शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चैत्र २९ गतेबाट चौथो संस्करणको सफा हिमाल अभियान

१० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य
आइतबार, २५ चैत २०८०, १६ : ३५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान सुरु गर्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी सुरु हुने बताए । उनले अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताए । 

उनका अनुसार सङ्कलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । उनले यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको बताए। 

उनले भने, ‘यो वातावरण प्रदूषण हाल विश्वव्यापी रूपमा जल्दो बल्दो समस्या रहेको कुरा तपाई हामी सबैलाई सर्वविदितै छ । हिमाली क्षेत्र जुन वातावरणीय तथा पर्यावरणीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको छ । त्यहाँ जम्मा भएका मानव सिर्जित फोहोरहरूले वातावरणमा प्रतिकुल असर गर्दै थप समस्या सिर्जना गरेको वास्तविकता समेत हाम्रो अगाडि रहेको छ । नेपालका हिमाली क्षेत्रले पर्यापर्यटन एवं पर्वतारोहण व्यवसायको निकै नै ठुलो सम्भाव्यता बोकेका छन् । त्यसर्थ यी क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको छ । वातावरण र विकासबिच सामञ्जस्ययता कायम गर्न वास्तविकता हामीले मनन गर्दै सफाइ अभियान सञ्चालन गर्नु भन्दा अनावश्यक फोहोर नै हुन नदिने किसिमको संस्कारको विकास गर्नेतर्फ सम्बन्धित समाजको प्रयास हुनु जरुरी छ । हिमाल सफाइ कार्य कठिन भौगोलिक अवस्था, प्रतिकुल मौसममा गरिने चुनौतीपूर्ण कार्य रहेको सबैलाई अवगत नै छ । यस कार्यमा हामीले वन तथा वातावरण मन्त्रालय, हिमाल रेक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, आरोहण तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था एवं हिमाल सफाइ जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुचि राख्ने विभिन्न गैरसरकारी संस्थाहरूसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएका छौँ । सन् २०१९ बाट सुरु भएको सफाइ हिमाल अभियानको चौथो संस्करण अन्तर्गत सफा हिमाल अभियान २०२४ सञ्चालन हुन लागेको हो । यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । यस अभियानको औपचारिक सुरुवात २०८० चैत्र २९ गते टोली प्रमुखलाई ब्यानर सामान प्रधानसेनापतिज्यूबाट हस्तान्तरण गरी सुरु भई २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिनमा सङ्कलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ ।’

उनले वन तथा वातावरण मन्त्रालय, हिमाल रेक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, आरोहण तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था एवं हिमाल सफाइ जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुचि राख्ने विभिन्न गैरसरकारी संस्थाहरूसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप