पहिलो चरणमा ३७ हजारभन्दा बढी बालबालिकाले लगाए खोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही फागुन १६ देखि सुरु गरेको रुबेला दादुरा खोप कार्यक्रमको पहिलो चरणमा हजार ३७ हजार छ सय ७२ बालबालिकाले खोप लगाएका छन् ।
यसअघि ३२ वटै वडामा एकै चरणमा खोप अभियान सञ्चालन गरेको महानगरले यसपटक भने दुई चरणमा कार्यक्रम सञ्चालन गरेको थियो । महानगरका खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले असोजदेखि १३ वटा वडा ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा खोप कार्यक्रम सँगै नियमित खोप पनि प्रदान गरिने कार्यतालिका रहेको जानकारी दिए ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार काठमाडौँ महानगरमा नौ महिनामाथि र पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । उनीहरुलाई रुबेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ । यसरी दिइने खोपमा डिपीटी, हेप बी–हिब, पिसीभी, आइपिभी छन् ।
यस्तै पाँच वर्षमाथि १५ वर्ष उमेर तलका बालबालिकाको सङ्ख्या एक लाख एक हजार एक सय २९ छ । प्रणालीमा आबद्ध नभएका बालबालिकाको सङ्ख्यासँगै महानगरले दुई लाख ४६ हजारलाई खोप दिने लक्ष्य राखेको छ ।
रुबेला दादुरा खोप किन ?
रुबेला दादुराको खोप नौ महिनादेखि माथि र १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियान सञ्चालन गरिएको हो ।
आर्थिक वर्ष २०७२/७३ र २०७६/७७ मा पनि यो अभियान चलाइएको थियो । २०७६/७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो । यससँगै नेपालमा फैलिएको कोभिड–१९ का कारण खोप कार्यक्रममा कोभिडकै खोप सेवा पर्यो । यस कारण आव २०७९/८० मा दादुराका बिरामी बढ्न थाले । नेपालले सन् २०२६ सम्ममा रुबेला दादुरा निवारण गर्ने प्रतिबद्धता जनाएको छ ।
कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट, हेपाटाइटिस बी,–३ डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पोलियो, र नौ महिना पूरा भएपछि रुबेला दादुराको खोप–१ डोज दिएको हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव