शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी

शनिबार, ०८ वैशाख २०८१, ०६ : ४४
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको हो । पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि तालाबन्दी गरेका छन् । दुवै क्याम्पसको ताला अहिलेसम्म पनि खुल्न सकेको छैन ।

क्याम्पसहरूमा लगाइएको तालाबन्दी नखुल्दा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फारम भर्नबाट वञ्चित भएका छन् । वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ । तर, लामो समयदेखिको तालाबन्दीका कारण विद्यार्थीहरूले परीक्षा फारम भर्न पाएका छैनन् । जसले गर्दा उनीहरू परीक्षा दिनबाट वञ्चित हुन देखिएको छ ।

नेविसंघ पाटन संयुक्त क्याम्पसका सभापति तारा शर्माले विभिन्न माग राखेर ३२ दिनदेखि तालाबन्दी गरिएको बताए । शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, क्यान्टिनको व्यवस्था गर्नुपर्ने, बीएससी सीएसआईटीका लागि कम्प्युटरको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट तालाबन्दी गरिएको शर्माले बताए ।

patan campus

तालाबन्दी खोल्ने विषयमा क्याम्पस प्रमुखसँग छलफल भएर खोल्ने टुङ्गो समेत लागिसकेको अवस्थामा क्याम्पस प्रमुखकै कारण अन्तिममा आएर रोकिएको बताए । ‘हिजो छलफल भएको थियो । छलफलमा तालाबन्दी खोल्ने कुरा भएको थियो । सहमति गर्ने र १२ बजेभित्र तालाबन्दी खोल्ने भन्ने एक खालको सहमति भएको थियो । तर, पछि गएर क्याम्पस प्रमुखका कारण एकाएक रोकियो,’ शर्माले भने ।  

पाटन संयुक्त क्याम्पस अनेरास्ववियु अध्यक्ष तथा स्ववियु कोषाध्यक्ष तिलक बहादुर कुमालले उनीहरूले उठान गरेका मागहरू प्रकृयामा गइसकेको तर, तालाबन्दी नखुलेको बताए । तालाबन्दीका कारण विद्यार्थीहरूले परीक्षा फारम भर्न नपाएको र परीक्षा दिनबाट नै वञ्चित हुने अवस्था देखिएको बताए ।

लामो समयदेखि तालाबन्दी नखुलेपछि क्याम्पस प्राध्यापक सङ्घले १० गतेदेखि पेन डाउन गर्ने घोषणा गरेको छ । त्यस्तै अनेरास्ववियु, अखिल (समाजवादी) अखिल क्रान्तिकारी र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्त जारी गर्दै तालाबन्दी खोल्न माग गरेका छन् ।

यता अस्कल क्याम्पसमा तालाबन्दी हुनुको कारण दुई संगठनबीचको विवाद देखिन्छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच झगडा भएपछि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको देखिन्छ । अनेरास्ववियुले तालाबन्दी रहित विश्वविद्यालय बनाउने प्रतिबद्धता विरुद्धमा गएर तालाबन्दी गरिएको हो । अनेरास्ववियु अस्कल क्याम्पस कमिटी अध्यक्ष पंकज पाण्डेले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखले विद्यार्थीलाई भर्ना हुनबाट रोक लगाएको कारण तालाबन्दी गर्नुपरेको जनाए ।

amrit campus talabandi

क्याम्पस प्रमुखले विद्यार्थीलाई भर्ना हुनबाट रोक लगाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियु केन्द्रीय सदस्य तथा स्ववियु सचिव रुद्रहरि पोखरेलले बताए ।क्याम्पस प्रमुखले त्रिविको नियम अनुसार विद्यार्थी भर्ना गर्न नमानेपछि तालाबन्दी गर्नु परेको बताउँदै पोखरेलले भने -'तालाबन्दी खोल्नको लागि हामीले क्याम्पस प्रमुखलाई पटक पटक आग्रह गरेका छौँ । क्याम्पस प्रमुख बेवास्ता गर्दै सम्पर्कमा आउनुभएको छैन । '

अनेरास्वियुको केन्द्रीय उपाध्यक्ष नारायण घर्तीले तालाबन्दीको विषयमा केन्द्रमा रिर्पोटिङ नभएको र तालाबन्दी गरेको पाइए खोल्न लगाइने बताए ।

‘केन्द्रको जानकारीमा तालाबन्दीको विषय रिर्पोटिङ भएको छैन । तालाबन्दीरहित विश्वविद्यालय हाम्रो नीति हो । विद्यार्थीका सवालमा क्याम्पसमा नमानेको खण्डमा बाध्यकारी अवस्थामा तालाबन्दी गरिएको होला । तरपनि हामी बुझेर तालाबन्दी खुलाउँछौँ,’ उपाध्यक्ष घर्तीले भने ।

परीक्षा नजिकिँदै गर्दा क्याम्पसहरूमा तालाबन्दी हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । परीक्षा दिन फारम भरेका विद्यार्थीहरूको परीक्षा फारम परीक्षा नियन्त्रण कार्यालयमा पठाउन नसकिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख डाक्टर लोक बहादुर बरालले चैत ३० गतेदेखि लागेको तालाबन्दीका कारण दैनिक प्रशासनिक र शैक्षिक गतिविधि प्रभावित भइरहेको जनाएको छ ।

प्रशासन शाखा, आर्थिक शाखा, परीक्षा शाखा र सहायक प्रमुखको कार्यकक्षमा अनेरास्ववियुले तालाबन्दी गरेको हो । त्यसअघि विना विज्ञप्ति जारी गरेर चैत २५ गतेदेखि क्याम्पस प्रशासन र आर्थिक शाखामा अनेरास्ववियुले तालाबन्दी गरेको क्याम्पस प्रमुख बरालले बताए ।

क्याम्पसका हरेक समस्याहरूको समाधान वार्ताको माध्यमबाट पुरा गर्न सकिने र वार्ता नै उत्तम विकल्प रहकोले जिम्मेवार भई विद्यार्थीका जायज समस्याहरू मात्र लिएर वार्तामा आउन क्याम्पस प्रमुख बरालले अनुरोध गरे । 

amrit campus chief

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप