सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘अब चुनाव एक्लै लड्नुपर्छ’

२०८४ मा माओवादी २०६४ सालकै हैसियतमा फर्किन्छ : पम्फा भुसाल
आइतबार, ०६ फागुन २०८०

नेकपा माओवादी केन्द्रले भर्खरै आफ्नो पहिलो विधान अधिवेशन सम्पन्न गरेको छ । विधान अधिवेशनपछि पार्टी अब नयाँ ढङ्गले अघि बढ्ने पार्टीका नेताहरूले भनिरहेका छन् । तर धेरैले माओवादी नेताहरूको यस दाबीमाथि आशङ्का व्यक्त गरिरहेका छन् ।

विधान अधिवेशनपछि के साँच्चै माओवादीले नयाँ दिशा पक्रन सक्छ त ? रोहित दाहालले माओवादीकी उपाध्यक्ष पम्फा भुसालसँग प्रश्न गरेका छन् । त्यस्तै सरकार र गठबन्धनको भविष्य, माओवादीको आगामी रणनीतिका विषयमा पनि कुराकानी भएको छ । प्रस्तुतसँग उपाध्यक्ष भुसालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश:

  • भर्खरै सम्पन्न विधान अधिवेशनबाट पार्टीले के पायो ? केही नयाँ केही हुने भयो ? 

–हामीले विधान नभएर विधान बनाएको होइन । हरेक महाधिवेशनबाट विधान पास हुँदै आएकै छ । अहिले पनि परिमार्जन गरेर विधान पारित गर्ने काम भयो ।

  • विधान अधिवेशन भनेर किन गर्नुपर्‍यो त ?

–खुला राजनीतिमा आएपछि समितिहरू ठुलठुला बन्न थाले । चार हजारसम्मका कमिटी बने । कामकाजी कमिटी भएनन् । काम गर्ने र नगर्नेबिच भिन्नता भएन । छलफल गरेर निर्णयमा पुग्ने विधिको  पनि अन्त्य भयो । अधिकांश सदस्यहरूको आकाङ्क्षा माथि मात्र कसरी जाने भन्ने भयो अर्थात् तल नबस्ने समस्या बढेर गयो । 

  • पार्टी संगठनमा जेजस्ता समस्या छन् भन्नुभयो, अहिले बनेको  विधानबाट यी समस्या समाधान हुने भयो त भन्ने मेरो प्रश्न हो । 

–संगठनभित्र यसअघि  देखिएका कमजोरीहरू यो विधानले  हटाउँछ ।

  • कसरी ?

–यो विधान लागु भएपछि अब कमिटीहरू भद्दा हुने छैनन् । कमिटीहरू निश्चित आकारका हुनेछन् । जस्तै केन्द्रमा १५१ सदस्यीय प्रस्ताव गरेकोमा हलले नै  १९९ बनाउने भन्यो । तल १२५ सदस्यीय हुनेछन् । पार्टी सदस्यको सङ्ख्याका आधारमा केही सङ्ख्या थपघट हुन सक्छ । दोस्रो, अब सोझै कोही माथि आउन सक्दैन, आउने हो भने प्रतिस्पर्धामा सहभागी हुनै पर्छ । यसले गर्दा कमिटीहरू तलतिर फर्किनै पर्छ । अब प्रदेशलाई कार्यकारी बनाउँछौँ ।

  • प्रतिस्पर्धा त भन्नुभयो तर तपाईं आफूहरू चाहिँ सुरक्षित नै हुने गरी विधान तयार गर्नुभयो । नभए पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै छानौँ भन्ने प्रतिनिधिको मागलाई किन अस्वीकार गरियो ?

–केही प्रतिनिधिले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित गरिनुपर्छ भन्ने माग गर्नुभएको थियो । पदाधिकारी पनि निर्वाचित नै हुने हो । पदाधिकारी बन्न चाहने व्यक्ति निर्वाचित नै भएर आउनुपर्छ । पदाधिकारी पनि केन्द्रीय कमिटीले निर्वाचित नै गर्ने हो । अब प्रत्यक्ष निर्वाचनमा जाने बित्तिकै राम्रो हुन्छ भन्ने पनि छैन । प्रत्यक्ष निर्वाचित गर्दा एनआरएनएमा के भइरहेको छ ? एउटैले भोट किन्दिने र निर्वाचन जित्ने गरेको पनि देखिएको छ  । 

  • यो विधान अधिवेशनले खिइँदै गएको माओवादीलाई जोगाउला त ? 

–अब आउने २०८४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को जत्रो बन्छ, अर्थात् देशकै पहिलो पार्टी बन्छ ।

  • कोसँग मिलेर निर्वाचन लडेर पार्टीको अस्तित्व जोगाउने भनेर बरु त्यता पो सोच्ने कि ? कांग्रेसले पनि अब साथ देलाजस्तो छैन । 

– अब चुनाव एक्लै लड्नुपर्छ । कांग्रेससँग मिलेर चुनाव लड्दा हामीलाई २० देखि २५ सिट घाटा भएको छ । एक्लै निर्वाचन लडेर २०६४ को माओवादी बन्ने हो ।

  • यति असम्भव कुरा कसले पत्याइदिने त फेरि ?

–हामी सक्छौँ । जनयुद्ध सुरु गर्दा पनि असम्भव भनिन्थ्यो, सम्भव बनाइयो । समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको युग परिवर्तनको आन्दोलनको नेतृत्व माओवादीले गर्छ, त्यो सम्भव होला भन्ने कुरा मानिसलाई पत्यार लागेको थिएन । त्यो पनि सम्भव भयो भने २०८४ मा माओवादी २०६४ सालमा फर्किन्छ र सम्भव गराइन्छ ।

  • यही नेतृत्व, यही कार्यशैली, यिनै कार्यक्रम कायम राखेर देशकै ठुलो पार्टी बन्ने ?

–अबको एक वर्षभित्र विशेष महाधिवेशन गर्छौँ । महाधिवेशनले  वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, उत्पादनका कार्ययोजना बनाएर समाजवादको आधार तयार गर्ने काम गर्छ । यसले नयाँ मानिसहरूप्रति पनि पार्टीको आकर्षण बढेर जाने छ ।

  • आठौँ महाधिवेशनले बनाएको विधान कार्यान्वयन भएन । कतिपय बुँदा त अध्यक्षबाटै उल्लङ्घन भए । अहिलेको विधान पनि कार्यान्वयन होला त ?

–अध्यक्षले मात्र नभन्नुस् तपाईंहरुले भन्नुस् । अर्को कुरा आठौँ महाधिवेशन समग्रमा पूर्ण महाधिवेशन गर्न सकिएन । विचारको विकासको संश्लेषण गर्न सकेनौँ, आशा भरोसा देख्ने कार्ययोजना बनाउन सकिएन र त्यही बेला अध्यक्षले विशेष महाधिवेशन गर्ने भनेर हलमै बोल्नुभएको हो । महाधिवेशन नै पूर्ण नभएपछि विधान कसरी पूर्णरुपमा कार्यान्वयन हुन्छ त ?

  • विशेष महाधिवेशनले नेतृत्व पनि परिवर्तन गर्छ ? अझभन्दा तपाईंलाई अध्यक्ष भएको देख्ने सम्भावना पनि रहन्छ ? अथवा अरू कोही हुन्छ कि अहिले कै कायम रहन्छ ?

–१८ वर्षमा पार्टी सदस्यता पाइन्छ । कथम् कदाचित ऊ निर्वाचित भएर आएर नयाँ नीति, नयाँ कार्यक्रम, नयाँ कार्ययोजना लिएर आयो भने ऊ पनि हुनसक्ने भयो । हाम्रो दोस्रो तेस्रो पुस्ताका नेताहरू जो एकदम सक्रिय, हिजो युद्धदेखि अहिलेसम्म खटेका साथीहरू हुनुहुन्छ, उहाँहरू पनि आउनुहोला । अथवा कोही पनि पुनर्निर्वाचित भएर आउँदा प्रचण्डले नपाउने भन्ने कुरा पनि भएन, मैले नपाउने भन्ने कुरा पनि भएन ।

  • पार्टी अध्यक्षले कांग्रेसबाट धोका पाइयो, गठबन्धनमा पुनर्विचार गर्नुपर्छ भनेर बैठकमा भन्नुभयो भनेपछि अब सरकार छाड्ने हो ?

–हामी अहिले सरकार पनि छाड्दैनौँ र गठबन्धन पनि फेर्दैनौँ ।

  • ए यति भनी भनी पनि बस्न मिल्छ त सरकारमा ?

–अध्यक्षले इङ्गित गर्नुभएको विषयचाहिँ राष्ट्रिय सभाको निर्वाचनलाई हो । कोशी प्रदेशमा गठबन्धनको एउटा उम्मेदवारले जित्ने माओवादीको उम्मेदवारले हार्ने जुन घटना भयो त्यसलाई धोका भयो भन्नुभएको हो । तर यतिकै कारण गठबन्धन तोडिँदैन ।

  • अधिवेशनको हलमा प्रतिनिधिले त सरकारले काम गर्न सकेन अब सरकारमा बस्नु हुन्न भने भन्ने आयो नि त । अझ कतिपयले त प्रधानमन्त्रीले रिवन काट्ने मात्र काम गर्नुभयो, तुरुन्तै छाड्नुपर्छ भन्ने पनि थिए  ।

–त्यहाँ कसैले त्यस्तो भनेको छैन । प्रचण्ड भएरै अहिलेको सरकार यत्तिको चलेको हो । प्रचण्डमा विलक्षण प्रतिभा छ । 

  • भनेपछि सरकारमै बसेर सकिने माओवादी ?

–पार्टीको कार्यदिशा नै तीन स को कार्यदिशा हो – सरकार, सदन र सडक ।

  • यसको मतलब भित्रभित्रै एमालेसँग कुरा भइरहेको छ हो ? सरकार परिवर्तनका लागि ?

–यस्तो बङ्ग्याउने कुरा नगर्नुस्, यो गठबन्धन कायम रहन्छ, अहिले एमालेसँग कुरा भएको छैन र सरकारका विषयमा कुरा हुँदैन पनि । तर नेपालका वामपन्थीहरूको एउटै पार्टी भने बनाउनुपर्छ । 

  • पार्टी त एउटै बनाउनु पनि भयो होइन र ?

–त्यो आवश्यकता थियो तर दुर्भाग्यवश त्यो टिकेन । तर एकचोटी टिकेन भनेर होइन अब पनि एउटै कम्युनिस्ट पार्टी बनाउने पहल गर्नुपर्छ ।

  • केपी ओली र प्रचण्ड हिजो जहाँजहाँ हुनुहुन्थ्यो, त्यहीँ हुनुहुन्छ अनि कसरी सम्भव होला त ? 

–मैले भोलि नै हुन्छ भनेको पनि छैन नि त ।

  • भनेपछि पार्टीको नेतृत्व तपाईंहरुसम्म आइपुग्यो वा परिवर्तन भयो भने हुन्छ भन्नु भएको ?

–वस्तुगत आवश्यकताले सबैलाई परिवर्तन गर्छ । नत्र कोही टिक्दैन ।

  • आफूलाई गणतन्त्रको सूत्रधार मान्ने स्वयं प्रचण्ड नै प्रधानमन्त्री भएको बेला राजावादीहरू बढी सक्रिय भए । अहिलेको व्यवस्था नै सङ्कटमा पर्न लागेको हो कि भन्ने आशङ्का किन ?

–नेपाली जनता परिवर्तनप्रति बहुतै सचेत छन् । केही हुन लाग्यो कि भनेर ध्यानपूर्वक हेर्छन् । तर एउटा मरेको मान्छे कहिल्यै फर्कँदैन । अर्को कुरा हारेको शक्ति जिउँदो हुँदाभन्दा दश गुणा बढी तागतमा देखिन खोज्छ । अनि पटक पटक सपनामा हिजोको हैसियत सम्झिन्छ । त्यस्तो भएको मात्र हो । राजसंस्था फर्किने कुनै सम्भावना छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया