सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

नयाँ वैचारिकीको खोजी

बुधबार, ०४ पुस २०८०, १० : ४९
बुधबार, ०४ पुस २०८०

नयाँ वैचारिक आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । वैचारिक आन्दोलनको आयतन र जनताको चेतन यहीँबाट मापन हुन्छ । नेपालमा पञ्चायतविरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो । पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकालपछि नै नेपालमा जनयुद्धको थालनी भयो । 

निर्वाचनका समयमा वैचारिक मुद्दा सतहमा ल्याउनुपर्छ । निर्वाचन मुद्दामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्दाविहीन निर्वाचनले देश र जनतालाई फाइदा गर्दैन । तर, प्रमुख राजनीतिक पार्टीसहित नयाँ र पुरातनपन्थी पार्टीहरू फेरि पनि मिसन ८४ अभियानको फेरी लगाइरहेछन् । रूपान्तरण, समृद्धिका लागि संकल्पयात्रा जस्ता तुक न तेह्रका नारा लगाएर जनतामा जाने भगिरथ प्रयत्नमा लागेका छन् । विश्व राजनीतिमा आएको दार्शनिक वैचारिक संकटकै छाया यहाँ पनि परेको कुरामा कसैको विश्वास छैन । यही विश्वासको अभावमा दलहरू कुहिरोको कागझैँ अलमलिएका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त हालसालै एक अन्तर्र्वार्तामा माक्र्सवादको भाष्यमा संकट आएको खुलासा गर्दै, ‘अब कम्युनिस्ट प्रणाली भन्ने नै रहँदैन’ भन्न समेत भ्याइसकेका छन् । सूचना प्रविधि, ऊर्जा र यातायातको क्षेत्रमा आएको विकासले परम्परागत दर्शन, विचारमा प्रश्नहरू उठेकै छन् । चौथो औद्योगिक क्रान्तिपछिको दार्शनिक वैचारिक पक्षमा उठेका प्रश्नको हल नहुँदासम्म डा. भट्टराइले उठाएको वैचारिक पक्षलाई अन्यथा लिनु पनि हुन्न । 

परम्परागत दर्शन, विचारमा कैफियत जनाउने बेला आइसकेको छ । यस्ता कैफियतहरूले नयाँ वैचारिकीको भ्रूण तयार गर्न सक्छ । केही समयअगाडि लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा आफ्नो नयाँ विचार प्रस्ताव गरेका थिए । निर्वाचनमा कमजोर गणित आएको सन्दर्भमा यो वैचारिकीलाई अन्यथा लिनु हुँदै हुन्न । निर्वाचन परिणामको गणित कोट्ट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । यो आलेखमा छोटो चर्चा गने प्रयास गरिएको छ । किनभने आजको युग नयाँ विचारको खोजीको युग हो । 

ओजेलुसनको मर्म

फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे पनि इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ न भाषा, विचारको । यसको अतिरिक्त नयाँ दर्शन विचारको अभाव भएको भने खड्किएको विषय हो । विचारमा खिया लागेको शब्दावली केही समयदेखि सुनिँदै आएको हो । 

परम्परागत दर्शन र विचारहरू युगीन नेतृत्व गर्न अक्षम भएको वर्षौं बित्यो । वैज्ञानिक विचारहरू पनि परिमार्जन हुन नसक्दा तीनको उपयोगितामा प्रश्न उठ्न थालेका छन् । उदारवाद मात्र होइन, माक्र्सवाद वा मालेमावादमा पनि प्रश्न उठेका छन् । माक्र्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । र, आजको विश्व समाजको नेतृत्व गर्न यो वैचारिक धारमा बगे्रल्ती प्रश्न उठेका छन् । प्रश्नहरू भने उत्तरित छैनन् । यहीँनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्श खोजेको छ । त्यो विमर्श युग पाठकले ‘ओजेलुसन मुभमेन्ट’ अर्थात् उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् ।

केही वर्ष अगाडिदेखि विश्व अर्थ–राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ शब्दको खुबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम–कारबाहीमा नमुनाको रूपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो । प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्टक्चर अफ साइन्टिफिक रिभुलेसन’मा प्याराडायमको व्यापक चर्चा गरेका छन् । कुहनले प्याराडाइमलाई विज्ञानसम्मत विश्वास र मान्यताको प्रणाली भनेर वर्णन गरेका छन् ।

पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि प्याराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्दले उत्थान शब्दसँग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नौतुन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ ।

उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको । यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ ।

यसर्थ उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको । यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जुन आन्दोलनले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाई नयाँ स्थानमा दिशाबोध गराउँछ ।

प्रसिद्ध लेखक जेरेमी रिफ्किनका पुस्तकहरू ‘कामको अन्त्य’, ‘तेस्रो औद्योगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज’मा आजको पुँजीवादको अन्त्य सन्निकट भएको तर्क गरेका छन् । तर, यो पुँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नुपर्ने अर्थ छैन । यसकारण युरो औपनिवेशिक धारको अन्त्य अमेरिकी लेखकले गर्नु यहीँनेर आएर उत्स्रवण आन्दोलनले उठाउन खोजेको अर्थमा लिन सकिन्छ । 

ओजेलुसनको प्रस्तावना

उत्स्रवण आन्दोलनको केही प्रस्तावना छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्यूह रचनाकै वरिपरि आजसम्म विश्व घुम्यो । पाँच सय वर्ष अगाडि रचना गरिएको वैचारिक व्यूह रचनाले के दियो ? राजनीतिक तनाव, घोर दक्षिणपन्थको उदय र कुनै पनि प्रकारको राजनीतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाइरह्यो । प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औद्योगिक क्रान्तिलाई छाड्ने हो भने पहिलो, दोस्रो र शीतयुद्धलगायत अनेकन् घरेलु युद्धमा विश्वलाई हेलाइरह्यो । अहिले पनि यो व्यूह रचनाले युद्धबाट मात्र राजनीतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहीँबाट अगाडि जाने प्रस्थान बिन्दु खोज्ने यसको पहिलो प्रस्तावना हो ।

युरो औपनिवेशिक व्यूह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोप¥यो । दुई विश्व दृष्टिकोण उदारवाद हुन् वा माक्र्सवाद युरोपकै वैचारिक धार हुन् । यी दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अबको राजनीतिक संकट समाधान हुँदैन । नयाँ विचारको निर्माण जरुरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्त्वपूर्ण अवधारणा हो ।

दुई विश्व दृष्टिकोणहरू माक्र्सवाद वा उदारवाद औपनिवेशिक कालखण्डको वैचारिक अवधारणा हुन् । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पुँजीवाद औपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको ‘डीएनए’मै मान्छे समाजलाई उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पुँजीवाद शुद्ध पुँजीवाद मात्र होइन ‘भाइसराय’ पुँजीवाद हो । यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्राङ्गारिक (अग्र्यानिक) आत्मनिर्भरतासहितको राष्ट्रिय पुँजी निर्माण गर्ने हो । परनिर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात् औपनिवेशिक भाइसराय पुँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने ।

रहलपहल

उत्स्रवण आन्दोलनको निष्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनीतिक रङ्गमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरू समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ । पाठकको घोषणापत्र अनुसार ‘पाँच सय वर्षअगाडि रचना भएको यो राजनीतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त ग¥यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फसाइदियो । अनि प्रकृतिको सन्तुलन नै खलबल्याइदियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप