शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा आमनिर्वाचन अघि दुई मुख्यमन्त्री जेल जाँदैछन् ?

बुधबार, १८ पुस २०८०, १४ : ३६
बुधबार, १८ पुस २०८०

काठमाडौँ । भारतमा आम निर्वाचनको तयारी भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदै छन् । विपक्षी दलहरु भने उनलाई रोक्ने कसरतमा छन् ।

यसैबीच, केन्द्रीय सत्ताको विपक्षी गठबन्धनमा रहेका दुई मुख्यमन्त्रीमाथि कानुनी कारबाहीको खतरा बढेको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल र झारखण्डका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चा पार्टीका नेता हेमन्त सोरेन कानुनी जालमा फस्ने खतरा देखिएको हो ।

केजरीवाल संकटमा

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै आम आदमी पार्टी गठन गरेका अरविन्द केजरीवाल यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा संकटपूर्ण अवस्थामा छन् । भारतीय जनता पार्टीले दिल्लीका मुख्यमन्त्री केजरीवालविरुद्ध भ्रष्टाचारको आरोप लगाइरहेको छ ।

प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई पेस हुनका लागि तीन पटक समन जारी गरिसकेको छ । तर उनी इडीसमक्ष उपस्थित भएका छैनन् । उनले यसलाई केन्द्र सरकारको षड्यन्त्र भन्दै पन्छिँदै आएका छन् ।

दिल्लीमा मदिरा घोटाला प्रकरणमा राज्यका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र पार्टीका राज्यसभा सांसद संजय सिंह अहिले जेलमा छन् । अब केजरीवाल पनि पक्राउ पर्ने हुन् कि भन्ने डर आम आदमी पार्टीका नेता तथा कार्यकर्तामा छ । आम आदमी पार्टीले मुख्यमन्त्री केजरीवाल इडीको अनुसन्धानमा सहयोग पु¥याउन तयार रहेको र उनलाई पठाइएको समन गैरकानुनी रहेको बताउँदै आएको छ ।

केही महिनापछि लोकसभा निर्वाचन आउँदैछ । आम आदमी पार्टी दिल्ली र पञ्जाव राज्यमा चुनावको तयारीमा जुटिरहेको छ । यस्तो अवस्थामा इडीले केजरीवाललाई गिरफ्तार गरेको खण्डमा चुनावी भविष्यमा ठुलो असर पर्ने निश्चित छ । लोकसभाका लागि दिल्लीमा ७ सिट छ । राज्य सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टीले विपक्षी गठबन्धनको बलमा दिल्लीमा भारतीय जनता पार्टीलाई नराम्रो झट्का दिन सक्छ । त्यसैले पनि भारतीय जनता पार्टीले केजरीवाललाई भ्रष्टाचार मुद्दामा घेराबन्दी गर्दै त्यसको फाइदा उठाउन सक्ने जानकारहरु बताउँछन् ।

हेमन्त सोरेन पनि संकटमा

उता, झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पनि त्यस्तै संकटमा छन् । उनलाई पनि इडीले ७ पटक समन जारी गरिसकेको छ । तर उनी अहिलेसम्म इडीमा हाजिर भएका छैनन् । सातौं समनमा भने इडीले उनलाई चेतावनीयुक्त शैलीमा ‘कुनै पनि हालतमा उपस्थित हुन’ भनेको छ ।

मुख्यमन्त्री सोरेन पनि पक्राउ पर्ने भयले त्रसित छन् । त्यसैले उनी आफ्नी पत्नी कल्पना सोरेनलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिायमा जुटेको बताइन्छ ।

सोरेनले पत्नी कल्पनालाई मुख्यमन्त्री बनाउनकै लागि आफ्नो पार्टीका एक विधानसभा सदस्यलाई राजीनामा दिन लगाएको चर्चा छ । राज्यको गान्डेय विधानसभा क्षेत्रका विधायक सरफराज अहमदले हालै राजीनामा दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा झारखण्ड मुक्ति मोर्चाको राम्रो प्रभाव छ । त्यसैले मुख्यमन्त्री सोरेनकी पत्नी कल्पनालाई सोही क्षेत्रबाट विधानसभामा ल्याएर मुख्यमन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको बताइन्छ ।

झारखण्डमा लोकसभाको १४ सिट छ । यस्तो अवस्थामा त्यहाँको सत्तारुढ दल झारखण्ड मुक्ति मोर्चालाई भ्रष्टाचारको मामिलाबाट ‘ड्यामेज’ गर्न सके विपक्षी गठबन्धन स्वतः कमजोर हुने देखिन्छ । अर्कोतिर हेमन्त सोरेनले पत्नीलाई मुख्यमन्त्री बनाएको खण्डमा वंशवादको राजनीतिक नारा लगाएर भारतीय जनता पार्टी र उसका सहयोगी घटकले फाइदा लिन सक्छन् ।

विपक्षी गठबन्धनले लोकसभा निर्वाचनका लागि सिट बाँडफाँट नगर्दै दुई वटा राज्यका मुख्यमन्त्रीमाथि कानुनी कारबाही अघि बढाएर भारतीय जनता पार्टीले एक कदम पछाडि धकेलिदिन सक्ने आकलन गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप