शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

यो सिजनको एक मात्र ‘एल–क्लासिको’ भिडन्त

आइतबार, ०२ वैशाख २०८१, १४ : ०६
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

मुम्बई र चेन्नईबचको खेल वानखेड स्टेडियममा खेलिने छ । यो मुम्बई इन्डियन्सको घरेलु मैदान हो । दोस्रो खेल राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई र चेन्नईबिचको खेल जारी सिजनको आईपीएलमा खेल्न लागिएको २९ औँ खेल हो ।

जारी सिजनको आईपीएलमा चेन्नई र मुम्बई दुवै टोलीले यसअघि पाँच–पाँच खेल खेलिसकेका छन् । चेन्नईले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित हात पारेको छ । बाँकी दुई खेलमा भने चेन्नई पराजित भएको छ । चेन्नई ६ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ ।

चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले र दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो । चेन्नई आफ्नो तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको थियो ।

चौथो खेलमा चेन्नईलाई सनराइजर्स हैदराबादले ६ विकेटले हराएको थियो । पाँचौँ खेलमा भने चेन्नईले कोलकाता नाइट राइडर्सलाई सात विकेटले हराएको थियो । मुम्बईले भने यसअघि खेलिएको पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

मुम्बई चार अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ । मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईलाई सनराइजर्स हैदराबादले ३१ रनले हराएको थियो ।

यसैगरी तेस्रो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन हारपछि मुम्बईले चौथो र पाँचौँ खेलमा भने जित हात पारेको थियो । मुम्बईले चौथो खेलमा दिल्लीलाई २९ रनले र पाँचौँ खेलमा बैगलुरुलाई सात विकेटले हराएको थियो ।

००

मुम्बई र चेन्नईबिच एक मात्र खेल

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यसअघि आईपीएलको १६ वटा संस्करण सम्पन्न भइसकेको छ । त्यसमध्ये १० वटा उपाधि त यी दुई क्लबले नै जितेका छन् ।

हालसम्म मुम्बईले पाँच र चेन्नईले पाँच पटक आईपीएलको उपाधि चुमेका छन् । बाँकी ६ उपाधिमात्र अन्य क्लबले बाँडेका छन् । त्यसैले आईपीएलमा मुम्बई र चेन्नईबिचको खेललाई ‘एल–क्लासिको’ का रूपमा पनि हेरिन्छ ।

खासगरी फुटबलमा ‘एल–क्लासिको’ शब्दको प्रयोग गरिन्छ । त्यसमा पनि स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडबिचको खेलमा यो शब्दको बढी प्रयोग हुने गरेको छ । यी दुवै क्लबबिच लामो समयदेखि चल्दै आएको प्रतिद्वन्द्वीतालाई जनाउन यो शब्दको प्रयोग गरिएको हो ।

जारी सिजनको आईपीएलमा मुम्बई र चेन्नईबिच एक खेल मात्र हुनेछ । आईपीएलमा मुम्बई र चेन्नईबिचको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने गरेको छ । त्यसैले आईपीएलमा यी दुई टोलीबिचको खेलले धेरै समर्थकको ध्यान तान्ने गरेको पाइन्छ ।

००

हेड टु हेडमा मुम्बई अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच कुल ३६ खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा मुम्बईले चेन्नईलाई हराएको छ । बाँकी १६ खेलमा भने चेन्नईले मुम्बईलाई पराजित गरेको छ ।

अर्थात, आईपीएलमा चेन्नईविरुद्धको खेलमा मुम्बईले ५५ प्रतिशत जितेको नतिजा निकालेको छ । मुम्बईस्थित वानखेड स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल ११ खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा मुम्बई र चार खेलमा चेन्नईले सफलता हात पारेका छन् ।

००

मुम्बई र चेन्नईबिचको प्रतिद्वन्द्विता

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिचको प्रतिद्वन्द्वीता निकै लामो छ । आईपीएलको फाइनलमा समेत यी दुई क्लबबिच हालसम्म चारपटक भिडन्त भइसकेको छ । त्यसमध्ये तीनपटकको फाइनलमा मुम्बई र एक पटकको फाइनलमा चेन्नईले जित हात पारेको छ ।

यसपटक यी दुवै टोली नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लिएका छन् । चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको स्थानमा ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । मुम्बईले पनि आफ्ना सर्वाधिक सफल कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई उक्त जिम्मेबारी दिएको छ ।

००

मुम्बईको सर्वाधिक रन ईशान किशनको नाममा

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ईशान किशन हुन् । उनले यसअघि खेलिएको पाँच खेलमा कुल एक सय ६१ रन बनाइसकेका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । उनले १० विकेट लिइसकेका छन् ।

००

मुस्तफिजुर रहमान चेन्नईका सफल बलर

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले यसअघि खेलिएको पाँच खेलको चार पालीमा नौ विकेट लिइसकेका छन् । चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने शिवम दुबे हुन् ।

आइतबार खेलिने मुम्बईविरुद्धको खेलमा चेन्नईको टोलीमा केही परिवर्तन हुन सक्ने सम्भावना पनि देखिएको छ । दुई प्रभावशाली खेलाडी पुनः खेलमा फर्कने सम्भावना छ । चेन्नईका दीपक चाहर र मथिशा पाथिराना मैदानमा ओर्लन सक्छन् ।

००

ब्याट्सम्यानलाई मायाँ गर्ने पिच

मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच आइतबारको खेल हुने वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रूपमा बढी रन बन्ने गरेको पाइन्छ ।

यो स्टेडियमको पिचले केही हदसम्म तीव्र गतिका बलरलाई पनि साथ दिन सक्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १२ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ६१ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

००

छैन वर्षाको सम्भावना

चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच खेल हुने दिन आइतबार मुम्बईको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुम्बईमा वर्षाको कुनै सम्भावना छैन । आइतबार मुम्बईको तापक्रम २७ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

००

सम्भावित टोली

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, श्रेयस गोपाल, जेराल्ड कोट्जी र जसप्रित बुमराह। इम्प्याक्ट प्लेयर : आकाश मधवाल ।

 

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाणे, ड्यारल मिचेल, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), दीपक चाहर, मुस्तफिजुर रहमान, तुषार देशपाण्डे र मथिशा पाथिराना । इम्प्याक्ट प्लेयर : शिवम दुबे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप