शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा शैक्षिक सर्वेक्षण सुरु

उपमहानगरको करिब २ अर्ब बजेट मध्ये ८० प्रतिशत भौतिक पूर्वाधारमा खर्च, मानव संसाधनको विकासमा लगानी न्यून
शनिबार, ०५ फागुन २०८०, ०७ : १९
शनिबार, ०५ फागुन २०८०

बारा । जीतपुर सिमरा उपमहानगरले आफ्नो मातहतमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको शैक्षिक अवस्था बारे सर्वेक्षण सुरु गर्ने भएको छ ।  

आधारभूत तहका  कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको पढाइको स्तर, विद्यालयको भौतिक अवस्था, शिक्षक दरबन्दी, शैक्षिक अवस्था, विद्यालयको अतिरिक्त क्रियाकलाप, पिउने पानी, शौचालय लगायतको  अवस्थाबारे  सर्वेक्षण गरिनेछ । उपमहानगरभित्र रहेका ६१ वटा सामुदायिक र ५० वटा संस्थागत विद्यालयमा बुधवारदेखि  यो सर्वेक्षण सुरु गर्न लागेको हो । 

सर्वेक्षणका लागि सिमरा, डुमरवाना र बकुलिया क्याम्पसमा स्नातक तह अध्ययनरत १६० जना विद्यार्थीहरूलाई विज्ञ शिक्षकहरू मार्फत ३ दिनको तालिम दिइएको छ ।  यसमा विद्यार्थीहरूको समूह बनाएर बुधवारदेखि स्थलगत रूपमा १५ दिनसम्म फिल्डमै पुगेर तथ्याकं सङ्कलन गर्नेछन् । 

 यो कार्यक्रमको समन्वय गरिरहेको सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जीतपुर सिमरा उपमहानगरभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरूको भौतिक अवस्था, कक्षा कोठा, विद्यालयमा पढाउने शिक्षक स्थायी, अस्थायी, राहत, निजी श्रोत के हुन्, अध्यापन गराउने शिक्षकको सङ्ख्या पुन÷नपुग देखि विद्यालयमा खानेपानी, शौचालय,शिक्षकले विद्यार्थीसँग गर्ने व्यवहार लगायत समग्र विषयहरूको अध्ययन गरिने बताएका छन् । 

‘विद्यार्थीको हकमा सिकाई स्तर, कक्षा अनुसारको सिकाई स्तर ठिक छ छैन, कक्षा ४ मा पढ्ने विद्यार्थीले कक्षा ४ को लेबल अनुसार सुधार्न सकेको छ कि छैन, कक्षा ८ मा पढ्ने विद्यार्थीले सोही अनुसार शैक्षिक स्तर बनाएको छ कि छैन त्यो लगायत विद्यार्थी र विद्यालयको समग्र विषयलाई सर्वेक्षण मार्फत सबै विषय उजागर गर्ने यसको मुख्य उद्देश्य हो’ सिमरा कलेजका प्रमुख अधिकारीले भने  ‘हाम्रो मुख्य उद्देश्य यो  पालिका भित्रको शैक्षिक स्तर यथास्थिति भन्दा बदल्नु हो, र अहिले ठ्याकै विद्यालय र विद्यार्थीहरूको स्तर कस्तो छ भनेर सर्वे मार्फत सार्वजनिक भएको तथ्याकं नगरपालिकालाई सुम्पिदिने हो ।’  

१६० जना विद्यार्थीहरूले १५ दिनसम्म स्थलगत रूपमा सर्वेक्षण गरेर ल्याएको तथ्याङ्कै आधारमा अगामी नीति तथा कार्यक्रममा शिक्षा सुधार का योजनाहरू ल्याइने उपमहानगरले जनाएको छ । ‘नगरपालिले यही सर्वेक्षणको तथ्याकंका आधारमा भावी शैक्षिक नीति र योजना बनाउने हो, त्यो बनिसके पछिको अवस्थामा सुधिन्छ भन्ने हाम्रो सकारात्मक अपेक्षा हो’ अधिकारीले भने । 

विद्यालयमा आधारभूत तहका विद्यार्थीहरू माझमा यस्तो प्रकृतिको सर्वेक्षण उपहानगरले पहिलो पटक गर्न लागेको हो । 

jj1

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उपमहानगरले गत वर्ष पहिलो पटक कक्षा ८ को परीक्षा फरक विद्यालयमा सञ्चालन गरेर सिसी क्यामराको निगरानीमा सबै विद्यालयहरूको कपी परीक्षण एकै ठाउँमा राखेर गरेको थियो । जसबाट उपमहानगरभित्र कक्षा ८ मा अध्ययनरत विद्यार्थी र विद्यालयको शैक्षिक अवस्था सार्वजनिक भएको थियो ।

यो कार्यक्रम हाल काठमाडौँ महानगर सहित केही पालिकामा सञ्चालन भएको छ । उपमहानगरका नगरप्रमुख राजन पौडेलले ठुला भौतिक पूर्वाधार निमार्ण गर्नु पूर्व विस्तृत वातावरणीय अध्ययन, अनुसन्धान, माटो परीक्षण गर्ने कानुनी व्यवस्था नै भए पनि मानव संसाधन निमार्णको हकमा आधारभूत तहमा अध्ययन  र लगानी नहुने गरेको बताएका छन् ।  

‘हामीले हाम्रा बालबालिका, किशोर किशोरीहरूमा लगानी गर्नुपर्छ, हामी अव त्यहाँ केन्द्रित हुनुपर्छ’ नगरप्रमुख पौडेलले भने ‘हाम्रो अध्ययनमा उपमहानगरमा योजना माग्न आउने मध्ये ८० प्रतिशतले ढुङ्गा, इँटा, रड र सिमेन्ट माग्दा रहेछन्, तर मानव संसाधन विकासको लागि बजेट प्रायः माग्दैनन् ।’

उपमहानगरले वार्षिक करिब २ अर्बको बजेट खर्च गर्दा उपमहानगरभित्र रोजगारी सिर्जना हुने, युवाहरूलाई  विदेश पलायन हुनबाट पनि रोक्न नसकिएकोले अगामी दिनमा विकासको मोडेल परिवर्तन गर्नुपर्ने नगरप्रमुख पौडेलको भनाई छ ।  

jj3

‘अव जीतपुर सिमरा भित्र जे जनशक्ति छ यसैलाई तिखार्ने, उत्कृष्ट बनाउने र त्यसैलाई अधिकतम प्रयोग गरेर काम गर्ने योजनामा हामी छौ’ नगरप्रमुख पौडेलले भने  । 

उपमहानगरले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ५० करोड ५४ लाख २६ हजार २२० रुपैयाँ बजेट विनियोजन गरेर काम गरिरहेको छ । नगरप्रमुख पौडेलले यो सर्वेक्षण पश्चात् आउने तथ्याकंलाई आधारमा मानेर अगामी वर्षको लागि शैक्षिक नीति तथा कार्यक्रमहरू समेत हेरफेर गरेर अगाडि बढ्ने बताएका छन् ।

बुधवारदेखि सुरु हुन शैक्षिक सर्वेक्षणको लागि भने उपमहानगरले १९ लाख बजेट विनियोजन गरेको छ । जसमा सर्वेक्षणका १५ दिनसम्म खट्ने १६० जना विद्यार्थीहरूलाई खाजा र यातायात  खर्चको व्यवस्था गरिएको आयोजक सिमरा क्याम्पसका प्रमुख अधिकारीले जनाएका छन् ।  

jj4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप