सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय
कृषि

हावाबाट फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?

शुक्रबार, १६ चैत २०८०, ११ : ३८
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । नेपालमा पहिलो पटक फेला परेको कालो सिन्दुरे रोगको प्रजाति ‘यूजी ९९’ को ‘टीटीकेटीटी’ रोगले आगामी सिजनको गहुँ बालीमा नोक्सान हुने अनुमान गरिएको छ । हावाको माध्यमबाट फैलिने भएकाले आगामी सिजनको गहुँ बालीमा सो रोगले नोक्सान पुर्‍याउन सक्ने विज्ञहरूले बताएका छन् ।

गहुँबालीमा कालो सिन्दुरे रोगको प्रजाति ‘यूजी ९९’ को ‘टीटीकेटीटी’ नेपालमा पहिलो पटक फेला परेको छ । दोलखाको दाङढुङ्गे र खरीढुङ्गामा गाईवस्तुको आहाराका लागि हरियो घाँसको रुपमा खेती गरिने गहुँको बोटमा सो रोग फेला परेको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक सुरज वैद्यले यो रोग पहाडी क्षेत्रमा अगौटे जातको गहुँमा देखा परेको बताए । उनले तराई भेगको गहुँ बालीमा यो रोगले असर नपुर्‍याएको पनि जानकारी दिए ।

‘नेपालमा दुई सिजनमा गहुँ खेती हुन्छ, पहाडी क्षेत्रमा जेठ–असरमा र तराई क्षेत्रमा कार्तिक–मङ्सिरमा हो,’ उनले भने, ‘हाल टीटीकेटीटी रोग समर सिजनमा उत्पादन हुने गहुँ बालीमा पहाडी क्षेत्रमा फेला परेको छ ।’

वैद्यले यो वर्षको उत्पादित गहुँमा समस्या नदेखिए पनि आगामी वर्षमा यो रोग समस्या पर्ने उल्लेख गरे । ‘यो वर्ष खासै समस्या देखिँदैन तर आगामी वर्षमा सो क्षेत्रमा उत्पादन हुने गहुँमा रोगको जाँच गर्नुपर्छ ।’

टीटीकेटीटी प्रजातिको रोगले अन्य क्षेत्र लगायत छिमेकी राष्ट्रमा समेत फैलिएर गहुँ बालीमा ठुलो नोक्सानी हुन सक्ने सम्भावना रहेको उनले उल्लेख गरे ।

के हो टीटीकेटीटी रोग ?

गहुँमा लाग्ने मुख्य रोगमध्ये सिन्दुरे रोग प्रमुख हो । यो रोगमध्ये कालो सिन्दुरे रोगको ‘यूजी ९९’ को प्रजाति ‘टीटीकेटीटी’ पनि एक हो । कालो सिन्दुरे रोगको युजी ९९ को १५ प्रजाति छन् । सो मध्ये ‘टीटीकेटीटी’ नेपालमा फेला परेको वैज्ञानिक वैद्यले बताए  । यो रोग पकंसिनिया ग्रामिनी ट्रीटिसी नामका ढुसी (जीवाणु) बाट लाग्दछ । जुन हावाबाट फैलिन सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको वैद्यले सुनाए । जसका कारण यस रोगको जीवाणु हावाको माध्यमबाट केन्या तथा अन्य अफ्रिकी मुलुकका देशहरूबाट नेपालमा फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान लगाउन सकिने उल्लेख गरे ।

गंहुको पातमा कालो सिन्दुरे लागेको (2)

सिन्दुरे रोग पहेंलो सिन्दुरे, खैरो सिन्दुरे र कालो सिन्दुरे तीन प्रकारको रहेको वैज्ञानिक वैद्यले बताए । तराईमा खैरो, पहाडमा पहेँलो सिन्दुरेको प्रकोप बढी भएको उनले उल्लेख गरे । कालो सिन्दुरे पहाडमा फाट्टफुट्ट केही स्थानमा देखा पर्ने उनको भनाइ छ ।

नेपालमा कसरी फेला पर्‍यो यो रोग ?

वैज्ञानिक वैद्यका अनुसार गत कार्तिक २२ मा दोलखाको दाङढुङ्गे र खरीढुङ्गाका क्षेत्रहरूमा गाईवस्तुको आहाराका लागि हरियो घाँसको रुपमा खेती गरिने गहुँको बोटबाट सर्वेक्षणका क्रममा लिइएको नमुना परीक्षण गर्दा रोगको यो प्रजाति भेटिएको छ । सो स्थानमा दुई वटा गहुँ बारीबाट सङ्कलित नमुनालाई ग्लोवल रष्ट रिर्सट सेन्टर, डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा टीटीकेटीटी नामक यूजी–९९ को प्रजाति प्रमाणित भएको छ ।

यो रोग पकसिनिया ग्रामिनी ट्रीटिसी नामका ढुसी (जीवाणु) बाट लाग्दछ, जुन हावाबाट कयौँ  किलोमिटरसम्म पनि फैलिन सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको वैद्यले सुनाए । जसका कारणले यस रोगको जीवाणु हावाको माध्यमबाट केन्या तथा अन्य अफ्रिकी मुलुकका देशहरूबाट नेपालमा फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान लगाउन सकिने वैद्यले उल्लेख गरे ।

नोक्सानीको कति ?

गहुँ बालीका लागि यो रोग अत्यन्तै खतरनाक रहेको गहुँ बाली प्रजनक खेमराज पन्तले बताए । ‘हावाको माध्यमबाट यो रोग फैलिने भएकाले टीटीकेटीटी रोग गहुँ बालीका लागि अत्यन्तै खतरनाक छ,’ उनले भने, ‘यो रोगले गहुँ बाली उत्पादनमा ह्रास निम्त्याउन सक्छ ।’

टीटीकेटीटी प्रजातिको रोगले अफ्रिकाका देशहरूमा करिव ८० प्रतिशतभन्दा बढी गहुँ बालीमा नोक्सानी पुर्‍याएको तथ्याङ्कले देखाएको वैज्ञानिक वैद्यले बताए । ‘आजभन्दा करिव २३ वर्ष अगाडि अफ्रिका महादेशको युगान्डा देशमा युजी ९९ नामक कालो सिन्दुरेको विनाशकारी प्रजाति उत्पत्ति भइ गहुँ बालीमा ठुलो नोक्सानी गरेको थियो,’ वैज्ञानिक वैद्यले भने, ‘सो प्रजाति अफ्रिकाका अन्य राष्ट्रहरू जस्तै ईथियोपिया, केन्या, सुडान, इरिट्रिया, इजिप्ट हुँदै एशिया महादेशको राष्ट्रहरू इरान, यमन, ओमन, इराक, जोर्डन आदि देशमा फैलिएको देखिन्छ ।’

गंहुको पातमा कालो सिन्दुरे लागेको (1)

फैलिन नदिन के गर्ने ?

टीटीकेटीटी प्रजाति रोगले नेपालकै अन्य क्षेत्र लगायत छिमेकी राष्ट्रमा समेत फैलिएर गहुँ बालीमा ठुलो नोक्सानी हुन सक्ने सम्भावना रहेको वैज्ञानिकको दाबी छ । सो रोग फैलिन नदिन समयमै रोकथामका लागि सजगता अपनाउनु पर्ने विज्ञ बताउँछन् ।

यो रोगको जीवाणु हावाबाट फैलिन सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको वैज्ञानिक वैद्यले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट केही रोग अवरोधक गहुँको जात सिफारिस भइ किसानले खेती गर्दै आएका छन् । वैद्यका अनुसार हालसम्म सिफारिस जातहरूमध्ये विजय, जिक गहुँ १, जिङ गहुँ २, वोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति आदि जातहरू यस रोगको प्रजाति अवरोधक छन् ।

‘किसानले गहुँको बिउ छनौट गर्दा रोग अवरोधक गहुँको जातहरू मात्रै लगाउन पर्‍यो,’ उनले भने । सिफारिस जातबाहेक अन्य उन्मोचनका लागि पाइपलाइनमा रहेका जातहरू द्रुत गतिमा परीक्षण गरी समयमै थप अवरोधक जातहरू सिफारिस गरी यस रोग नियन्त्रण गर्न अत्यावश्यक देखिएको वैद्यले उल्लेख गरे । यो रोगबारे थप अध्ययन र अनुसन्धान गर्नुपर्ने वैद्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप