शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

अध्यक्षले राजनीतिक र महासचिवले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने
शनिबार, ०८ वैशाख २०८१, ०६ : ०४
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताए । आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने एमालेको विश्वास छ ।

‘मुलुकको आवश्यकता र राजनीतिक स्थायित्वका साथै जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने हाम्रो विश्वास छ’, महासचिव पोखरेलको भनाइ छ ।

  • ६ वटा प्रतिवेदनमाथि छलफल

एमालेका अनुसार परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् ।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्नेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ । यो बाहेक यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समेत हिसाबकिताब बैठकमा हुनेछ । दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

  • प्रविधिमा जोड

एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ । जसअन्तर्गत बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

बैठकमा सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइने छ । बैठकमा हुने आन्तरिक छलफलमा डिजिटल प्रविधिको उपयोगमार्फत पारदर्शी, अन्तरक्रियात्मक र पेस हुने प्रतिवेदनहरू देशभरका संगठित सदस्यहरूले हेर्न पाउने र उनीहरूको  समेत मत लिएर निर्णय गर्ने व्यवस्था गरेको एमालेले जनाएको छ । तर त्यसका लागि एमालेको एप्स डाउनलोड गरेको हुनुपर्नेछ ।

‘कार्यकर्तालाई आफ्नै मोबाइल एप्सबाट परिषद्का सबै (६ वटा) दस्ताबेज जानकारी गराउँछौँ र पढाउँछौँ  । परिषद् बैठकका सम्पूर्ण सूचना पनि त्यहीँबाट प्राप्त गर्न सकिनेछ’, महासचिव पोखरेलले भने, ‘व्यक्तिहरूको अभिलेखीकरण र परिचयपत्र एप्सबाटै दिइनेछ । एप्सबाटै ओपिनियन पोल गरेर कार्यकर्ताको भावना समेट्दै सम्बोधनका लागि निष्कर्षमा पुग्छौँ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिषद् बैठकले मुख्यगरी दुईवटा काम गर्ने बताए । गौतमका अनुसार पार्टी महाधिवेशन र विधान महाधिवेशनयताका समग्र कामको समीक्षा गर्ने छ ।त्यस्तै कुनै कमीकमजोरी भएको भए त्यसलाई सुधारको बाटोमा लैजाने दोस्रो महत्त्वपूर्ण काम परिषद् बैठकले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप