सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’

सोमबार, १५ असार २०८३, १८ : ३४
सोमबार, १५ असार २०८३

धनुषा । जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै धानमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा धनुषामा साेमबार आयोजित कार्यक्रमका वक्ताहरूले देशलाई धानमा आत्मनिर्भर बनाउनका लागि समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक डा. मथुरा यादवले जलवायु परिवर्तनका कारण धान खेतीमा देखिएका चुनौती सामना गर्न आधुनिक तथा जलवायुमैत्री प्रविधिको प्रयोग अपरिहार्य भएको बताए। उनले उन्नत जात, गुणस्तरीय बीउ, सिँचाइ व्यवस्थापन र वैज्ञानिक खेती प्रणाली अपनाए उत्पादन वृद्धि गर्न सकिने धारणा राखे।

पूर्वधान संयोजक निरञ्जनप्रसाद अधिकारीले कृषि अनुसन्धानबाट विकसित प्रविधि किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउन सके धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने बताए। उनले अनुसन्धान र किसानबिचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले धान उत्पादन वृद्धि गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे। उनले सरकारी निकाय, अनुसन्धान संस्था र किसानबीचको सहकार्यबाट खाद्य सुरक्षालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रूपेश खड्काले कृषि उत्पादन वृद्धि र ग्रामीण समृद्धिका लागि सबै निकायको सहकार्य आवश्यक रहेको बताए। सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेश शर्माले कृषिको विकासले समग्र समाजको आर्थिक उन्नतिमा टेवा पुग्ने उल्लेख गर्दै किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, कृषि वैज्ञानिक, सुरक्षाकर्मी, जनप्रतिनिधि, कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो। समारोहपछि अतिथिहरूले धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप