सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

फागुनमा ६ फिल्म : कथा र कलाकारमा भेराइटी, लगानी उठाउन चुनौती

शनिबार, ०५ फागुन २०८०, १९ : ००
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । गत कार्त्तिकपछि सेलाएको नेपाली फिल्मको प्रदर्शन फागुनबाट फेरि तात्ने भएको छ । कार्त्तिकपछिका तीन महिना अर्थात् मङ्सिर, पुस र माघमा गरेर जम्मा ६ फिल्म प्रदर्शनमा आएका थिए । यो फागुनमा भने एकै महिना ६ फिल्म रिलिज हुने देखिएको छ ।

मङ्सिर, पुस र माघमा गरेर ‘जम्प’, ‘दुई कदम’, ‘चित्रा’, ‘पर्खी बसेँ तिमीलाई’, ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आए । ६ मध्य ‘हात्तीछाप’ र ‘दयारानी’ अहिले पनि प्रदर्शनमा रहेको छ भने ४ फिल्मको लगानी बालुवामा पानी जस्तै भएको छ । प्रदर्शनरत ‘हात्तीछाप’ र ‘दयारानी’को व्यवसाय सन्तोषजनक छैन ।

नेपाली फिल्मको नियति के छ भने नआउँदा एउटै नआउने, आएपछि आ–आफैँ भिड्ने गर्छन् । गत मङ्सिर, पुस र माघको फिल्म रिलिजले पनि त्यो देखाउँछ । मङ्सिरको पहिलो, दोस्रो र तेस्रो साता नयाँ फिल्म रिलिज भएन । चौथो साता अर्थात् मङ्सिर २९ गते ‘जम्प र ‘दुई कदम’ एकअर्कासँग भिडे । पुस र माघको अवस्था पनि मङ्सिर झैँ रह्यो । पुस र माघको पहिलो, दोस्रो र तेस्रो साता खाली भएको हलमा पुस २७ गते ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ले टक्कर दियो । त्यस्तै गत माघ २६ गते ‘हात्तीछाप’ र ‘दयारानी’ एक अर्कासँग भिडे ।

फागुनमा फिल्म रिलिजको सुरुवात पहिलो साता अर्थात् ४ गते शुक्रबार ‘जिग्री’बाट हुँदैछ । त्यसपछिको फागुन ११ गते ‘गोर्खा वारियर’ लाग्नेछ । तेस्रो साता अर्थात् फागुन १८ गते ‘अगस्त्य’ प्रदर्शनमा आउने तयारीमा छ । यी ३ वटै फिल्मले एकल प्रदर्शनको अवसर पाएका छन् । जसले गर्दा हल र दर्शक बाँडिने देखिएको छैन । तर, अघिल्ला साता रिलिज भएका फिल्मले ‘पिकअप’ लिएको अवस्थामा भने अर्को गाह्रो पर्नेछ ।

फागुनको अन्तिम साता अर्थात् २५ गते तीन नेपाली फिल्मबिच महासङ्ग्राम हुँदैछ । यो मितिमा ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ भिड्ने तयारी छन् । महाशिवरात्रिको बिदाको फाइदा उठाउन यी सबै फिल्म रिलिजका लागि तातेका हुन् । सिंगल रिलिजको अवस्थामा समेत लगानी उठाउन नसकेको समय भिड्दा लगानी सुरक्षित नहुने जोखिम छ ।

  • कथा र कलाकार भेराइटी 

नेपाली फिल्मका दर्शक हरेक फिल्ममा भेराइटी खोज्छन् । त्यसरी भेराइटी खोज्ने दर्शकका लागि यो फागुन विशेष हुने देखिएको छ । यो फागुनमा रिलिज हुने ‘जिग्री’, ‘गोर्खा वारियर’, ‘अगस्त्य’, ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ हुन् । यी ६ नै फिल्मका विषयवस्तु फरक छन् नै, कलाकार समेत सबैमा फरक छन् । ‘जिग्री’ र ‘गोर्खा वारियर’ बाहेकको फिल्ममा स्टार कलाकारको भिड छ ।

फागुन ४ मा रिलिज हुने ‘जिग्री’ पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनको विषयमा बनेको हो फिल्म हो । कमेडी–क्राइम र एक्सन बताइएको फिल्ममा फिल्ममा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

त्यस्तै फागुन ११ मा रिलिज हुने ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको बहादुरीको कथामा निर्माण भएको हो । वीरता र देशभक्तिलाई केन्द्रमा राखेर बनेको फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।

फागुन १८ मा रिलिज हुने ‘अगस्त्य’ भने सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायत कलाकारको अभिनयले भरिएको फिल्म हो । फिल्मले एक्सन र लभस्टोरी कथामा पेस गरेको छ ।

‘उपहार’ भने २५ फागुनको फिल्म हो । समसामयिक कथामा निर्माण भएको फिल्ममा धेरै स्टार छन् । रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की लगायतको अभिनय रहेको फिल्मको फष्टलुक्स कलाकार अनुसार फरक सार्वजनिक भएको छ । फिल्ममा केही भिन्न भिन्न कथा रहेको बताइन्छ ।

यस्तै ‘रङ्गेली’ पनि २५ फागुनै रिलिज हुने फिल्म हो । अभिनेता दयाहाङ राई र मिरुना मगरको रोमान्टिक ड्रामा भनिएको छ । फिल्मको प्रचारमा दयाहाङ र मिरुनाको प्रेमिल तस्बिरहरूबाट भइरहेकोले यो प्रेमकथामा बनेको फिल्म हो भनेर अनुमान गर्न सकिन्छ । फिल्ममा दयाहाङ र मिरुनाको अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको मुख्य भूमिका छ ।

२५ फागुनमै आउन लागेको तेस्रो फिल्म ‘काँडेतार’ हो । यो मितिलाई सबैभन्दा पहिले फिल्म रिलिज मितिको रूपमा सार्वजनिक गरेको फिल्म नेपालको सीमामा काँडेतार लगाउने विषयवस्तुमा बनेको हो । सीमा रक्षाका लागि देशका नागरिकले गरेको बलिदा र अव गर्नुपर्ने दाइत्वको विषय फिल्मले उठाएको छ । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बालकलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ ।

  • २६ करोडको दबाब

६ फिल्म रिलिज हुन लागेको फागुनमा तीनसाता सिंगल र एकसाता तीन फिल्म छन् । रिलिजका हिसाबले सिंगल अवसर पाएका फिल्म ‘जिग्री’, ‘गोर्खा वारियर’ र ‘अगस्त्य’लाई लगानी उठाउन सहज देखिएको छ भने २५ फागुनमा भिड्दा लागेका ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’लाई चुनौती देखिन्छ ।

फागुनमा रिलिज हुने ६ फिल्मको प्रचारका क्रममा बताइए अनुसार ‘जिग्री’ एक करोडसम्मको फिल्म हो भने अन्य ५ फिल्मको लगानी २ देखि ३ करोडसम्म छन् । सर्सती हेर्दा फागुनमा रिलिज हुने ६ फिल्मको लगानी १२ देखि १३ करोड देखिन्छ । यो लगानी उठाउन ६ फिल्मले करिब ३६ करोड माथि कमाउनुपर्ने हुन्छ ।

आकाश मगर निर्देशित ‘जिग्री’ ५० लाखमा निर्माण भएको हो । सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् । फिल्म सुस्केरा आर्ट्सले वितरण गरेको हो ।

त्यस्तै मिलन चाम्सको निर्माण निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’ ३ करोड बढी लगानी भएको बताइन्छ । बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा भव्य प्रिमियर भएको फिल्म ४ भाषामा रिलिज हुँदैछ । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् । निर्देशन चाम्सले यस अगाडि थुप्रै फिल्म निर्देशन गरिसकेका छन् । यो उनको  महत्त्वाकाङ्क्षी फिल्म हो ।

सौरभ चौधरीको निर्देशन रहेका ‘अगस्त्य’को बजेट पनि २ करोड माथि बताइएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म निर्देशक चौधरीको यो दोस्रो फिल्म हो । उनले यस अगाडि ‘लभ डायरिज’ निर्देशन गरेका थिए । जुन बक्स अफिसमा सफल हुन सकेन ।

‘उपहार’ ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म हो । थुप्रै सफल फिल्म दिएका देउजाको यो फिल्म निर्माणमा   अभिनेत्री रेखा थापासँग सहकार्य छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनेको यो फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । फिल्मको लगानी २ करोड माथि बताइन्छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रंगेली’को पनि लगानी २ करोड बताइन्छ । जितेन्द्र खतिवडा, अनुजजङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मको संसार चौलागाईं, रमेश भट्टराई निर्माता हुन् ।

नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतार’को लगानी पनि ३ करोड माथि बताइन्छ । सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मका निर्माता नवल खड्का, माकिको राई र अञ्जु केसी हुन् । फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप