बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध

बिहीबार, २१ जेठ २०८३, १२ : ०७
बिहीबार, २१ जेठ २०८३

सारांश

  • छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ ।
  • कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासनसँग कडा कारबाहीको माग गरेका छन् ।
  • कर्मचारीहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कामकाजमा बाधा पुग्न सक्ने चेतावनी दिएका छन् ।

सप्तरी । छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा एक समूहले अराजक गतिविधि गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आपत्ति जनाएका छन् । बुधबार कार्यालय समयमा एक समूहले ५७ वर्षीय प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले बिहीबार प्रेस विज्ञप्तिमार्फत भर्त्सना गरेका हुन् ।

उक्त  समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै कडाभन्दा कडा कारबाही गर्न स्थनीय प्रशासनसँग माग गरेका छन् । 

 विद्यालय जस्तो पवित्र क्षेत्रलाई नै विवादमा तान्नेगरी एक समूहले श्री माध्यमिक विद्यालय लालापट्टिका विद्यार्थीहरुको गलत प्रयोग गरेर  गाउँपालिकाका विरुद्ध प्रदर्शन गराएको उक्त गाउँपालिकाका अध्यक्ष विद्यान्द चौधरीले बताए ।

 विद्यालयमा पंखा र खानेपानी जस्ता भौतिक सुविधाहरू गाउँपालिकाले उपलब्ध गराइसकेको अवस्थामा पनि गलत अफवाह फैलाएर शैक्षिक क्षेत्रमा नराम्रो नजिर स्थापित गर्न खोजिएको कर्मचारीहरुको विज्ञप्तिमा समेत उल्लेख छ ।

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाका कर्मचारीहरूले चारबुँदे माग  सार्वजनिक गरेका छन् । उनीहरूले कार्यकक्षमा दुर्व्यवहार र तोडफोडमा संलग्न मुख्य योजनाकार तथा व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन् । साथै, बालबालिकाको मनोविज्ञान र भविष्यमा नकारात्मक असर पर्ने गरी उनीहरूलाई राजनीतिक रिसिइबी साध्ने माध्यम नबनाउन समेत सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।

कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको वर्तमान अवस्थामा कार्यालय सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कामकाजमा बाधा पुग्न सक्ने चेतावनीसहितका माग राखिएको छ । 

विधिको शासन र कानुनी राज्यको उपहास गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्न, गाउँपालिकाको विकास र शान्तिमा खलल नपुर्‍याउन कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित सबै पक्षसँग अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप