मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

एक वर्षमा एक हजार ३४९ जनामा दादुरा पुष्टि, एक जनाको मृत्यु

फागुन १३ गतेदेखि देशभर खोप अभियान
शुक्रबार, ११ फागुन २०८०, ०६ : ४३
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा पुष्टि भएका र मृत्यु भएकामध्ये ७४ प्रतिशत बिरामी ९ महिनादेखि १५ वर्ष मुनिका रहेको राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख छ ।

दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा–रुबेला खोप नलिएकामा ३१ प्रतिशत बालबालिका ९ महिनादेखि ५ वर्ष मुनिका छन् । दादुरा रोग भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत देखिएको सो निर्देशिकामा उल्लेख छ ।

२४ जिल्लाका बालबालिका दादुराको उच्च जोखिममा
निर्देशिका अनुसार तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्ला गरी देशभरका २४ जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका दादुराको जोखिममा छन् ।

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी गरी ३ जिल्लाका बालबालिका दादुराको जोखिममा छन् । यस्तै, मधेस प्रदेशको आठवटै जिल्ला दादुराको जोखिममा छ । बागमती प्रदेशका चितवन, काठमाडौँ, ललितपुर र भक्तपुर गरी ४ जिल्लामा दादुराको जोखिम छ । गण्डकी प्रदेशको नवलपरासी–पूर्व दादुराको जोखिममा रहेको सरकारी तथ्याङ्क छ । लुम्बिनी प्रदेशको नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला दादुराको जोखिममा छन् । यस्तै, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरी २ जिल्लाका बालबालिका दादुराको उच्च जोखिममा छन् ।

देशभरका ५३ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका दादुराको न्यून जोखिममा रहेको पहिचान भएको छ । कोशी प्रदेशमा ताप्लेजुङ, ईलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा गरी ११ जिल्ला न्यून जोखिममा छन् ।

यस्तै, बागमती प्रदेशका मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ गरी ९ जिल्ला न्यून जोखिममा छन् ।

गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र बाग्लुङ गरी १० जिल्ला कम जोखिममा रहेको निर्देशिकामा उल्लेख छ ।

लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुम–पूर्व र अर्घाखाँची गरी ६ जिल्ला कम जोखिममा छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जुम्ला, हुम्ला, मुगु र डोल्पा गरी १० जिल्ला कम जोखिममा छन् ।

निर्देशिका अनुसार जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाको रुपमा पहिचान गरी ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित उमेर समूह निर्धारण गरेर गत पुसमा दादुरा–रुबेला खोप अभियान सम्पन्न भएकाले हाल कर्णाली प्रदेशका ८ जिल्लामा मात्रै खोप अभियान सञ्चालन गरिने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला गरी ७ जिल्ला कम जोखिममा रहेको उल्लेख छ ।

सन् २०२६ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने सरकारी लक्ष्य

सरकारले २०२६ सालसम्म दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । यो खोपको कभरेज÷पहुँच ९५ प्रतिशत स्थानीय तहमा पु¥याउने उल्लेख छ । यसका लागि सरकारले चालु आर्थिक वर्षमा देशभरि नै दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गररे यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।

यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।

के हो दादुरा रोग ?

दादुरा एक प्रकारको आरएनए भाइरस ९एबचबmथहय खष्चगक०बाट लाग्ने संक्रामक रोग हो । निर्देशिकामा उल्लेख गरिए अनुसार यो भाइरस मानिसमा मात्र सर्दछ । दादुरा धेरै छिटो सर्ने अतिसंक्रामक किसिमको भाइरस भएको चिकित्सकले जनाएका छन् । त्यसैले यो रोगले छिटै महामारीको रुप लिने गरेको पाइएको छ । यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर ५ वर्षमुनिका बालबालिकामा बढी देखिने गरेको निर्देशिकामा उल्लेख छ ।

रोग सर्ने तरिका

दादुरा संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा दादुराको भाइरस हुन्छ । यो भाइरस नाक तथा घाँटीमा बृद्धि भइ यसले श्वासप्रश्वास नली एवम् शरीरको अन्य भित्री अङ्गहरूमा संक्रमण गर्दछ ।

रोगीको खकार, सिंगानको सम्पर्कमा आउँदा वा रोगीले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिर्काहरूमार्फत हावाको माध्यमबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

शरीरमा राता बिमिरा देखा पर्नुभन्दा ४ दिन अगाडिदेखि र बिमिराहरू देखा परेको ४ दिन पछिसम्म यो भाइरस दादुरा रोगीबाट अर्को व्यक्तिमा सर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

के हो रुबेला रोग ?

रुबेला रोग आरएनए भाइरस ९त्यनबखष्चगक०बाट लाग्ने संक्रामक रोग हो । निर्देशिका अनुसार यो भाइरसबाट संक्रमण हुँदा दादुरामा जस्तै शरीरमा राता बिमिरा देखा पर्न सक्छन् र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कमा देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

यदि गर्भावस्थाको पहिलो तीन महिनामा महिलालाई रुबेला संक्रमण भएमा ती महिलाबाट जन्मिने शिशु विभिन्न प्रकारका जन्मजात विकृति भएर जन्मिने, गर्भपतन हुने वा मृत बच्चा जन्मिन सक्ने जनाइएको छ, जसलाई कन्जेनिटल रुबेला सिण्ड्रोम भनिन्छ ।

रोग सर्ने तरिका

रुबेला रोग लागेको व्यक्तिको श्वास प्रश्वासबाट (जस्तै– खोक्दा, हाच्छिउँ गर्दा) यो रोगको भाइरस अर्को व्यक्तिमा सर्न सक्छ । रुबेला रोगका भाइरसहरू नाक र घाँटीमा वृद्धि हुन्छन् र शरीरको अन्य भागमा सर्दछन् । शरीरमा बिमिरा देखापर्नु भन्दा ७ दिन अगाडिदेखि बिमिरा देखिएको ५ दिनसम्म यो रोगका भाइरस अन्य व्यक्तिमा सर्न सक्छन् । कन्जेनिटल रुबेला सिण्ड्रोम भएर जन्मेको बच्चाले १२ महिनाको उमेरसम्म यो भाइरस अरुलाई सार्न सक्ने निर्देशिकामा उल्लेख छ ।

दादुरा र रुबेला रोगको उपचार के छ ?

दादुरा र रुबेला रोगको हालसम्म निश्चित औषधि उपचार छैन । जटिलताको कारणबाट मुत्यु पनि हुनसक्ने भएकाले यी रोगको उपचार यसका लक्षण वा जटिलता अनुसार गर्नु पर्ने चिकित्सकले सुझाएका छन् ।

तोकिएको उमेरमा दादुरा र रुबेला रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एकमात्र प्रभावकारी एवं भरपर्दो उपाय रहेको उनीहरुको भनाइ छ ।

यी रोगविरुद्ध दिइने खोप नियमित खोप सेवाको माध्यमबाट ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा लगाउनु पर्ने निर्देशिकामा उल्लेख छ ।

नेपालमा कहिलेदेखि लगाइन्छ दादुरा खोप ?

नेपालमा दादुरा खोपको सुरुवात सन् १९८८ देखि भएको पाइन्छ । त्यसबेलादेखि नियमित खोपसेवाको माध्यमबाट बालबालिकालाई ९ महिनाको उमेरमा दादुरा खोप प्रदान गर्न गरिँदै आएको निर्देशिकामा उल्लेख छ ।

सन् २०१३ देखि ९ महिनाका बालबालिकालाई रुबेला खोप दिन सुरु गरियो, जसअनुसार नियमित खोप सेवाको रुपमा दादुरा–रुबेला खोप प्रदान गरिँदै आएको छ । सन् २०१५ देखि नियमित खोप सेवामा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने कार्य सुरुवात गरियो, जसअनुसार १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिइँदै आएको छ ।

यो वर्ष दादुरा–रुबेला खोप अभियान यही फागुन १३ गतेदेखि सुरु हुने भएको छ । फागुन १३ देखि चैत ७ गतेसम्म सो खोप अभियान जारी रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप