सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
नेकपा बैठक

प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन

‘सरकारको तरिका ठिक छैन,यही अवस्था रहिरहे अर्को विद्रोह हुनसक्छ’
सोमबार, १५ असार २०८३, २० : २६
सोमबार, १५ असार २०८३

सारांश

  • पूर्व प्रधानमन्त्री प्रचण्डले तत्काल वाम एकता नहुने र अहिले भइरहेको संवाद सहकार्यका लागि मात्र भएको स्पष्ट पारेका छन्।
  • प्रचण्डले पार्टी सुदृढीकरणका लागि सदस्यता नवीकरण, नयाँ वितरण र वडा तहसम्म अभियान सञ्चालनलाई प्राथमिकता दिइने बताएका छन्।
  • उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै यही अवस्था रहे जनअसन्तुष्टि बढ्दै नयाँ आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकता नहुने स्पष्ट पारेका छन्। 

सोमबार बसेको पार्टीको भर्चुअल बैठकमा उनले अहिले भइरहेको संवाद वाम एकताका लागि नभई सहकार्यका लागि मात्र भएको बताएका हुन्।

बैठकमा प्रचण्डले एमालेसहित विभिन्न वामपन्थी दलसँग भइरहेको संवादलाई पनि सहकार्यको पहलका रूपमा व्याख्या गर्दै महाधिवेशनअघि एकताको सम्भावना नरहेको स्पष्ट पारेका हुन् । 

पार्टीभित्रको सङ्गठन सुदृढ बनाउन सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र वडा तहसम्म अभियान सञ्चालनलाई प्राथमिकता दिइने प्रचण्डको भनाइ उद्धृत गर्दै नेता सरल सहयात्री पौडेलले रातोपाटीलाई बताए। 

‘मैले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै भनेको छैन । महाधिवेशन अगाडि एकता सम्भव पनि छैन । हुँदा पनि हुँदैन । पहिला आफ्नो पार्टी बलियो बनाउनुपर्छ । सोही अनुसार सदस्यता नवीकरण,वितरण गर्ने र पार्टीलाई थप सुदृढीकरण गर्नको लागि वडा तहसम्म अभियान सञ्चालन गर्नेछौँ । त्यसकारण अहिलेको आवश्यकता वामपन्थी,समाजवादी मोर्चा,देशभक्तहरूसँग सहकार्यको आवश्यकता छ । यसै विषयमा मैले एमाले,वामपन्थी लगायत दलहरूसँग सहकार्यको लागि संवाद गरेको हुँ । एकताका लागि हैन,’ प्रचण्डको भनाइ उद्धृत नेता पौडेलले रातोपाटीसँग भने।

यसैबिच प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सरकार गठन भएको तीन महिनाको समीक्षा गर्दै उनले मजदुर, किसान, सुकुमबासी तथा श्रमजीवी वर्गमाथि सरकारको व्यवहारप्रति आपत्ति जनाए । यही अवस्था कायम रहे जनअसन्तुष्टि बढ्दै नयाँ आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि उनले दिएका छन्।

‘तीन महिनासम्म सरकारको गतिविधि हेर्दा ठिक तरिकाले अगाडि बढेको देखिँदैन । मजदुर किसान,सुकुमबासी लगायत श्रमजीवी वर्गमाथि जुन किसिमको धरपकड गरिएको छ । यही अवस्था रहिरहे अर्को विद्रोह हुनसक्छ,’ बैठकमा प्रचण्डले ब्रिफिङ गरे। 

बैठकमा भदौभित्र सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी गराइएको थियो। 

साथै आगामी महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, विधान मस्यौदाबारे छलफल भएपनि त्यसलाई कुन प्रक्रियामार्फत अन्तिम रूप दिने भन्ने विषयमा भने अझै निष्कर्षमा पुग्न बाँकी रहेको नेता पाैडेलले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप