो बेला चार दिनसम्म अँध्यारो कोठामा बसी अनुहारसम्म देखाउनु हुँदैन रे । यसै विषयलाई लिएर उहाँसँग ठुलै विवाद भयो ।’ शकुन्तलाले दुःख मनाऊ गरिन् ।
‘त्यसरी किन बस्नुपर्छ भनेर सोधिनौ त ?’
‘सोध्या त हो, चित्त बुझ्दो जवाफ दिनुभएन ।’
‘के भन्नुभएको थियो र ?’
‘यही कि यति बेला शरीर अपवित्र हुन्छ रे ।’
‘त्यसको कारण ?’
‘के भन्ने सुन्दै लाजमर्दो कुरा । यतिबेला हाम्रो शरीरमा इन्द्रले गरेका ब्रह्महत्याको पाप रहेको हुन्छ रे । त्यसैले कसैले पनि नदेखुन् भनेर लुकेर बस्नुपर्छ रे । थाहा छैन उहाँ इन्द्रको यति बढी चाकडी किन गर्नुहुन्छ । इष्ट देवता मानी वेदमन्त्रद्वारा स्तुति गान गरेर थाक्नुहुन्न । उहाँसँग यस्ता मन्त्रका ठेली नै छन् ।’ शकुन्तलाले चित्त दुःखाइन् ।
‘त्यस्तो पनि हुन्छ कतै ! इन्द्र स्वार्थी हुन् । आफू कुकर्म गर्छन् दोष अरूको थाप्लोमा हाल्दै हिँड्छन् । त्यसको एउटा भाग हामीलाई पनि दिएका थिए तर हामीले सिधै नकारिदियौँ । पाप गर्ने उनी दोष बोक्ने हामी ? अहँ यस्तो हुन सक्दैन । इष्ट देवता हुन् भने ठीकै छ । सहयोग गर्नु उनको धर्म हो । चाकरी गरे सहयोग गर्ने नगरे नगर्ने हो भन्नु त स्वार्थी कुरा हो । देवताको पंक्तिमा बसेर पनि त्यस्तो कुरा गर्न पाइन्छ ? कि त्यस्तो आसनमा बस्ने इच्छा नै गर्नुहुँदैन । गर्ने हो भने स्वधर्म पूरा गर्नैपर्छ ।
प्रजनकै कुरा गर्ने हो भने पनि यो भनेको पवित्र कार्य हो । पवित्र कार्य गर्ने समयमा स्वाभाविक रूपमा शरीर पनि पवित्र नै भएको हुन्छ । प्रकृतिले नै त्यस्तो बनाएर पठाएको हुन्छ । रजस्वला त हामी पनि हुन्छौँ होला । किनकि हामीबाट पनि प्रजनन हुन्छ तर यस्तो बेला शरीर अपवित्र हुन्छ भन्ने कुरा भने सुनेका थिएनौँ ।’ आम्रपल्लवी आक्रोशित भइन् ।
‘त्यही त भन्या सखी ! एकातिर पत्रिका कार्य गर्ने समय रे । अर्कोतर्फ अरूले गरेको पाप बोकी अपवित्र भएर बस्नृुपर्ने रे । यस्ता परस्पर विरोधी कुरा गर्न पनि कसरी सक्या होलान् भन्या ?’ शकुन्तलाले सहमति जनाइन् ।
‘हो सखी ठीक भन्यौ । यस्ता विरोधाभाषी कुराको विरोध गर्नैपर्छ । तिम्रो काममा हाम्रो पनि समर्थन छ । अरू त के नै गर्न सकिएला र तर नैतिक समर्थन भने पक्कै रहनेछ ।’ आम्रपल्लवीले हौस्याई ।
उसको भनाइमा रुख, बिरुवा, वनस्पति, लहत्ता पत्ता सबैले समर्थन गरे । त्यसपछि शकुन्तला मन हल्का पारी आश्रमभित्र छिरिन् । यसरी छोरी खुलेर विद्रोहमा उत्रेको कण्वले सहन सकेनन् र आश्रमको काम शिष्यहरूलाई सुम्पेर हिँडे । कता गए थाहा भएन । पाप मोचन गर्न तीर्थ जान्छु भन्थे शायद त्यतै गए होलान् तर शकुन्तलाप्रति अछुतको शृङ्खला भने गुरु भाइहरूले पनि जारी नै राखे ।