शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सोमबार, २९ माघ २०८०, १० : ०१
सोमबार, २९ माघ २०८०

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् । 

विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन् । यी पालिकाहरूले सार्वजनिक सुचना नै जारी गरेर जनयुद्ध दिवस मनाउने घोषणा गरेका छन् । बिदा दिने चार मध्ये तीन वटा पालिकाको नेतृत्व माओवादीले गरेको छ भने बाँफिकोटको अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् । 

पचालझरनाले गणतन्त्र स्थापनाको लागि ०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धको स्मरण र सम्मानका लागि बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । सूचनामा भनिएको छ, ‘उक्त दिन पचालझरना अन्तरगत सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ दिन सार्वजनिक बिदा दिने ।’ पचालझरनाको अध्यक्ष रहेका देवबहादुर शाही माओवादीबाट निर्वाचित भएका हुन् । 

मुड्केचुलाको सुचनामा भनिएको छ, ‘संघीय लोकतानित्रक गणतन्त्रको आधारको रूपमा रहेको जनयुद्ध थालनी भएको दिनको सम्झनामा सार्वजपनक बिदा दिइने ।’ माघ १३ गते बसेको २८ औँ गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ र। यो गाउँपालिकाको नेतृत्वमा माओवादीका दत्तबहादुर शाही छन् । 

यस्तै नलगाड नगरपालिकाले माघ २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिइएको बताएको छ । नलगाड नगरका मेयर डम्बरबहादुर रावत भन्छन्, ‘सबै काम सर्वोच्चकै मात्र हुँदैन केही त हाम्रो पनि होला नि ! सर्वोच्चबाट सबै कार्यपालिका खारेज गरेर सर्वोच्चलाई जिम्मा दिए भैगो, किन राख्नु कार्यपालिका ।’ आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको उनले बताए ।

‘कर्णालीमा हिजो अन्याय र अत्याचार धेरै थियो, त्यसका विरुद्धमा विद्रोह भयो,’ उनले भने, ‘जनयुद्धले त्यो केही हदसम्म कम ग¥यो । त्यही भएर पनि जनयुद्धमा कर्णालीको महत्त्वपूर्ण भूमिका रह्यो । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । हिजो पूर्व भन्दा पश्चिम अझ कर्णालीमा धेरै अन्याय थियो । त्यसका विरुद्धमा यहाँका जनताहरू युद्धमा लागेर त्यस विरुद्ध लडे । तुलनात्मक रूपमा हेर्दा माओवादी अन्तभन्दा कर्णालीमा धेरै छ । त्यसैले यो अवसरमा हामीले सम्मान स्वरूप मनाउने घोषणा गरेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप