शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बढ्दो प्रदूषण

वायु प्रदूषणबाट नेपालमा वार्षिक ९ हजारभन्दा बढी मानिसको जान्छ ज्यान, कसरी जोगिने ?

बिहीबार, ११ माघ २०८०, १५ : १७
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला समय राति वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ । लामो समय पानी नपरेका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो ।

सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन् । काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ हावा सजिलै आए पनि निस्किन सक्दैन । त्यसैले पनि यहाँ बढी प्रदूषण हुने उनले उल्लेख गरे ।

‘अहिले पानी परेको छैन, जुन हावामा जलवाष्प भएर बसेको छ,’ उनले रातोपाटीसँग भने, ‘ड्राई हावाभन्दा जलवाष्प भएको हावाको प्रदूषणले हानिकारक हुन्छ ।’

वायुप्रदूषण नियन्त्रणका लागि सरकारले जनचेतनामुलक कार्यदेखि लिएर वायु प्रदूषण हुने निकायलाई नियमनको कार्य गर्दै आएको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दिपक ज्ञवालीले बताए ।

‘प्रदूषण नियन्त्रण एउटै निकायले गरेर हुँदैन,’ उनले भने, ‘यातायात सवारी साधन, उद्योग, निर्माण कार्य, आन्तरिक तथा बाह्य कारणले हुने भएकाले हामीले ती निकायलाई नियमन गरी आवश्यकता अनुसार निर्देशन दिने गरेका छौँ ।’

उनका अनुसार नेपालमा वायु गुणस्तर मापन गर्ने २७ वटा केन्द्र छन् । सो केन्द्रले दिएको वायु गुणस्तर परिणामलाई आधार बनाएर क्षेत्रअनुसार चेतनामुलक सूचना प्रवाह गरिने उनको भनाइ छ ।

वायु प्रदूषण सबैभन्दा बढी निर्माण कार्यका कारण हुने गरेको बताइन्छ । वायु प्रदूषणमा निर्माण कार्यको योगदान ४८ प्रतिशत रहने गरेको सरकारी तथ्याङ्क छ । सवारी साधनले २८ प्रतिशत, कृषि क्षेत्रले ९ प्रतिशत, इँटा भट्टाले ८ प्रतिशत, आगोको चुलोले ५ प्रतिशत, अन्य उद्योग र फोहोर चलाउनाले १÷१ प्रतिशत वायु प्रदूषण हुने गरेको सरकारी तथ्याङ्क छ ।

बढी प्रदूषण भएमा उद्योग तथा निर्माण कार्यलाई केही दिन रोक्ने गरेको ज्ञवालीले उल्लेख गरे । उनले मानवीय स्वास्थ्यमा हानि पुग्ने गरी वायु प्रदूषण भएमा सार्वजनिक रुपमा सूचना सार्वजिक गर्ने गरिएको पनि जनाए ।

वायु प्रदूषणका कारण वार्षिक झण्डै १० हजार नेपालीको मृत्यु

वायु प्रदूषणका कारणले स्वास्थ्यमा समस्या देखिएर नेपालमा वार्षिक रुपमा झण्डै १० हजार जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा वार्षिक रुपमा ९ हजार ९ सय ४३ जनाको मृत्यु वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट हुने गरेको पाइएको छ ।

वायु प्रदूषणले प्रत्यक्ष रुपमा श्वासनली र फोक्सोका अन्य साना–साना नालीमा असर गर्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । उनका अनुसार हावामा भएको प्रदूषण फोक्सोको प्राकृतिक सुरक्षा प्रणालीलाई छलेर फोक्सोभित्र छिर्दछ । नाकको रौं, सिँगान र सिलिया भनिने कोषिकाहरूले धुवाँ धुलोलाई रोकेर फोक्सोलाई सुरक्षित राख्दछन् ।

२.५ पीएम (पार्टिकुलेट म्याटर) भनिने सुक्ष्म कणहरू मानिसको कपालभन्दा २० गुणा सानो हुन्छ । यिनीहरू फोक्सोको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई छलेर फोक्सोमार्फत रक्तनलीहरूमा पनि असर पु¥याउने डा. बमले उल्लेख गरे । ‘२.५ पीएमभन्दा साना कण, वायुमा रहेका हानिकारक पदार्थहरु रक्तनलीहरुमा प्रवेश गर्दछ, रक्तनलीहरु साँघुरो गराएर दीर्घाकालीन रुपमा उच्च रक्तचाप बढ्छ, हृदयघात, पक्षघातजस्ता समस्या हुन्छ,’ उनले भने, ‘अल्पकालीन रुपमा श्वास नलीमा एलर्जी गरेर श्वास नली साँघुरो हुने र श्वास प्रवाहमा समस्या आएर दम रोगको सुरुवात हुन्छ, रुघाखोकी लाग्नेजस्ता समस्या आउँछन् ।’

डब्लुएचओका अनुसार दीर्घकालीन फोक्सोको रोग (सीओपीडी) नेपालमा मृत्युको सबैभन्दा ठुलो कारणका रुपमा देखिएको छ । नेपालमा सीओपीडीबाट हुने मृत्युमध्ये ६६ प्रतिशत वायु प्रदूषणका कारण हुने गरेको छ । यस्तै नेपालमा फोक्सोको क्यान्सरबाट हुने मृत्युमध्ये ३४ प्रतिशत वायु प्रदूषणका कारण भएको पाइएको छ । तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण (एलआरआई) नेपालमा मृत्युको चौथो ठुलो कारण मानिएको छ । नेपालमा एलआरआइबाट हुने मृत्युमध्ये ३४ प्रतिशत वायु प्रदूषणका कारण हुन्छ । उच्च वायु प्रदूषण भएको दिनहरूमा दम रोगका कारण अस्पताल भर्ना हुने क्रम बढेको पाइन्छ ।

वायु प्रदूषणबाट कसरी जोगिने ?

वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्य बिग्रँदो छ । अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन विभिन्न उपाय अपनाउनु पर्ने विज्ञहरुले सुझाएका छन् । यसका लागि सरकारको मात्र पहलभन्दा व्यक्तिगत रुपमा पनि सबै लाग्नुपर्ने ज्ञवालीले बताए । वायु प्रदूषण कम गर्न फोहोर तथा पातपतिङ्गर र प्लस्टिकजन्य वस्तु नबाल्न ज्ञवालीले सुझाएका छन् । विद्युतीय चुलो प्रयोग गर्ने, वातावरणमैत्री सवारी साधन प्रयोग तथा नियमित रुपमा सवारी साधन मर्मत गर्नुपर्ने उनले बताए ।

सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न डा. बमले सुझाएका छन् । मास्क लगाउने, बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्ने भएकाले बिहान र बेलुकीपख सकेसम्म बाहिर ननिस्कन उनले सुझाएका छन् ।

लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउन र नियमित रुपमा व्यक्तिगत सरसफाइमा ध्यान दिन डा.बमको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप