बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सहकारी पीडितहरूद्वारा काठमाडौँ ठप्प पार्ने चेतावनी

बिहीबार, ०३ फागुन २०८०, १६ : ३०
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो । 

फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट  काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइएको छ । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म केही काम नगरेको र आफूहरूसँग समन्वयसमेत नगरेको उनको भनाइ छ । 

सरकारको यस प्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरू जोडिएका उनको दाबी छ । उनले ती पीडितहरू विभिन्न दुई सय ८९ सहकारीमा आबद्ध रहेका बताए । आफूहरू अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतिमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ । 

‘सहकारी विभागमा यही आउँदो ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिने कार्यक्रमको सुरुवात गर्दैछौँ । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गणबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौँ ।’ उनले भने, ‘उहाँहरूका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौँ । चैत १ गते देशभरका पीडित बचतकर्तालाई काठमाडौँ आह्वान गर्छौँ । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौँ ।’

अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएन जस्तो आफूहरूलाई नलागेको उनले बताए । उनले सहकारी पीडित बचतकर्ताहरूलाई न्यायका लागि मर्न पनि पछाडि  नहट्न आह्वान गरे । बिचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनि उनले सबै अभियन्ताहरूलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरू लागिरहने उनको भनाइ छ । 

अभियानका महासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरूले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे । 

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए । सहकारी पीडितहरूको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरूले सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप