मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जग्गा खरिद गर्न काठमाडौँ आएका धनबहादुर ‘प्रहरी हौँ’ भन्दै आएकाहरूबाट लुटिए

साथीसहित ४ जना पक्राउ
मङ्गलबार, १६ असार २०८३, ११ : ३०
मङ्गलबार, १६ असार २०८३

सारांश

  • काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका धनबहादुर मोक्तानलाई प्रहरीको हतकडी लगाई १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
  • गत असार ९ गते ५/६ जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिई पैसा, मोबाइल र बैंकका चेकहरू लुटेको थियो।
  • प्रहरीले लुटिएको रकममध्ये २ लाख रुपैयाँ बरामद गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा चारै जनामाथि अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका एक व्यक्तिलाई ‘प्रहरी हौँ’ भन्दै डर त्रास देखाई हतकडी लगाएर साढे दश लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चार जनालाई पक्राउ गरेको छ। 

सर्लाहीको लालबन्दी नगरपालिका ८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने सिलसिलामा काठमाडौँ आएर आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको कोठामा बसेका थिए। गत असार ९ गते बेलुका अन्दाजी ७ बजेको समयमा ५/६ जनाको समूहमा आएका मानिसहरूले धन बहादुरलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ, मोबाइल र सिद्धार्थ बैंकको खाली चेकहरू लुटेर फरार भएका थिए।

लुटपाटमा संलग्न फरार मानिसहरूको खोजी गर्ने क्रममा प्रहरीले असार १४ गते काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल धापासी बस्ने ४३ वर्षीय राम शरण दमाई, काठमाडौँ टोखा नगरपालिका १ का ३८ वर्षीय सविन खवास, पर्सा ठोरी गाउँपालिका ४ घर भई हाल गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले रहेका छन्। 

यसैगरी, पीडित धनबहादुरका चिनजानका साथी तथा काठमाडौँ महानगरपालिका १६ वनस्थलीमा डेरा गरी बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका ५ का ४६ वर्षीय शेरबहादुर मोक्तान पनि लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये नेपाली एक हजार दरका नोट गरी जम्मा २ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप